व्यक्ति केन्द्रित समिति बनाउन गृहमन्त्रीद्वारा अस्वीकार



काठमाडौं ।

सहकारी ठगी प्रकरणमा मुछिएको दुई महिनापछि संसद्मा बोल्न पाएका रास्वपाका सभापति एवं गृहमन्त्री रवि लामिछानेले व्यक्ति केन्द्रित समिति बनाउन अस्वीकार गर्नुभएको छ।

आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै गृहमन्त्री लामिछानेले आफू गोर्खा मिडिया प्रालिमा रहँदा सहकारीबाट ऋण लिने विषयमा कुनै निर्णय नभएको, ऋण लिने प्रक्रियामा आफ्नो कुनै निवेदन, हस्ताक्षर, आफ्नो बैंक खातामा पैसा नआएको दाबी गर्दै व्यक्ति केन्द्रित छानबिन समिति अस्वीकार गर्नुभएको हो।

संसद् बैठकमा आफू सूर्यदर्शनलगायतका सहकारीको कुनै रकम अपचलन नगरेको गृहमन्त्री लामिछानेले प्रष्टीकरण दिनुभएको छ। समस्याग्रस्त सहकारीका विषयमा संसदीय छानबिन समिति बनाउन सहमत भएको तर, व्यक्ति केन्द्रित विषयमा छानबिन समिति स्वीकार नहुने प्रष्ट पार्दै उहाँले भर्खरै राजनीतिमा आएको रास्वपालाई संसद्मा निमोठ्ने काम गरेको बताउनुभयो।

आफूमाथि छानबिन गर्न समिति बनाउने भए यसअघिका सबै घटनाको छानबिन हुनुपर्ने भन्दै गृहमन्त्री लामिछानेले कांग्रेसका नेताहरूको नाम जोडिएर विभिन्न कालखण्डमा आएका समाचारहरूको फेहरिस्त सुनाउनुभयो । जीबी राईले गरेका फोहोरको भारी आफूमाथि नथोपर्न आग्रह आग्रह गर्दै उहाँले आफूमाथि मिडियाबाजी गरेर मिडियाको हेडलाइनका आधारमा कांग्रेसले संसद् अवरुद्ध गरेको दाबी गर्नुभएको छ।

सहकारी ठगी प्रकरणमा मुछिएका लामिछानेमाथि छानबिन गर्न संसदीय छानबिन समितिको माग गर्दै आएको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र सत्ता पक्षीय दलहरूबीच शनिबार छानबिन समिति बनाउने सहमति भएको थियो । तर, संसदीय छानबिन समितिको टीओआर निर्माण गर्न गठित कार्यदलसमेत अनिर्णीत अवस्थामा छ।

सहकारी बचतकर्ताको रकम अपचलन, हिनामिना र ठगी प्रकरणमा संसदीय छानबिन समिति गठन गर्न सहमत भएका प्रमुख दल समितिको कार्यादेशमा पुगेर अड्किएका छन्। आइतबार दिनभर कार्यदल स्तरमा समितिको कार्यादेश बनाउन नेताहरू जुटे पनि सहकारीको रकम हिनामिनामा जोडिएका उपप्रधान तथा गृहमन्त्री लामिछानेको नाम राख्ने कि नराख्ने भन्ने विषय पेचिलो बनेको नेताहरूले बताएका छन्।

रविको नाम कार्यादेशमा राख्नुपर्छ भन्ने कांग्रेसको प्रस्तावमा अस्वीकार गर्दै सत्तापक्षबाट रविलाई चोख्याउने नीति अवलम्बन गरेका कारण कार्यदलमा सहमति जुट्न नसकेको कार्यदलका सदस्य जीवन परियारले बताउनुभयो।

गृहमन्त्री लामिछानेले बोलेलगत्तै प्रतिनिधिसभाको आइतबारको बैठक सोमबार ११ बजेसम्मका लागि सभामुख देवराज घिमिरेले स्थगित गर्नुभयो । संसद्को आइतबारको सबै कार्यसूची हटाएको जानकारीसहित सभामुखले बैठक स्थगन गर्नुभएको हो ।

‘व्यक्ति तोकेरै छानबिन समिति नबनाइए सदन अवरुद्ध’

गत २८ चैत्रबाट शुरू भएर पनि निरन्तर अवरोध रहेको संसद् आइतबार एक दिन चालू भए पनि सोमबारबाट सदन सञ्चालनमा संशय उत्पन्न भएको छ। गृहमन्त्री लामिछानेमाथि छानबिन हुने गरी छानबिन समिति नबनाएसम्म सदन चल्न नदिने कांग्रेसको बटमलाइन कायमै रहेको कांग्रेसका महामन्त्री गगन थापाले पत्रकार सम्मेलन गरी बताउनुभयो।

‘सहकारी ठगीमा जोडिएर गृहप्रशासनको नेतृत्व गरिरेहका लामिछानेमाथि छानबिन समितिले छानबिन नै नगर्ने हो भने कांग्रेसले उक्त छानबिन समिति स्वीकार गर्दैन’, थापाले भन्नुभयो– ‘गृहमन्त्रीजीमाथि छानबिन नहुने र उहाँलाई चोख्याउने गरी अघि बढे संसद् अवरोध जारी रहन्छ । गृहमन्त्री लामिछानेलाई सत्ता पक्षबाट चोख्याउन छानबिन समिति बनाउने कुरा उहाँमाथि छानबिन हुने गरी समिति नबने सदनका कुनै पनि प्रक्रिया अघि बढ्न सक्दैनन्।’

थापाले गृहमन्त्री लामिछानेबाट भएको सहकारी ठगीको प्रमाण पेस गर्दै उहाँमाथिको छानबिन गर्नुपर्ने कांग्रेसको अडान कायमै रहेको बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्