फेयरनेस क्रिम : केही दिन ‘लभ्ली’ त्यसपछि ‘अग्ली’



काठमाडौं ।

अनुहार सुन्दर बनाएर व्यक्तित्व बढाउने चाहना त कसको हुँदैन र ? तर अनुहार राम्रो बनाउने चाहनामा हानिकारक रसायनयुक्त क्रिमहरुको अत्यधिक प्रयोग गर्ने प्रवृत्तिले अनुहार झन् कुरुप हुने गरेको छाला रोग विशेषज्ञहरुको अनुभव छ। त्यसैले यस्ता रसायनयुक्त तथा गुणस्तरहीन फेयरनेस क्रिमको अधिक प्रयोग गर्नेहरुलाई छाला रोग विशेषज्ञहरुले भन्न थालेका छन् : ‘केही दिन लभ्ली (सुन्दर) त्यसपछि अग्ली अर्थात विरुप ।’

स्वस्ति स्किन, लेजर एन्ड हेयर ट्रान्सप्लान्ट सेन्टरका वरिष्ठ छाला रोग तथा कपाल प्रत्यारोपण विशेषज्ञ डा. सञ्जुबाबु श्रेष्ठ भन्नुहुन्छ– ‘धेरै मानिसहरुको अनुहारमा देखिने चाया (पोतो) पहिला महिलालाई मात्र गर्भावस्थामा मात्र आउँछ भनिन्थ्यो तर यो महिला र पुरुष दुवैलाई आउँछ। छालाको बाहिरी भागमा मात्र भएको चायालाई औषधि मात्र लगाएर पनि उपचार गर्न सकिन्छ।

डा. सञ्जुबाबु श्रेष्ठ

तर चाया आइसकेपछि उपचार गर्नुभन्दा पनि यस्तो चायालाई बढाउने कारक तत्वको नियन्त्रण गर्नु राम्रो हो। सूर्यको पाराबैजनी किरणबाट बच्न नियमित सन्सक्रिन लगाउनु, कम्प्युटर, टेलिभिजन, मोबाइलबाट निस्किने निलो लाइट, कोठामा बालिने बत्तीको उज्यालोलगायत कस्मेटिक साधनहरुको जथाभावी प्रयोगबाट बच्नाले पनि अनुहारमा चाया वृद्धि हुनबाट जोगाउँछ।’

यसका साथै गर्भावस्था, गर्भनिरोधक चक्कीहरुको प्रयोग, थाइराइड भएको बेला, हेमोग्लोविन कमी भएको बेला, रक्त अल्पता भएको बेला पनि चाया पोतो बढ्न सक्छ। तनाव, निद्रा कम लाग्नु पनि चाया बढाउने महत्वपूर्ण कारक तत्व हुन्। यी कुराहरुबाट बच्नु भनेको नै चायाबाट बच्ने उपाय गर्नु हो । यसबाहेक विशेषज्ञ चिकित्सकको सल्लाहअनुसार औषधिहरु प्रयोग गरेर चायालाई पूर्णरुपमा नियन्त्रण गर्न सकिन्छ ।

महिलाको अनुहारमा दारी जुंगाको समस्या

छाला रोग विशेषज्ञ डा. सञ्जुबाबुका अनुसार कपालबाहेक शरीरमा रौँहरु आउनु महिलाको निकै ठूलो समस्या हो । केटाहरुको जस्तो दारी जुंगा हटाएर मात्र पुग्दैन। अहिले अनुहार, घाँटी, छाती, निप्पल वरिपरि, नाइटोमुनि, जाँग, खुट्टाहरुमा बढी रौँ आउने समस्या लिएर पनि धेरै महिला चिकित्सककहाँ धाउने गर्छन्।

केटीहरुको अनुहार र अरु यस्तै अमिल्दो अंगमा कपाल आउनु (हर्सटिजम) को मुख्य कारण हर्मोनल हो। यस्तो समस्या हटाउन सधैँ थ्रेडिङ गर्नु, सेभिङ गर्नु सहज नभएपछि उपचारको खोजीमा आउँछन्। यो हर्मोनल समस्या हो भने हर्मोनको उपचार गर्नुका साथै डायोड लेजरले हरेक महिनाको अन्तरालमा ६ देखि ८ पटक उपचार गरेमा स्थायी रुपमा रौँहरु पूर्णरुपमा हटाउन सकिन्छ ।

