१७ महिनापछि बल्ल सम्पत्ति विवरण सार्वजनिक, रास्वपाका अधिकांश मन्त्री धनाढ्य



–प्रधानमन्त्रीको सम्पत्ति बढ्यो
–सबैभन्दा धनाढ्य मन्त्रीमा रघुवीर, सुमना, डीपी, रवि, ज्वाला, भानुभक्त
–श्रीमतीको नाममा अथाह सम्पति राख्नेमा रवि

काठमाडौं ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले १७ महिनापछि प्रधानमन्त्री तथा मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको छ । सामान्यतया प्रधानमन्त्री तथा मन्त्रीहरूले ६० दिनभित्र सम्पत्ति विवरण बुझाएर सार्वजनिक गर्ने प्रचलन छ।

सार्वजनिक भएको सम्पत्ति विवरणअनुसार प्रधानमन्त्री प्रचण्डको भरतपुर महानगरपालिका–१४ मा पार्किङसहितको १४ कठ्ठा घरजग्गा छ । स्वर्गीय धर्मपत्नी सीता दहालकको नाममा रहेको यो घर र जग्गा पैतृक सम्पत्ति भएको सम्पत्ति विवरणमा उल्लेख छ । त्यसै गरी प्रचण्डको नाममा १ कठ्ठा जमिन र ५ तोला सुन रहेको विवरणमा उल्लेख छ । यी दुवै पैतृक भएको जनाइएको छ।

प्रधानमन्त्री प्रचण्डको नाममा एभरेस्ट बैंकमा २५ लाख रुपियाँ नगद मौज्दात रहेको र उक्त रकम प्रतिनिधिसभा सदस्यका हैसियतमा प्राप्त भएको स्रोतमा आधारित रहेको उल्लेख छ।

यसअघि २०७३ सालमा प्रधामनन्त्री हुँदा उहाँले बुझाएको सम्पत्ति विवरणमा एक कठ्ठा पैतृक सम्पत्ति र ३ तोला सुन रहेको उल्लेख भएकोमा यसपटक १४ कठ्ठा जमिन र दुई तोला सुन पैतृक सम्पत्तिको रूपमा थपिएको छ।

मन्त्रीहरूको सम्पत्ति विवरणअनुसार २३ मन्त्रीमध्ये सबैभन्दा धनी उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ देखिनुभएको छ । मन्त्री महासेठको नाममा जनकपुरमा १ बिघा १५ कट्ठा जग्गा रहेको छ भने २ करोड २५ लाख रुपियाँ बैंक मौज्दात रहेको छ । उहाँले पैतृक सम्पत्ति बेचेर सम्पत्ति आर्जन गरेको विवरणमा उल्लेख गर्नुभएको छ ।

मन्त्री महासेठसँग ४३ तोला सुन र १.५ केजी चाँदी रहेको छ । उहाँको श्रीमती जुलिकुमारीको नाममा फाइनान्स, लघुवित्त, बैंक गरी २ करोड ५० लाख नगद र ३ करोड ५५ लाख रुपियाँ बराबरको विभिन्न कम्पनीको ५ लाख सेयर रहेको सम्पत्ति विवरणमा उल्लेख गरिएको छ ।

जुलीकुमारी महतोको नाममा जनकपुर उपमहानगरपालिकामा ३ कट्ठा, ललितपुरमा २ रोपनी १३ आना २ पैसा १ दाम, धनुषामा ७ बिघा ३ कट्ठा, सिन्धुलीमा ४ कट्ठा, ललितपुरमा १ रोपनी ७ आना, धनुषामा ३ कट्ठा ११ धुर जग्गा रहेको विवरणमा उल्लेख छ।

सबैभन्दा कम सम्पत्ति हुनेमा उपप्रधान तथा परराष्ट्रमन्त्री नारायकाजी श्रेष्ठ देखिनुभएको छ। मन्त्री श्रेष्ठको गोरखा सिरानचोक ८ मा करिब ३८ रोपनी पैतृक सम्पत्ति रहेको छ। त्यो पनि २०५८ सालमा पार्टीमा हस्तान्तरण घोषणा गरिएको र प्रक्रियामा रहेको श्रेष्ठले जनाउनुभएको छ।

