उत्तर कोरियासँगको शान्ति सम्झौता रद्द गर्ने दक्षिण कोरियाको घोषणा



एजेन्सी।

दक्षिण कोरियाले सोमबार उत्तर कोरियासँगको मेलमिलाप सम्झौता निलम्बन गर्ने घोषणा गरेको छ ।

उत्तर कोरियाले फोहरले भरिएका बेलुनहरू दक्षिणतिर पठाएपछि उसलाई दण्डित गर्न मेलमिलाप सम्झौता निलम्बन गर्ने योजना बनाएको दक्षिण कोरियाले बताएको हो । यद्यपि उत्तर कोरियाले आफ्नो बेलुन अभियान रोक्ने बताएको छ ।

उत्तर कोरियाले दक्षिण कोरियाली नागरिक अभियानविरुद्ध आक्रोशित प्रतिक्रिया व्यक्त गर्दै धेरै दिनसम्म दक्षिणतिर फोहर र मलले भरिएका सयौँ बेलुन उडाएको थियो।

आइतबार दक्षिण कोरियाले जवाफमा ‘असहनीय’ प्रतिशोधात्मक कदम चाल्ने बताएको थियो । यसअघि उत्तर कोरियाले सीमापार बेलुन उडाउन बन्द गर्ने अचानक घोषणा गरेको थियो ।

राष्ट्रपति कार्यालयका अनुसार सोमबार दक्षिण कोरियाली राष्ट्रपतिको राष्ट्रिय सुरक्षा परिषद्ले सन् २०१८ को अन्तर–कोरियाली सम्झौतालाई निलम्बन गर्ने निर्णय गरेको छ।

उक्त सम्झौताको उद्देश्य दुवै कोरियाबीच आपसी विश्वास पुनःस्थापित नभएसम्म सीमावर्ती शत्रुतालाई कम गर्नु रहेको छ ।

निलम्बनले दक्षिण कोरियालाई उत्तर कोरियासँगको सीमा नजिकै पुनः सैन्य अभ्यास गर्न र उत्तर कोरियाको उक्साहटको प्रभावकारी र तत्काल प्रतिक्रिया दिन अनुमति दिने सुरक्षा परिषद्ले बताएको छ । मङ्गलबार निलम्बनसम्बन्धी प्रस्ताव अनुमोदनका लागि मन्त्रिपरिषद्मा प्रस्तुत गरिने बताइएको छ ।

दक्षिण कोरियाको सीमावर्ती लाउडस्पिकरमार्फत प्योङयाङविरोधी प्रचार प्रसार, के–पप गीत र बाहिरका समाचारहरू पुनः सुरु गर्न सम्झौताको निलम्बन आवश्यक रहेको पर्यवेक्षकहरूले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्