सगरमाथा विमानस्थललाई छैन बजेट 



उदयपुर ।

उदयपुरको त्रियुगा नगरपालिका १ र २ स्थित कंग तथा मोतियाही सामुदायिक वन क्षेत्रमा निर्माण गरिने सगरमाथा विमानस्थलका लागि जेष्ठ १५ गते अर्थमन्त्रीले संसदमा पेश गरेको बजेट वक्तव्यमा बजेट नछुटाइएकोमा स्थानीयले आक्रोश व्यक्त गरेका छन् ।

उदयपुरको त्रियुगा नगरपालिका वडा नं १ र २ जोगिदहमा निर्माण सुरु गरिएको उक्त विमानस्थलको रुख कटान सम्पन्न भएको छ । १५६ हेक्टर वन क्षेत्रमा निर्माण हुने विमानस्थलको लागि सरकारले प्राप्त बजेट नछुट्याउदा रुख कटान बाहेकका काम अघि बढ्न सकेको छैन । तीन अर्वभन्दा बढि निर्माण लागत लाग्ने विमानस्थलमा यस आर्थिक बर्ष ५ करोड विनियोजन भएकोमा सो खर्च भएको जनाईएको छ । तर आउँदो आर्थिक वर्ष २०८१।०८२ कालागि भने सरकारले सगरमाथा विमानस्थलका लागि बजेट नछुटाएकोले स्थानीय आक्रोशित भएका हुन ।

सगरमाथा विमानस्थल निर्माण समितिका संयोजक वीरेन्द्र बस्नेतका अनुसार आर्थिक वर्ष २०८१। ०८२को बजेट वक्तव्यमा विमानस्थलका लागि बजेट विनियोजन नगरेको र उदयपुर निर्वाचन क्षेत्र नं १ का संघीय साँसद डा. नारायण खड्काले संसदीय विकास तथा पूर्वाधारका लागि प्राप्त बजेटबाट १ करोड दिने भएको र बाँकी गत वर्षको बाँकी रकमबाट तारबार घेरा लाउने, माटो सम्याउने खाल्डा खुल्डी भर्ने, काटिएको रुखको जरा निकाल्ने काम गर्ने बताए ।

त्रियुगा नगरपालिका वडा नं १ र २ मा पर्ने कंग र मातियाही सामुदायिक वनको १३ हजार ६सय ३७ थान रुख कटान गरेर घाटगद्दी भएको छ । सामुदायिक वनले उक्त काठ बिक्री गर्न बाँकी रहेको छ भने अहिले विमानस्थलको काम भएको छैन । विगतमा पूर्व अर्थमन्त्री प्रकाशशरण महतले रु. २ करोड दिने भनिएकोमा त्यो गफ मै सिमीत भएको र तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले नेपालका अन्य विमानस्थल धमाधम बन्द भइरहेको समयमा नयाँ विमानस्थलको भविष्य नरहेको भन्दै ५ करोड दिने भनिए पनि पछि बजेट उपलब्ध गराउन मानेका थिएनन् ।
२ किलोमीटर लम्बाई र ६० मिटर चौडाईको रन्वे बनाउने गरी निर्माण कार्य थालिएको भए पनि निर्वाचनका समयमा मात्र विमानस्थल निर्माणको चर्चा हुने गरेको छ भने अन्य समयमा यसको चर्चा हुँदैन ।

२०३० सालदेखि उदयपुरमा विमानस्थल बनाउने भनेर योजना अघि बढाइएको भए पनि गाईघाटको हवाई फिल्ड साँघुरो हुनुका साथै बस्ती उठाउन नसकिने भएकोले पछि जग्गा खोजी गर्दै जाँदा त्रियुगा नपाको १ र २ नं वडाको वन क्षेत्रमा बनाउने निर्णय भएको थियो । सन २०१८मा त्रियुगा नगरपालिकाका तत्कालीन मेयर बलदेव चैधरीका पालामा स्थानीय सरकारको योजनाका रुपमा तत्कालीन १ नं प्रदेशका पर्यटन वन तथा वातावरण मन्त्री जगदीश कुसियत मार्फत प्रदेश सरकारबाट स्वीकृति प्राप्त गरी संघीय  सरकारमा योजना पेश भएको थियो । तर हालसम्ममा विमानस्थल निर्माणको काम बजेट व्यवस्थापन हुन नसक्दा अलमलमा परेको छ ।

यस विषयमा त्रियुगा नपा १ नं वडाध्यक्ष मनोज कुमार चौधरीले हाल निर्माण कार्य स्थगित रहेका जानकारी दिंदै पहिलेका संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले  ५ करोड दिने कुरा गरेका थिए। तर, उपलब्ध भएन भने आउँदो वर्षको बजेटमा विमानस्थल निर्माण गर्ने योजना बजेटमा नसमेटिएको बताए ।

प्रतिक्रिया दिनुहोस्