किर्गिस्तानमा रहेका नेपालीलाई घर बाहिर ननिस्कन सरकारको आग्रह



काठमाडौं ।

सरकारले किर्गिस्तानको राजधानी बिस्केक र वरपरको क्षेत्रमा रहेका नेपाली नागरिकलाई घरभित्रै रहन आग्रह गरेको छ।

गत शुक्रबार त्यहाँ भएको हिंसात्मक आक्रमण भएपछि पाकिस्तानस्थित नेपाली राजदूतावासले शनिबार सूचना जारी गरी सुरक्षित रहन आग्रह गरेको हो।

‘किर्गिस्तानको बिस्केकमा पछिल्ला केही दिनमा भएका घटनाका सन्दर्भमा करिब २८० को सङ्ख्यामा खासगरी बिस्केक र वरपर नेपाली हाल सकुशल रहनुभएको छ’, सूचनामा भनिएको छ,‘स्थिति सामान्य नहुञ्जेलसम्म घर बाहिर ननिस्कन आग्रह छ।’

दूतावासले कुनै किसिमको समस्या परेमा उक्त देशमा रहेका स्थानीय नेपालीसँग वा इस्लामावादस्थित दूतावासको प्रत्यक्ष सम्पर्कमा रहन अनुरोध पनि गरेको छ। साथै दूतावासले कुनै जानकारी, सल्लाह वा सहयोग आवश्यक परेमा राजदूतावासको फोन नम्बर नम्बर +92512610321 (ह्वाट्सयाप समेत) र इमेल [email protected] मा सम्पर्क गर्न सकिने जनाएको छ।

बिस्केकमा चिकित्साशास्त्र अध्ययन गरिरहेका भारत, बङ्गलादेश, पाकिस्तानलगायत मुलुकका विद्यार्थी रहेका छात्राबासमा आक्रमण भएपछि दूतावासले उक्त आग्रह गरेको हो।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार हाल बिस्केकको अवस्था सामान्य छ। त्यहाँको परराष्ट्र मन्त्रालयले बिस्केकको स्थिति नियन्त्रणमा रहेको जनाउँदै झुटा समाचार सामाजिक सञ्जालमार्फत प्रवाह नगर्न सम्बद्ध सबैमा आग्रह गरेको छ।

छात्राबासमा भएको आक्रमणमा १५ जना विद्यार्थीलाई चोट लागेको थियो। उनीहरूको उपचार भइसकेको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्