सिंहदरबारस्थित राष्ट्रिय वाणिज्य बैंकको खातामा तलब सुविधाको १ लाख २२ हजार ९ सय १८ रुपियाँ मौज्दात छ। उहाँले आफूसँग पार्टी अध्यक्ष प्रचण्डले चढ्न दिनुभएको महिन्द्रा गाडी पनि रहेको उल्लेख गर्नुभएको छ।

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नाममा नेपाल बैंक लिमिटेडमा एक लाख ५ हजार र ग्लोबल आईएमई बैंकमा ५ हजार रुपियाँ छ। उहाँको नाममा भक्तपुरमा १ रोपनी १ आना जग्गा छ । पैतृक सम्पत्तिबाट प्राप्त सो जग्गाबाहेक अरू सबै पत्नी निकिता पौडेलको नाममा भएको लामिछानेको सम्पत्ति विवरणमा उल्लेख छ । निकिताको नाममा बूढानीलकण्ठ–८ मा ५ आनामा बनेको घर छ।

विभिन्न व्यवसाय सञ्चालनबाट आएको रकमबाट ३ करोड ७५ लाख रुपियाँमा घर खरिद गरेको भनिएको छ । घर किन्दा बैंकबाट लिएको २ करोड ५० लाख रुपियाँमध्ये अब १ करोड ५० करोड तिर्न बाँकी रहेको पनि सम्पत्ति विवरणमा उल्लेख गरिएको छ ।

लामिछाने पत्नी निकितासँग बुबाआमाले दिएको र केही आफैंले खरिद गरेको ८० तोला सुन रहेको पनि खुलाइएको छ । त्यस्तै उहाँसँग १५–२० केजी चाँदी रहेको पनि सम्पत्ति विवरणमा उल्लेख छ । निकिताको नाममा गोपीकृष्ण सेन्ट्रल कम्प्लेक्सको १० रोपनी ८ आना जग्गाको २५ प्रतिशत सेयर र ४२ लाख रुपियाँमा खरिद गरिएको टाटा नेक्सनको विद्युतीय कार रहेको उल्लेख छ ।

अर्थमन्त्री वर्षमान पुनसँग जन्मथलो रोल्पा नगरपालिका–७ माडीचौरमा ८ सय २० वर्गमिटर पैतृक सम्पत्ति रहेको छ भने एनएमबी बैंकमा ३३ लाख ७० हजार ६ सय १८ रुपियाँ मौज्दात छ । सो रकम तलब भत्ता, भ्रमण भत्तासमेबाट प्राप्त गरेको उहाँले उल्लेख गर्नुृभएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डीपी अर्यालको १२ स्थानमा जग्गा, काठमाडौंमा घर, सुन, बैंक खातामा उल्लेख्य मात्रामा नगद रहेको छ। अर्यालको लमजुङ र भक्तपुरमा आफ्नो नाममा र धादिङ र काठमाडौंमा पत्नी अम्बिका केसीको नाममा गरी १२ ठाउँमा गरी करिब ५ करोड २८ लाख रुपियाँ मूल्यबराबरको जग्गा रहेको छ।

अर्यालसँग सुन १५० तोला, चाँदी सय तोला र हिरा १० तोला छ । वित्तीय संस्थामा उहाँ र श्रीमतीको नाममा २ करोड १८ लाख रुपियाँ छ भने ६७ हजार कित्ता सेयर रहेको छ। उहाँसँग एक करोड २५ लाख ४३ हजार रुपियाँमा किनेको एउटा प्राडो कार छ । अर्यालको स्वामित्वमा स्वयम्भु स्टार व्याङ्केट, सुमिरे ट्राभल्स एन्ड टुर्स प्रालि, इजी लिंक र एपीए ह्यान्डीक्राफ्ट रहेको छ। दुई करोड २३ लाख बराबरको उक्त सम्पत्ति निजी कमाइका आधारमा जोडेको अर्यालले सम्पत्ति विवरणमा उल्लेख गर्नुभएको छ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठको एनआईसी एसिया र एभरेस्ट बैंक गरी बैंक खातामा डेढ करोड रुपियाँ रहेको विवरण उल्लेख छ। मन्त्री श्रेष्ठका श्रीमान् पोल्यान्डका नागरिकको खातामा भएको रकमसमेत जोड्दा साढे ४ करोड रुपियाँ रहेको उल्लेख गरिएको छ।

