टी-२० विश्वकपमा अर्को एक स्तब्ध नतिजा

न्युजिल्यान्ड ७५ रनमै खुम्चियो



एजेन्सी । 

अमेरिका र वेस्ट इन्डिजमा जारी टी २० विश्वकपमा अर्को एक स्तब्ध नतिजा निस्केको छ। शनिबार अफगानिस्तानले न्युजिल्यान्डलाई ८४ रनले पराजित गर्दै स्तब्ध नतिजा निकालेको हो । यसअघि सहआयोजक राष्ट्र अमेरिकाले पाकिस्तानलाई स्तब्ध तुल्याएर सबैलाई चकित बनाएको थियो ।

गुयानामा भएको खेलमा पहिले ब्याटिङ गरेको अफगानिस्तानले ६ विकेटको क्षतिमा १ सय ५९ रन बनाएको थियो। जसमा, रहमनुल्लाह गुर्बाजले ५६ बलमा ८० रन जोडे भने अर्का ओपनर इब्राहिम जदरानले ४४ रनको योगदान दिएका थिए।

जवाफमा २०२१ को उपविजेता न्युजिल्यान्ड मात्र १५.२ ओभरमा अलआउट हुँदै ७५ रनमै खुम्चियो। योसँगैं न्युजिल्यान्डको टी २० अन्तर्राष्ट्रियमा अफगानिस्तानसँग पहिलो हार बन्यो । ४ विकेट लिएका अफगानिस्तानका कप्तान राशिद खानले बताए—यो हाम्रो लागि टी २० मा न्युजिल्यान्ड जस्तो ठूला टोलीविरुद्ध सबैभन्दा राम्रो प्रदर्शन हो ।

यस्तै, फजलहक फारूकीले पनि ४ विकेट नै लिए। उनले यसअघि युगान्डाविरुद्धको खेलमा पनि ४ विकेट नै लिएका थिए। फारूकी र राशिदको घातक बलिङमा न्युजिल्यान्डका दुई खेलाडीले मात्रै दोहोरो अंकमा रन बनाउनसके। ग्लेन फिलिप्सले १८ रन र म्याट हेनरीले १२ रन जोडेका थिए। पहिलो खेलमा युगान्डाविरुद्ध १ सय २५ रनको जित हासिल गरेको अफगानिस्तान समूह सी ४ अंकसहित शीर्ष स्थानमा रहेको छ।

बंगलादेशले पनि जित्यो

समूह डी अन्तर्गत खेलमा बंगलादेशले श्रीलंकालाई २ विकेटले पराजित गर्‍यो। बंगलादेशको टी २० विश्वकपमा श्रीलंकामाथि यो पहिलो जित पनि हो। न्युनतम रन बनेको यस खेलमा श्रीलंका १ सय २४ रनमा समेटिएको थियो। १ सय २५ रनको सहज लक्ष्य लिन बंगलादेशले ८ विकेट गुमाउनुपरेको थियो। डल्लासमा भएको यस खेलमा श्रीलंकाका लागि पदम निसान्काले ४७ रनको योगदान दिएका थिए ।

जवाफी ब्याटिङमा बंगलादेश २८ रनका लागि तीन विकेट गुमिसकेको अवस्थामा पुगिसकेको थियो। तर, तोहिद हृदयले २० बलमै ४० रन र लिटन दासले ३६ रन जोडेर जिततिर अग्रसर गराएका थिए।

यो दोस्रो हारले श्रीलंकाको लागि सुपर एटमा पुग्ने संभावना कठिन भएको छ। समूह डीअन्तर्गत बुधबार हुने खेलमा नेपाल र श्रीलंका तथा न्युजिल्यान्ड र बंगलादेश बीच प्रतिस्पर्धा हुनेछ।

प्रतिक्रिया दिनुहोस्