प्रतिनिधिसभाको बैठक बस्दै

140
Shares

काठमाडौं ।

प्रतिनिधिसभाको बैठक आज पनि बस्दै छ। बैठक बिहान ११ बजेका लागि बोलाइएको छ। सहकारी ठगी प्रकरणमा सरकारका गृहमन्त्री एवं रास्वपा सभापति रवि लामिछानेमाथि छानविन हुनुपर्ने माग गर्दै कांग्रेसले बिहीबारको बैठक अवरोध गरेको थियो।

बिहीबार नेपाली कांग्रेस र एमालेका सांसदहरूबीच घम्साघम्सी भएपछि बैठक आज बिहान ११ बजेसम्मका लागि स्थगित भएको थियो । आजको बैठकमा विभिन्न ६ वटा सम्भावित कार्यसूची तय गरिएको छ।

जसअनुसार सभामुख घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउने कार्यसूची छ भने बैठकको अध्यक्षता गर्ने सदस्यहरूको मनोनयन गर्ने कार्यसूची छ।

त्यस्तै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय संसदको दुवै सदनलाई राष्ट्रपति रामचन्द्र पौडेलले गरेको सम्बोधनको प्रति टेबुल गर्ने कार्यसूची छ।

त्यस्तै राष्ट्रपतिले संसदलाई सम्बोधन गरेकाले धन्यवाद प्रस्ताव प्रस्तुत हुने कार्यसूची पनि तय गरिएको छ। त्यस्तै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री र ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्रीले अध्यादेश तथा प्रस्ताव पेस गर्ने कार्यसूची छ।