कांग्रेसलाई प्रधानमन्त्रीको आग्रह- नीति तथा कार्यक्रममा अवरोध नगरिदिनुस्



काठमाडौं ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसका नेताहरुसँग छलफल गरेका छन्। मंगलबार बिहान प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेसका महामन्त्री गगन थापा र प्रमुख सचेतक रमेश लेखकसँग छलफल गरेका हुन्।

प्रधानमन्त्री प्रचण्डले संघीय संसद्लाई मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले सम्बोधन गर्ने कार्यक्रम रहेकाले अवरोध नगरिदिन आग्रह गरेका छन्। बैठकपछि नेपाली कांग्रेसका प्रमुख सचेतक लेखकले प्रधानमन्त्रीले राष्ट्रपतिले प्रस्तुत गर्ने नीति तथा कार्यक्रमलाई अवरोध नगर्न आग्रह गरेको बताए।

प्रधानमन्त्रीले सहकारी ठगीको विषयमा आफू गम्भीर रहेको र उक्त समस्या समाधानका लागि प्रयास गरिरहेको बताएको लेखकले जानकारी दिए। प्रधानमन्त्रीले गरेको यस्तो आग्रहबारे कांग्रेसले आज बस्ने संसदीय दलको बैठकबाट निर्णय गर्ने लेखकले जानकारी दिए।

राष्ट्रपति रामचन्द पौडेलले आज दिउँसो ३ बजे बस्ने संसद्को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम रहेको छ। कांग्रेसले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि सहकारीको रकम घोटाला प्रकरणमा अनुसन्धान हुनुपर्ने माग राख्दै आएको छ। त्यसका लागि संसदीय समिति गठन गर्नुपर्ने मागसहित कांग्रेसले संसदमा अवरोध गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्