त्यस्तै, उहाँका श्रीमान् पोल्यान्डका नागरिक पावल स्वविन्स्कीको नाममा एक विदेशी बैंकमा १ लाख ८९ हजार ७०० डलर छ । जसलाई नेपाली रुपियाँमा रूपान्तरण गर्दा २ करोड ४१ लाख रुपियाँ हुन आउँछ। श्रीमान्कै नाममा पोल्यान्डको मुद्रा पनि १ लाख ८० हजार रुपियाँ छ । जसको नेपाली रूपान्तरण गर्दा ६१ लाख ३२ हजार रुपियाँ हुन्छ। शिक्षामन्त्री श्रेष्ठसँग काभ्रेको रियालेमा ८ रोपनी ६ आना ३ पैसा जग्गा पनि छ ।

यस्तै, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङसँग राष्ट्रिय वाणिज्य बैंकमा ७ लाख ५० हजार रुपियाँ मौज्दात छ । त्यस्तै, चल सम्पत्तिमा १३ लाख नगद पनि छ । वन तथा वातावरण मन्त्री नवलकिशोर साह सुडीको नाममा ९ वटा घर र श्रीमती सावित्री देवी मन्त्री सुडीको नाममा ५ वटा घर रहेको छ । त्यसै गरी उहाँको परिवारको नाममा १५ ठाउँमा जग्गा छ। उहाँले आफूसँग १२ बोरको राइफल बन्दुक रहेको पनि जनाउनुभएको छ ।

सञ्चारमन्त्री रेखा शर्माले कीर्तिपुरमा एउटा घर रहेको र ६५ लाख ऋण रहेको उल्लेख गर्नुभएको छ । शर्मासँग ६ तोला सुन र दुई तोला चाँदी रहेको छ । उहाँको राष्ट्रिय वाणिज्य बैंकमा एक लाख ५० हजार, एभरेस्ट बैंकमा २८ हजार रुपियाँ छ । उहाँसँग ३६ लाख बराबरको हुन्डाइ कार रहेको छ।

यस्तै, कृषि मन्त्री ज्वालाकुमारी साहको बाराको कलैया उपमहानगरपालिकामा पुख्र्यौली जग्गा, जितपुर सिमरा उपमहानगरपालिका–१६ मा जग्गा रहेको छ । उहाँको श्रीमान अमृत शर्मा बजगाईंको जितपुर सिमरामा–५० कठ्ठा पुख्र्यौली सम्पत्ति रहेको उल्लेख छ । यसै गरी बजगाईंकै नाममा सर्लाहीमा ५० लाखमा खरिद गरेको पैतृक जग्गा रहेको जनाइएको छ । मन्त्री साहको पुर्ख्यौली सम्पत्तिको रूपमा सुन १० तोला र चाँदी २५ तोला रहेको उल्लेख छ ।

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीसँग आफ्नो र परिवारको नाममा ३ वटा घर छ । जोशीको बझाङ जयपृथ्वी नगरपालिका–७ मा २ रोपनी क्षेत्रफलमा बनेको घर रहेको छ । काठमाडौं कीर्तिपुरमा जयलक्ष्मी देवी जोशीको नाममा एउटा घर रहेको उल्लेख छ ।

युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठको सम्पत्ति विवरणमा काठमाडौं महानगरपालिका वडा नं. २४ को इन्द्रचोकमा दुई आना जग्गामा घर र १३ वडा ताहाचलमा चार आना जग्गामा घर रहेको उल्लेख छ। यी दुवै घरजग्गा सगोलको पैतृक सम्पत्ति बिक्री गरेर प्राप्त गरेको बताइएको छ। मन्त्री श्रेष्ठले आफूसँग पैतृक सम्पत्ति र विवाहबाट प्राप्त भएको १५ तोला सुन र ५० तोला चाँदीका साथै विभिन्न बैंकमा आफ्नो र श्रीमतीको नाममा नगद रहेको पनि उल्लेख गर्नुभएको छ।

उहाँसँग विभिन्न कम्पनीमा आफ्नो नाममा एक करोड नौ लाख ८० हजार पाँच सय नौ रुपियाँ बराबरको १५ हजार नौ सय ६ कित्ता सेयर, आठ लाख ५० हजार मूल्य बराबरको टोयोटा ल्यान्ड क्रुजर, दुई लाख ४६ हजार मूल्य बराबरको स्कुटर र १९ लाख ७५ हजार मूल्य बराबरको विद्युतीय सवारी साधन रहेको पनि सम्पत्ति विवरणमा उल्लेख गरिएको छ।

प्रतिक्रिया दिनुहोस्