तामाकोशी पालिकामा एमालेको ध्यानाकर्षण पत्र



दोलखा। 

नेकपा एमालेले दोलखाको तामाकोशी गाउँपालिकालाई विभिन्न विषयमा ध्यानाकर्षण गराएको छ ।
नेकपा एमाले दोलखाको सचिवालय सदस्य एवं तामाकोशी गाउँपालिका कमिटीका इन्चार्ज धिराज सुवेदी र तामाकोशी गाउँपालिका कमिटी अध्यक्ष होम बहादुर श्रेष्ठद्वारा हस्ताक्षरित ध्यानाकर्षण पत्रमा कृषि, सिचाई, स्वास्थ्य, खानेपानी, शिक्षा, सडक तथा यातायात पूर्वाधार र विविध विषय समेटिएको छ ।

नेकपा एमाले तामाकोशी गाउँपालिका कमिटीले जिल्लाको तामाकोशी गाउँपालिकालाई विकास र समृद्धको नमूना पालिका बनाउने उदेश्यले नेकपा एमाले तामाकोशी गाँउपालिकाको परिकल्पना, सवल, समृद्ध र आत्मनिर्भर स्थानीय सरकार हाम्रो चाहना भन्ने नारा अघि सारेको पार्टी इन्चार्ज धिराज सुवेदीले बताए ।

एमालेले अघि सारेको नारा अनुसार तामाकोशी गाउँपालिकालाई समृद्ध बनाउन गाँउपालिकाले कृषिको लागि कम्तीमा एउटा वडामा दुई वटासम्म पकेट क्षेत्र घोषणा गर्नुपर्ने, बाली बिमा, उत्पादनमा अनुदान, साप्ताहिक हाट बजारको व्यवस्था, भूमि बैङ्कको स्थापना गर्नुपर्ने, पालिकाको वडा नम्बर– १, ३, ४ र  मा सिचाईको व्यवस्था गर्नुपर्ने, निर्माणाधीन १० बेडको तामाकोशी अस्पताल चाँडै सम्पन्न गर्नुपर्ने, स्वास्थ्य बिमा अनिवार्य गर्नुपर्ने, ज्येष्ठ नागरिकलाई घर– घरमा गै स्वास्थ्य परीक्षण र औषधिको व्यवस्था गर्ने कार्यक्रमलाई निरन्तरता दिनुपर्ने, कक्षा १२ सम्म विज्ञान विषयमा कक्षा सचालन गर्नुपर्ने, गाउँपालिका कार्यालय भवन निर्माणको लागि पुरै बजेट व्यवस्था गर्नुपर्ने, सबै वडाका मुख्य सडकलाई कालोपत्रे गर्नुपर्ने लगायतका माग राखिएको इन्चार्ज सुवेदीले बताए ।

शुक्रवार नेकपा एमाले दोलखाको सचिवालय सदस्य एवं तामाकोशी गाउँपालिका कमिटीका इन्चार्ज धिराज सुवेदी र तामाकोशी गाउँपालिका कमिटी अध्यक्ष होम बहादुर श्रेष्ठले तामाकोशी गाँउपालिकाका प्रमुख प्रोणप्रताप केसी र उपप्रमुख सिर्जना सुवेदीलाई ध्यानाकर्षण पत्र बुझाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्