हाँडीगाउँमा हरेक शुक्रबार ‘कार फ्री डे’



काठमाडौँ ।

 सहरी वातावरण सुधारका लागि सवारी साधनबाट उत्सर्जन हुने प्रदूषक तत्त्वमा कमी ल्याउन झन्डै एक वर्ष देखि प्रत्येक शुक्रवार हाँडीगाउँमा गाडीरहित दिन (कार फ्री डे) मनाइँदै आइएको छ ।

हाँडीगाउँ गुरुयोजनाअन्तर्गत सुधारका क्षेत्रमध्ये वातावरणीय सुधारका लागि दथु टोल कृष्ण मन्दिर, डबली चोक हुँदै कोटालटोल भवरकुँसम्म सडक खण्डमा सवारी प्रवेश निषेध गरिएको छ ।

यस क्षेत्रमा दिउँसो २ बजेदेखि बेलुका ८ बजेसम्म सवारी साधन प्रवेशमा रोक लगाइएको थियो । यस क्षेत्र भएर गुड्ने सवारी साधनलाई धोवीखोला कोरिडोर, गहना पोखरीबाट वडा कार्यालयतर्फको भित्री सडकको प्रयोग गर्ने व्यवस्था मिलाइएको छ ।

यस क्षेत्रको पुनर्स्थापनाको गुरुयोजना बनाइसकेको बताउँदै महानगरले सुधारका लागि मध्यकालीन र दीर्घकालीन योजना पनि बनाएको बताएको छ ।

हाँडीगाउँलाई पूर्व लिच्छवि, बर्मा तथा लिच्छवि कालको संस्कृति र सम्पदाको लागि सर्वाधिक प्राचीन स्थानको रूपमा लिइन्छ । यहाँ भएका सत्यनारायण परिसरमा प्राचीन बस्ती र पूर्व लिच्छवि कालका मन्दिरहरू भएको प्रमाण पाइन्छ । इसा पूर्व दोस्रो शताब्दीका पुरातात्त्विक अवशेष र अन्य सम्पदा भवनहरूको जग यसै क्षेत्रमा मात्र छन् ।

हाँडीगाउँको यो लिच्छविकालीन इतिहासलाई त्यही कालको झल्को दिने खालका अवस्थितिमा रूपान्तरणका कामको थालनी गुरुयोजनाको लक्ष्य हो ।

कार फ्री डे र सडक महोत्सव यसको एउटा कार्यक्रम हो । यो कार्यक्रमलाई निरन्तर चलाउने महानगरको योजना रहेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्