कार्यदल बैठक : संसदीय छानबिन समितिको कार्यादेशमा सहमति प्रयास जारी



काठमाडौं ।

सहकारीको रकम अपचलनका विषयमा छानबिन गर्ने संसदीय समितिको कार्यदिशा टुङ्गो लगाउन गठित कार्यदलमा दुवै पक्षबीच सहमतिको प्रयास जारी रहेको छ।

सिंहदरबारस्थित कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा कार्यदलको आजको बैठकमा सत्तापक्ष र प्रमुख प्रतिपक्ष दलले आ–आफ्ना धारणा राखेका थिए। उक्त विषयमा छलफल पश्चात सहमतिका लागि पुनः बस्ने गरी बैठक सकिएको नेपाल कम्युनिष्ट पार्टी (एमाले)का प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए।

नेपाली कांग्रेसले सहकारीको रकम अपचलनमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको संलग्नता देखिएको भन्दै निष्पक्ष छानबिनका लागि संसदीय समिति गठनको माग गरेर दुवै सदनका बैठक अवरोध गर्दै आएको छ। यही जेठ ५ गते सत्तापक्ष र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसबीच संसदीय समिति गठन गर्ने सहमति भएको थियो।

समितिको कार्यदेश टुङ्गो लगाउन कार्यदल गठन गरिएको हो। कार्यदलको आजको बैठकमा सबै पार्टीका तर्फबाट धारणा राखिएको नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले जानकारी दिए।

बैठक आज बेलुका वा भोलि बस्ने उनले बताए। कार्यदलमा कानुनमन्त्री पदम गिरी, नेपाली कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्की, एमालेका प्रमुख सचेतक बर्तौला, कांग्रेस सहमहामन्त्री परियार र राष्ट्रिय स्वतन्त्रत पार्टीका शिशिर खनाल छन् ।

प्रतिक्रिया दिनुहोस्