भनसुन र प्रभावका कारण सरुवामा हम्मे

हप्तौंको गृहकार्यपछि बल्ल ६० सहसचिवको सरुवा



–मन्त्रिपरिषद्ले निर्णय गरेको ५ दिनपछि मात्रै सूची सार्वजनिक
–सूचीमा कैयौंपटक केरमेट
–सोर्सफोर्सधारीहरू आकर्षक ठाउँमा
–महावाणिज्यदूतका लागि दुई जनाको दौडधूप

सरकारले सहसचिव सरुवाको गृहकार्य गरेको हप्तौंपछि बल्ल ६० सहसचिवको सरुवा गरेको छ। नीतिगत तहमा महत्वपूर्ण भूमिका खेल्ने सहसचिवहरूको सरुवामा विभिन्नखाले प्रभाव र दबाब झेल्नुपरेकाले सरुवामा ढिलाइ भएको हो।

मन्त्रिपरिषद्को २७ वैशाखको निर्णयले सहसचिवको सरुवा गर्ने निर्णय गरे पनि त्यसलाई अन्तिम रूप दिन भने ५ दिन लागेको थियो।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सहसचिव सरुवाको सूची एक हप्ताअघि नै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पठाएको भए पनि नाममा थपघट गर्न विभिन्नखाले प्रभाव र दबाब आएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले त्यसलाई मन्त्रिपरिषद्मा पेस गर्न सकेको थिएन ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पठाएको सूचीलाई शुरूमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले फिर्ता गरेर पुनः थपघट गर्न भन्दै सामान्य प्रशासन मन्त्रालयमा फिर्ता गरिदिएको थियो।

त्यसपछि सोर्सफोर्स र दबाबका कारण कैयौंको नाममा केरमेट र टिपेक्स नै लगाइएको थियो । सहसचिव सरुवाका लागि उच्च राजनीतिक नेतृत्व, विभिन्न मन्त्रालयका सचिव तथा अन्य केही व्यक्तिको समूहले प्रभाव पारेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय स्रोतले जानकारी दिएको छ ।

विभिन्न प्रभाव र दबाबका कारण सहसचिवको एकैपटक सरुवा गरिएकाले हालै सहसचिवमा बढुवा भएका सहसचिवहरूको पदस्थापन गर्न पनि झन्डै तीन साता लागेको छ। तीन सातासम्म बढुवा भएका सहसचिवहरू कामविहीन भएका थिए। बढुवा भएका अधिकांश सहसचिवहरूलाई प्रदेशका विभिन्न मन्त्रालयको सचिवमा पदस्थापन गरिएको छ।

सरुवा भएकाहरूमा अन्यत्र विभिन्न निकायमा रहेका ६ जना सहसचिवहरूलाई गृह मन्त्रालयमा लगिएको छ । गृह मन्त्रालयमा जानेहरूमा वसन्त अधिकारी, रामचन्द्र तिवारी, तीर्थराज चिलुवाल, विष्णुप्रसाद कोइराला, तीर्थराज भट्टराई र अर्जुनकुमार बम रहनुभएको छ।

यसै गरी केन्द्रका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सहसचिवहरू विपिन आचार्य, ध्रुव घिमिरे, चण्डीप्रसाद घिमिरे रहनुभएको छ। यसै गरी सूचना तथा सञ्चार प्रविधि मन्त्रालयमा गोपाल कोइरालाको सरुवा भएको छ। धेरै सहसचिवको प्रदेशका मन्त्रालयमा सरुवा भएको पाइएको छ। गृह मन्त्रालयमा रहेका ६ जना सहसचिव गृहबाट बाहिरिएका छन् । विज्ञहरूले सहसचिवको सरुवा गर्दा पनि स्पष्ट मापदण्डका आधारमा गरिएमा विवाद कम हुने र न्यायोचित हुने सुझाव दिएका छन् ।

सहसचिव सरुवामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका रहेका दुई जना सहसचिवको परराष्ट्र मन्त्रालयमा सरुवा भएको छ। सहसचिवहरू नवराज ढुंगाना र नारायणप्रसाद भट्टको परराष्ट्र मन्त्रालयमा सरुवा भएको हो।

उनीहरूमध्ये सहसचिव ढुंगानालाई कलकत्ताको महावाणिज्यदूतमा र भट्टलाई चीनको ग्वाङजाओस्थित महावाणिज्य दूतावासमा पठाउने गरी उनीहरूको सरुवा परराष्ट्र मन्त्रालयमा भएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्