धार्मिक भ्रमण लगत्तै पूर्वराजा ज्ञानेन्द्र विदेश जाने



काठमाडौं ।

पूर्वराजा ज्ञानेन्द्र शाह आउँदो सोमबार ललितपुरको धार्मिक भ्रमण गर्नुहुने भएको छ। उहाँले ललितपुरको हिरन्यवर्ण महाविहार(गोल्डेनटेम्पल), बगलामुखी,कुम्भेश्वर,पाटन दरबार क्षेत्रमा रहेका भीमसेन र कृष्ण मन्दिर लगायतका धार्मिक स्थानमा पूजाआजा गर्ने कार्यक्रम तय भएको छ ।

पूर्वराजा ज्ञानेन्द्रका संवाद सचिव डा.फणिराज पाठकले हिजो मंगलबार जारी गर्नुभएको विज्ञप्तिमा पूर्वराजा ज्ञानेन्द्र शाहले ललितपुरको भ्रमण गर्ने कार्यक्रम रहेको रहेको उल्लेख गर्नुभएको थियो।

विज्ञप्तिमा कहाँ, कुन धार्मिक स्थल भ्रमण गर्न लाग्नुभएको हो, खुलाइएको छैन। स्रोतका अनुसार समय मिलेमा मच्छिन्द्रनाथ जात्राको समेत अवलोकन गर्ने कार्यक्रम तय भएको छ। यसअघि जेठ ३ गते  ललितपुरको धार्मिक भ्रमण गर्ने कार्यक्रम तय भएको थियो। समय परिवर्तन भएर ७ गतेलाई तय भएको हो।

भ्रमण गर्ने निर्णय भएपछि संवाद सचिवालयले हिजो मंगलबार विज्ञप्ति जारी गरेको थियो। विज्ञप्ति आए लगत्तै पूर्व राजाको सुरक्षा टोलीले भ्रमण गर्ने धार्मिक स्थलमा रेकी गरेको छ। टोलीले ललितपुरको सुरक्षा अवस्थाबारे समेत जानकारी लिएको थियो। राजावादीको आमन्त्रणमा ज्ञानेन्द्र परिवार ललितपुरको कोर क्षेत्रमा रहेको मन्दिर भ्रमणमा निस्कन लाग्नुभएको हो।

स्रोतका अनुसार पूर्वराजा ज्ञानेन्द्र ललितपुरको दरबार क्षेत्रबाट पैदल यात्रा गरेर धार्मिक भ्रमण गर्ने तयारी भइरहेको छ। धार्मिक भ्रमणको नाममा देश दौडाहामा लाग्नुभएका पूर्वराजा ज्ञानेन्द्रले चैत महिनाभर तराईका विभिन्न जिल्लाको भ्रमण गर्नुभएको थियो। नागरिक अभिनन्दन कार्यक्रममा सहभागी हुन पश्चिम र मध्य तराई भ्रमणमा गएर फर्कनुभएका पूर्वराजा ज्ञानेन्द्र ललितपुरको धार्मिक भ्रमणमा जाने कार्यक्रम तय भएको हो।

यसअघि सिमरा बसाइँको क्रममा वीरगन्ज, कलैया गढीमाई, मकवानपुर लगायत जिल्लामा नागरिक अभिनन्दन गरेको थियो । भैरहवा रहँदा विभिन्न धार्मिक क्षेत्रको  भ्रमण र नागरिक अभिनन्दन भएको थियो।

ललितपुरको  धार्मिक यात्रा लगत्तै पूर्वराजा ज्ञानेन्द्रको स–परिवार थाइल्याण्ड भ्रमणमा जाने कार्यक्रम तय भएको छ। स्रोतका अनुसार ज्ञानेन्द्रका बुहारी एवं पूर्व युवराज्ञी हिमानी शाह सहितको केही आफन्त ४ गते र पूर्वराजा ज्ञानेन्द्र र पूर्वरानी कोमल सहितको केही टोली ११ गते थाइल्याण्ड जाने कार्यक्रम तय भएको छ।

करिब एक महिना लामो विदेश यात्रामा निस्कन लाग्नुभएका ज्ञानेन्द्रले राजनीतिक भेटघाट गर्ने ससम्मको कार्यक्रम तय भएको छ।

प्रतिक्रिया दिनुहोस्