टी-२० विश्वकप: इङल्याण्डमाथि अस्ट्रेलियाको शानदार जित

3.67k
Shares

काठमाडौं ।

आईसीसी टी-२० विश्वकपमा इङल्याण्डमाथि अस्ट्रेलियाले शानदार जित हासिल गरेको छ। गए राति सम्पन्न समूह बि अन्तर्गतको खेलमा अस्ट्रेलियाले इङल्याण्डलाई ३६ रनले पराजित गरेको हो।

अस्ट्रेलियाले दिएको २०२ रनको लक्ष्य पछ्याएको इङल्याण्डले २० ओभरमा ७ विकेट गुमाउँदै १६५ रन मात्र बनाएको थियो। इङल्याण्डका लागि कप्तान जोस बटलरले सर्वाधिक ४२ रन बनाए भने फिल साल्टले ३७, मोइन अलीले २५ र ह्यारी ब्रूकले २० रन बनाएका थिए।  त्यस्तै अस्ट्रेलियाका बलर एडम जाम्पा र पाट कमिन्सले २-२ विकेट लिएका थिए भने जोस हजेलवूड र मार्कस स्टोइनिसले एक एक विकेट लिएका थिए।

यस अघि टस हारेर पहिला ब्याटिङ गरेको अस्ट्रेलियाले २० ओभरमा ७ विकेट गुमाउँदै २०१ रन बनाएको थियो।  अस्ट्रेलियाका लागि डेभिड वार्नरले सर्वाधिक ३९ रन बनाएका थिए भने कप्तान मिचेल मार्शले ३५, ट्राभिस हेडले ३४, मार्कस स्टोइनिसले ३०, ग्लेन म्याक्सवेलले २८ रन बनाएका थिए ।

यो जितपछि अस्ट्रेलियाले लगातार दोस्रो जित हासिल गर्दै समूह बि मा ४ अङ्कसहित शीर्ष स्थानमा रहेको छ। त्यस्तै इङल्याण्डको भने २ खेलमा एक अङ्क रहेको छ।