केटीहरु मात्र होइन, आजकल केटाहरु पनि अनुहार, छाती आदिका रौं स्थायी रुपमा हटाउन लेजर उपचार पद्धतिको सहयोग लिन थालेका छन्। साथै मुखका कोठीहरु, डण्डीफोरका पुराना दागहरु हटाउन पनि लेजरको सहायताले सम्भव भएको छ। तर बुझ्नै पर्ने कुरा के छ भने गुणस्तरीय लेजरबाट गरिएको उपचार मात्र सफल हुन्छ। लेजर मेसिन पनि विभिन्न किसिमका हुन्छन्।

कुन समस्याका लागि कुन मेसिन प्रयोग गर्ने भन्ने हुन्छ, त्यसअनुसार नै विशेषज्ञले उपचार गर्छन्। अहिले लेजर मेसिन भनेर गुणस्तरहीन मेसिनहरु बजारमा छ्याप्छ्याप्ती छन्, त्यस्ता मेसिन प्रयोग गरेर सस्तोमा पनि उपचार होला, तर त्यो प्रभावकारी हुँदैन, बरु अनेक समस्याको कारक बन्न सक्ने डा. श्रेष्ठको भनाइ छ।

धेरै रिसाउँदा, हाँस्दा पनि छाला चाउरी पर्छ

छाला रोग विशेषज्ञ डा. सञ्जुका अनुसार उमेर बढ्दै जाँदा घाँटी, अनुहारमा प्रायः सबैको छाला चाउरी परेको देखिन्छ । तर सूर्यको पाराबैजनी किरण, जीवनशैली र बानी व्यहोरा पनि छाला चाउरी पर्नुको मुख्य कारण हो । यसमा सावधानी अपनाएर चाउरीपनलाई ढिलो गराउन सकिन्छ ।

जस्तै कुरा गर्दा कसैको मुख बंग्याएर, रिसाएर, अनुहार चाउरी पारेर, आँखा तरेर वा धेरै हाँसेर कुरा गर्ने बानी हुन्छ । त्यस्तो बानी छ भने पनि अनुहारमा चाउरी छिटो पर्छ। यसका साथै प्रदूषण, शरीरमा पानीको मात्राको कमी, छालामा चिल्लोपनाको कमी र वंशानुगत कारणले पनि प्रभाव पारेको हुन्छ। छालालगायत शरीरका लागि शुद्ध पानी नै सर्वोत्तम पेय बस्तु हो । बजारमा पाइने जुस, गुलिया झोल पदार्थहरु (कोक फ्यान्टा, डेउ, इनर्जी ड्रिङ्क्स) आदिले त शरीरका झोल पदार्थ नै सोसेर लिने गर्छ र शरीर सुख्खा गराउँछ । मद्यपान, धूमपान पनि छाला चाउरिनुका कारण हुन् ।

अनुहारको छालालाई सूर्यको किरणबाट बचाउन सन्सक्रिनहरु लगाउने, धूमपान नगर्ने, प्रदूषणबाट बच्ने, मोइस्चराइजर लगाउने गर्नुपर्छ । गाउँमा बस्ने मानिसहरुमा प्रायः घामबाट बचाने उपाय नअपनाउने गर्दा छिटो छाला चाउरी परेको हुन्छ ।

उमेर, वंशानुगत कारणबाट हुने चाउरीपनाबाट जोगाउन नसके पनि बानीव्यहोरा, जीवनशैलीमा सुधार गर्ने, पानी प्रसस्त पिउने, प्रदूषणबाट बच्ने, सन्सक्रिन सधैँ लगाउने, धूमपान, मद्यपान नगर्ने गरेर पनि छिटो छाला चाउरी पर्नुबाट जोगाउन सकिन्छ।

गुणस्तरीय मोइस्चराइजर, एन्टिरिंकल क्रिमहरुले पनि फाइदा गर्छ। अनुहारको सुन्दरताले व्यक्तित्व बढाउँने भएकाले पनि अनुहारको सुन्दरता जोगाइराख्नु महत्वपूर्ण छ।

प्रतिक्रिया दिनुहोस्