गणतन्त्र दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन



काठमाडौं ।

सरकारले गणतन्त्र दिवसलाई भव्य रूपमा मनाउन गणतन्त्र दिवस मूल समारोह समिति गठन गरेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा मंगलबार सिंहदरबारमा बसेको बैठकले प्रधानमन्त्री प्रचण्डको अध्यक्षतामा ‘गणतन्त्र दिवस मूल समारोह समिति, २०८१’ गठन गरेको हो।

समितिका सदस्यमा उपप्रधानमन्त्रीहरू, मन्त्रीहरू, काठमाडौं महानगरपालिकाका प्रमुख, नेपाल सरकारका मुख्य सचिव, प्रधान सेनापति, ललितपुर महानगरका प्रमुख, सरकारका सचिव तथा विशिष्ट श्रेणीका राजपत्राङ्कित अधिकृतहरू, नेपाल प्रहरीका महानिरीक्षक, सशस्त्र प्रहरी बलका महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका निर्देशकलगायतका छन्।

सरकारले २०६५ जेठ १५ मा देशमा गणतन्त्र स्थापना भएको ऐतिहासिक दिनलाई प्रत्येक वर्ष गणतन्त्र दिवसका रूपमा मनाउँदै आएको छ। यस वर्षको जेठ १४, १५ र १६ गते तीन दिनसम्म नेपालभित्र र विदेशस्थित नेपाली दूतावासमा दिपावलीलगायतका कार्यक्रम गर्ने निर्णय भएको छ।

बैठकले संघीय सरकार तथा केन्द्रीयस्तर, विदेशस्थित नेपाली दूतावास, कूटनीतिक नियोग तथा वाणिज्य दूतावास र प्रदेश राजधानी, जिल्ला र स्थानीयस्तरमा गरिने कार्यक्रमसमेत तय गरेको छ।

बैठकले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिवको संयोजकत्वमा प्रचारप्रसार उपसमिति, काठमाडौं महानगरपालिका प्रमुख प्रशासकीय अधिकृतको संयोजकत्वमा मञ्च सजावट तथा व्यवस्थापन उपसमितिलगायतका विभिन्न उपसमिति गठन गरेको छ।

प्रतिक्रिया दिनुहोस्