‘कान्स फिल्म फेस्टिभल’मा सहभागी हुन बालेन फ्रान्स प्रस्थान



काठमाडौं ।

कान्स फिल्म फेस्टिभलमा भाग लिन काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह फ्रान्स प्रस्थान गरेका छन्। कान्सका मेयर डेभिड लिसनार्डको निम्तोमा उनी फेस्टिभलमा सहभागी हुन मंगलबार बिहान त्यसतर्फ प्रस्थान गरेका हुन्।

बालेनसँगै व्यवस्थापन सल्लाहकार कुमार व्यञ्जनकार र पूर्वाधार सल्लाहकार सुनिल लम्साल रहेका छन्। उनीहरूलाई महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियार र प्रशासन विभागका प्रमुख दीपक अधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्षबाट बिदाइ गरेका थिए।

फ्रान्समा रहँदा शाह फेस्टिभलका विभिन्न कार्यक्रममा सहभागी हुने छन्। त्यस क्रममा मेयर लिसनार्ड र फेस्टिभल निर्देशकसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। उनी फेस्टिभलको रेडकार्पेट र प्रिमियर कार्यक्रममा सहभागी हुनेछन् भने अडियो भिजुअल कन्टेन्ट क्रियशन चेनको अवलोकन समेत गर्ने छन्।

कान्स र काठमाडौं युनेस्कोको ‘क्रिएटिभ सिटी’को चलचित्र विधाका सदस्य नगर हुन्। फेस्टिभल १२ दिन चल्नेछ। कार्यक्रममा सहभागी भएर मेयर शाह जेठ ७ गते स्वदेश फर्किने छन्।

प्रतिक्रिया दिनुहोस्