नागरिकता वितरण कार्यविधि निर्देशिका बनाउने तयारी



काठमाडौं ।

नागरिकतासम्बन्धी नयाँ ऐन र नियमावलीअनुसार नागरिकता वितरणलाई सहज र प्रभावकारी बनाउन त्यससम्बन्धी कार्यविधि निर्देशिका बनाउने तयारी शुरु गरिएको छ।

गृह मन्त्रालयले नागरिकता ऐन २०७९ र नागरिकतासम्बन्धी नियमावली २०८० बमोजिम नागरिकता वितरण कार्यलाई प्रभावकारी र त्यसमा खटिने कर्मचारीलाई अझ स्पष्ट पार्न कार्यविधि बनाउने गृहकार्य अघि बढाएको हो । मन्त्रालयले कार्यविधि निर्देशिकाको मस्यौदा तयार गरी देशभरका प्रमुख जिल्ला अधिकारीहरुबाट सुझाव लिइसकेको छ ।

नागरिकता प्राप्तिका लागि नागरिकता ऐन र नियमावलीले तोकिएको विषय र नतोकिएको स्थितिमा त्यसलाई अझ थप स्पष्ट र सहज बनाउन कार्यविधि बनाउने कार्य भइरहेको मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले बताउनुभयो। ‘कार्यविधि तर्जुमा हुने कार्य भइरहेको छ । त्यसलाई अन्तिम स्वरुप दिने काम भइरहेको छ’ –प्रवक्ता भट्टराईले भन्नुभयो।

‘कार्यविधिमा कुन प्रकारको नागरिकता कसरी वितरण गर्ने, त्यसका लागि के के कागजात चाहिन्छ ? कुनकुन कागजात रुजु गर्ने जस्ता विषय समेटिएको छ। ऐनको तुलनामा नियमावली अलि विस्तृत हुन्छ। नियमावलीको तुलनामा कार्यविधि विस्तृती र व्याख्या गरिएको हुन्छ’ –प्रवक्ता भट्टराईले भन्नुभयो।

वंशजको आधारमा नागरिकता प्राप्तिका लागि ऐन र नियमावलीमा भएको व्यवस्था र त्यसको कार्यविधि, प्रमाण पेश गर्न नसकेकाहरुलाई वंशजको नागरिकता प्रमाणपत्र वितरणसम्बन्धी व्यवस्था, त्यसै गरी पितृत्व र मातृत्वको ठेगान नभएकोलाई दिइने नागरिकता, जन्मको आधारमा नागरिकता प्राप्ति र प्रमाण पेश गर्न नसक्नेलाई जन्मका आधारमा नागरिकता दिने, अंगीकृत नागरिकता प्राप्तिसम्बन्धी व्यवस्था, नागरिकता प्रमाणपत्र प्रतिलिपि दिँदा अपनाउनुपर्ने व्यवस्था, नागरिकता प्रमाणपत्रको अभिलेख राख्ने, गैरआवासीय नेपाली नागरिकता लिएका सन्तानको हकमा कुन प्रकारको नागरिकता पाउने जस्ता व्यवस्थालगायत विषयमा कार्यविधि अझ बढी स्पष्ट तुल्याउने पनि प्रवक्ता भट्टराईको भनाइ छ।

‘ऐनमा आमाको नाउँमा नागरिकता पाउने भनिएको छ। त्यो खासै कार्यान्वयनमा आएको छैन। मातृपितृत्व ठेगान नभएको विषय पनि त्यस्तै भइरहेको छ। यस्ता विषयमा कार्यविधि बोल्नुपर्छ’ –मन्त्रालयले गरेको छलफलमा गृहका एक अधिकारीले सुझाव दिए।

आमाको नामबाट मात्र नागरिकता पाउन चारवटा सर्त भने ऐनले राखेको छ। नेपालको नागरिक आमाबाट नेपालमा जन्म भएको, नेपालमा नै बसोबास गरेको, बाबुको पहिचान हुन नसकेको र त्यस्तो पहिचान हुन नसकेको भन्दै स्वघोषणा गर्ने व्यक्तिले आमाको नामबाट मात्र वंशजको नागरिकता पाउने छ।

बाबुको पहिचान हुन नसकेको व्यहोराको नागरिकता लिने व्यक्ति वा उसको आमाले स्वघोषणा गर्नुपर्ने प्रावधान ऐनमा छ। तैपनि यो विषय कार्यान्वयन गरेको पाइएको छैन। कार्यविधि बनेपछि यी विषयहरु कार्यान्वयनमा आउने पनि मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्