विपद् प्रतिकार्य योजना विनाका मनसुन जोखिम स्थानको पहिचान



धादिङ ।

मनसुन सुरु हुनै लाग्दा सबै स्थानीय सरकारले विपद् प्रतिकार्य योजना बनाएर सोही अनुसारको तयारीमा बस्नु पर्ने हुन्छ तर, धादिङका तीन  पालिका बाहेक कहीपनि विपद् प्रतिकार्य योजना नै नभएको पाइएको छ ।

वर्ष लाग्न लाग्दा वर्षाका कारण हुने विपद् र यसबाट नागरिकलाई जोगाउने योजना विपद् प्रतिकार्य योजनामा हुनु पर्छ तर नीलकण्ठ, खनियाबास, र गल्छी बाहेकका पालिकामा विपद् प्रतिकार्य योजना नै रहेको छैन ।

जोखिमको आँकलन भने गत वर्षको अवस्थालाई हेरेर पहिरो जाने स्थान, बाढीले प्रभावित हुने स्थानहरु पहिचान गरिएको छ । बेनिघाटरोराङ, सिद्धलेक, ज्वालामूखी, त्रिपुरासुन्दरी, गंगाजमुना, रुबीभ्याली, धुनीबेसी, थाक्रे लगायतका पालिकामा विपद् प्रतिकार्य योजना बनेको पाइएको छैन । कुनैपनि पालिकाले विपद् प्रतिकार्य योजना आफ्नो वेभसाइटमा राखेको पनि छैन ।

नीलकण्ठ नगरपालिकाले विपद् प्रतिकार्य योजना अद्यावधिक गरिरहेको छ । खनियाबास गाउँपालिकाले पनि विपद् प्रतिकार्य योजना बनाएको प्रमुख प्रशासकीय अधिकृत नवराज श्रेष्ठले जिल्ला विपद् व्यवस्थापन समितिको बैठकमा बताएका छन् ।

रुबीभ्याली, खनियाबास, गंगाजमुनाका धेरुे भागहरु पहिरोको उच्च जोखिममा रहेकोले गत वर्षदेखि प्रदेश सरकार र संघीय सरकारले दिने भनेको लागत साझेदारीका योनाहरुमा सहयोग नगरेका कारण पालिकाले विपद् प्रतिकार्य अन्तरगत काम गर्न खोजेका लागत साझेदारीका कार्यक्रम गर्न नपाएको गंगाजमुना गाउँपालिका अध्यक्ष भक्त लामाले बताए ।

गंगाजमुना गाउँपालिकाको वडा नम्बर १ र २ का अधिकांश भूभाग पहिरोको उच्च जोखिममा रहेको क्षेत्रको रुपमा गत वर्षहरुदेखि नै पहिचान भएको क्षेत्र हो ।
ज्वालामूखी गाउँपलिकाले विपदपछि उद्धार गर्नका लागि र सहयोग गर्नका लागि सबै वडामा ५ पाँच जना नागरिकलाई तालिम दिएर जनशक्ति तयार गरेर राखेको छ । विपद् व्यवस्थापन कोषमा रकम समेत राखिएको छ तर विपद् प्रतिकार्य योजना भने अद्यावधिक भएको छैन ।

जिल्ला विपद् व्यवस्थापन समितिको बैठकमा प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेब पाण्डेले संघीय सरकार, प्रदेश सरकारको जिम्मामा रहेका सबै मार्गहरु वर्षको कुनैपनि समयमा बन्द हुने अवस्थामा राख्न नपाइने, सबै किसिमका सरकारी निकायले आफूले गर्नुपर्ने दायित्वबाट पन्छिन नपाइने बताउँदै सबै निकाय र संघसंस्थाहरुलाई तयारी हालतमा रहन निर्देशन गर्दै स्थानीय सरकारलाई जनता जोगाउने योजना हित तयारी गर्न आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्