काठमाडौं ।
नेपाली कांग्रेसले संसदीय समितिको गठनको मागबाट पछि नहट्ने निर्णय गरेको छ। कांग्रेसको शुक्रबार बिहान बसेको संसदीय दलको बैठकले सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रशस्त प्रमाण देखिएकाले यस विषयमा छानबिन गर्नुपर्ने कांग्रेसले माग गरेको प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए।
साथै कांग्रेसले सहकारीको रकम ठगी गरेका मानिसहरूलाई बचाउन सरकार लागेको भन्दै त्यस्तो नगर्ने चेतावनी दिएको छ। लेखकका अनुसार कांग्रेसले बिहीबार संसद्मा भएको घटनाको जिम्मेवारी सभामुखको भएको निष्कर्ष निकालेको छ।
सिङ्गो विपक्षी दल विरोधमा रहेको बेला सभामुखले संसद् अगाडी बढाउन नसक्ने परम्परा विपरीत गएको लेखकले बताए। कांग्रेसले सभामुखलाई दलीय आबद्धता त्यागेर निष्पक्ष भएर बैठक सञ्चालन गर्न आग्रह समेत गरेको छ। नेता लेखकले बिहीबार प्रतिपक्ष सदनमा उभिएको बेला सत्ता पक्ष उठेर विरोध गर्नु संसदीय मर्यादा विपरीत भएको बताए।
प्रतिक्रिया