स्वास्थ्यमा नीति तथा कार्यक्रम पुरानै, बिमाका शब्दावली मात्र बदलिए



काठमाडौं ।

सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रममा ‘सङ्गठित क्षेत्रलाई स्वास्थ्य बिमामा अनिवार्य आबद्ध गराउने’ नीति लिएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले संसदमा सरकारको आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो बताएका हुन्।

उनले भने ‘देशभरका सरकारी, गैरसरकारी लगायत सबै सङ्गठित क्षेत्रलाई स्वास्थ्य बिमामा अनिवार्य आबद्ध हुने व्यवस्था गरिनेछ।’ भनेका छन्। तर पछिल्लो छ वर्षका नीति तथा कार्यक्रम हेर्दा सरकारले स्वास्थ्य बिमा ऐन सँग मिल्ने र कहिले ऐनसँग नमिल्ने समेत कार्यक्रम गरी छ वर्षमा छ प्रकारका नीति तथा कार्यक्रम प्रस्तुत गरिएको छ।

ऐनमा नेपाल सरकारले आधारभूत स्वास्थ्य सेवा निःशुल्क हुने र त्यो भन्दा माथिका सेवा बिमा मार्फत समेटिने भनिए पनि आधारभूत स्वास्थ्य सेवा बिमाको सुविधा थैलीमा समेत सेवा प्रदायक बाट पाउन नसकेको अवस्था छ।

६ वर्षमा ६ प्रकारका नीति तथा कार्यक्रम 

सरकारको आर्थिक वर्ष २०७५-०७६ मा ‘सबै नेपालीको स्वास्थ्य बिमा हुने गरी स्वास्थ्य बिमा कार्यक्रम विस्तार गरिनेछ,’ भनिएको थियो भने २०७६-०७७ मा ‘आगामी आर्थिक वर्षभित्र सबै नेपालीलाई स्वास्थ्य बिमाको दायरामा ल्याइनेछ। स्वास्थ्य बिमाले समेट्ने आधारभूत उपचार सबै स्थानीय तहका स्वास्थ्य केन्द्रबाट उपलब्ध गराइनेछ’ भनिएको थियो।

त्यसै गरी २०७७-०७८ को नीति तथा कार्यक्रममा ‘आगामी तीन वर्षभित्र सबै नागरिकमा पुग्ने गरी स्वास्थ्य बिमा कार्यक्रमलाई विस्तार गरिनेछ।’ स्वास्थ्य बिमा कार्यक्रममा आधारभूत बाहेकका स्वास्थ्य सेवाहरू क्रमशः समावेश गर्दै लगिनेछ।’ भनिएको छ भने आर्थिक वर्ष २०७९-०८० मा ‘सामाजिक स्वास्थ्य सुरक्षाका कार्यक्रमहरूलाई एकीकृत गर्दै स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध गरिनेछ।’ भनिएको छ त्यसै वर्षको बजेट वक्तव्यमा ‘निजी कम्पनीमार्फत स्वास्थ्य बिमा व्यवस्थापन गर्ने’ भन्ने कुरा राखिएको थियो।

नेपाल सरकारको २०८०-८१ को नीति तथा कार्यक्रममा ‘ स्वास्थ्य बिमा कार्यक्रमको पुनरावलोकन गरिनेछ। सबै किसिमका सामाजिक सुरक्षा कार्यक्रमलाई एककृत रूपमा सञ्चालन गरिनेछ।

योगदानमा आधारित सामाजिक सुरक्षाको दायरामा सबै नागरिकलाई समेट्दै लगिनेछ।’ भनिएको छ। त्यसकै निरन्तरता जस्तै यो वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रममा ‘देशभरका सरकारी, गैरसरकारी लगायत सबै सङ्गठित क्षेत्रलाई स्वास्थ्य बिमामा अनिवार्य आबद्ध हुने व्यवस्था गरिनेछ।’ भनिएको छ।

तर यसमा सरकारी स्वास्थ्य बिमामा अनिवार्य भने भनेको छैन यसरी हेर्दा अन्य बिमा आबद्ध भइसकेका र सामाजिक सुरक्षा मार्फत स्वास्थ्य सुरक्षा समेतको सुविधामा आबद्ध भएका औपचारिक तथा अनौपचारिक क्षेत्रमा कर्मचारी तथा श्रमिकको हकमा के हुने अलमलमै देखिन्छ।

प्रतिक्रिया दिनुहोस्