इरानमा राष्ट्रपतिको निधनमा पाँच दिन राजकीय शोकको घोषणा

182
Shares

काठमाडौं ।

इरानका राष्ट्रपति इब्राहिम रइसीको हेलिकोप्टर दुर्घटनामा मृत्यु भएको पुष्टिसँगै सोमबार इरानमा पाँच दिन राजकीय शोकको घोषणा गरिएको छ।

पूर्वी अजरबैजानमा बाँधको उद्घाटन गरेर फर्कने क्रममा आइतबार इरानका राष्ट्रपति रइसी, इरानका विदेशमन्त्री हुसैन अमीर अब्दुल्लाहियनलगायत ९ जना सवार हेलिकोप्टर दुर्घटनामा परेको थियो। सोमबार मात्रै हेलिकोप्टरमा सवार ९ जनाको मृत्यु भएको पुष्टि भएको हो।

उक्त हेलिकोप्टरसँगै इरानका मन्त्रीहरू र अन्य वरिष्ठ अधिकारीहरू लिएर गएका दुई हेलिकोप्टर भने सुरक्षित रूपमा फर्किएका थिए। इरानका सर्वोच्च धार्मिक नेता आयतुल्लाह खामेनेईले आफूमुनि दोस्रो वरीयताका सर्वोच्च धार्मिक नेता राष्ट्रपति रइसीको निधनमा ५ दिने राजकीय शोकको घोषणा गर्नुभएको हो। इरानको संस्कृति मन्त्रालयले पनि ७ दिनसम्म सभासमारोहमाथि प्रतिबन्ध लगाएको छ।

यसैबीच खामेनेईले उपराष्ट्रपति मोहम्मद मोखबरलाई अन्तरिम राष्ट्रपति नियुक्त गर्नुभएको छ। इरानको संविधानअनुसार राष्ट्रपतिको पद रिक्त भएको अवस्थामा ५० दिनभित्र नयाँ राष्ट्रपतिको निर्वाचन गर्नुपर्ने व्यवस्था छ।

इजरायल–हमास युद्धपछि इजरायलसँगको सम्बन्ध निकै बिग्रिएको वर्तमान अवस्थामा भएको यो दुर्घटनालाई षड्यन्त्रको रूपमा कसैकसैले व्याख्या गरेको भए तापनि इजरायलले यस दुर्घटनामा आफ्नो हात नरहेको बताएको छ भने अमेरिकाले पनि यो घटना नितान्त दुघर्टना नै भएको बताएको छ। अमेरिकाले उक्त दुर्घटनाको कारण पत्ता लगाउन आफूले पनि सघाउने बताएको छ।

यद्यपि, इरानका पूर्व विदेशमन्त्री मोहम्मद जावेद जरीफले राष्ट्रपति रइसीको निधनका लागि अमेरिकाको नाकाबन्दीलाई जिम्मेवार ठहर्‍याउनुभएको छ। उहाँले न्युज एजेन्सी इरनालाई इरानको हवाई उद्योगमा अमेरिकाले प्रतिबन्ध लगाएका कारण इरानले जरुरी सामानहरू प्राप्त गर्न नसकेको कारण हेलिकोप्टर दुर्घटनामा परेको बताउनुभयो।

इरानको मसहदमा सन् १९६० मा जन्मनुभएका रइसीले मोहम्मद रेजा पहल्वीको शासनविरुद्ध विद्रोहमा रुअल्लाह खोमेनीलाई साथ दिनुभएको थियो। इरानमासन् २००९ मा राष्ट्रपतीय निर्वाचनलाई लिएर भएको अशान्ति साम्य पार्न समेत रइसीले महत्वपूर्ण भूमिका निभाउनुभएको थियो।

सिद्धान्तनिष्ठ र भ्रष्टाचारविरोधी छवि बनाउनुभएका रइसीले सन् २०१७ मा हसन रुहानीसँग राष्ट्रपतीय निर्वाचनमा पराजित भए पनि सन् २०२१ को राष्ट्रपतीय निर्वाचनमा विजयी हुनभएको थियो।

यसैबीच इरानी राष्ट्रपतिको निधनप्रति नेपालले गहिरो शोक व्यक्त गरेको छ। परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गरी इरानी राष्ट्रपति रइसीको निधनले इरानलाई पर्न गएको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै इरान सरकार र इरानी जनताप्रति समवेदना प्रकट गरेको छ। इरानी राष्ट्रपतिको निधनप्रति नेपालले पनि गहिरो शोक व्यक्त गरेको छ। परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गरी इरानी राष्ट्रपति रइसीको निधनले इरानलाई पर्न गएको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै इरान सरकार र इरानी जनताप्रति समवेदना प्रकट गरेको छ।

त्यसै गरी भारतले पनि रइसीको निधनप्रति शोक व्यक्त गर्दै एक दिन शोक मनाउने निर्णय गरेको छ। पाकिस्तानले पनि रइसीको निधनप्रति एक दिन शोक मनाउने र रइसीको सम्मानमा उक्त दिन पाकिस्तानको राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको छ।

चीनले रइसीको अचानक निधनले इरानका जनतालाई ठूलो क्षति पुगेको भन्दै चीनले एक महत्वपूर्ण मित्र गुमाएको बताएको छ। चिनियाँ राष्ट्रपति सी चिनफिङले रइसीको निधनप्रति दुःख व्यक्त गर्दै चीन र इरानबीचको स्ट्राटेजिक पार्टनरसिपलाई मजबुत बनाउन अहम भूमिका निभाएको र इरानको सुरक्षा र स्थीरताका लागि थुप्रै कदमहरू चालेको बताउनुभएको छ।

रुसी राष्ट्रपति भ्लादिमीर पुटिनले रइसीको कार्यकालमा रुस र इरानबीचको सम्बन्ध निकै मजबुत बनेको जिकिर गर्दै यस दुःखको घडीमा रुस इरानी जनताको साथमा रहेको बताउनुभएको छ। त्यसै गरी भेनेजुयलाका राष्ट्रपति निकोलस मादुरोले पनि रइसी आफ्नो खास मित्र भएको उल्लेख गर्दै रइसी इरानको गरिमा, नैतिकता र प्रतिरोधको सबैभन्दा ठूलो उदाहरण भएको जिकिर गर्नुभएको छ।

इराकी प्रधानमन्त्री मोहम्मद शिया अल सुडान र अजरबैजनका राष्ट्रपति इल्हाम अलियेबले पनि इरानी राष्ट्रपति रइसीको निधनप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ। यसैबीच प्यालेस्टिनी लडाकु समूह हमासले पनि रइसीले यहुदीविरुद्धको लडाईंमा आफूहरूलाई साथ दिएको भन्दै उहाँको निधनप्रति गहिरो शोक व्यक्त गरेको छ।