२४ वर्षीय युवाले कसरी गरे २ अर्बको कारोबार ?

गैरकानुनी काम गर्ने ढुंगाना प्रहरीको फन्दामा



काठमाडौं ।

सट्टेबाजी आवेदन, वान एक्स बिट, जुवा ३६५ र क्रिप्टोमार्फत् सट्टेबाजी लगाउन २ अर्बभन्दा बढी रकम संकलन गर्ने काभ्रेका एक युवालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा काभ्रेका २४ वर्षीय अनिल ढुंगाना रहेको उपत्यका अपराध अनुसन्धान कार्यालयले जानकारी दिएको छ।

पक्राउ परेका ढुंगाना क्रिप्टो करेन्सीको व्यापारका लागि सक्रिय एजेन्टका रूपमा काम गर्दै आएको पनि सो कार्यालयका एसएसपी सानुराम भट्टराईले जानकारी दिनुभयो। काभ्रे घर भई भक्तपुरको सूर्यविनायक बस्दै आएका ढुंगानाले यो काम विगत ५ वर्षदेखि गर्दै आएको अनुसन्धानका क्रममा खुलेको एसएसपी भट्टराईले जानकारी दिनुभयो।

बेरोजगार युवाहरूलाई अनलाइनमार्फत् जम्मा गर्ने र नेपालमा अवैध घोषणा गरिएका खेलहरूमा संलग्न गराएर कारोबार गर्दै आएको पनि प्रहरीको अनुसन्धानले देखाएको छ। एक बेरोजगार युवाको खातामा करोडौंको कारोबार हुँदै आएको भन्ने सूचना पाएको प्रहरीले तीन महिनादेखि ढुंगानाको बारेमा अनुसन्धान शुरू गरेको थियो।

अनलाइन गेमिङ नेपालमा प्रतिबन्धित भए पनि यसबाट मनग्य पैसा कमाउन सकिने सूचना पाएका ढुंगाना काभ्रे घरबाट भक्तपुरमा डेरा लिएर उक्त कारोबार सञ्चालन गर्दै आएको अनुसन्धानको क्रममा देखिएको प्रहरीले जानकारी दिएको छ।

नेपालमा सन् २०१८ देखि क्रिप्टो करेन्सीलगायतका अनलाइन जुवाको व्यापार मौलाएपछि ढुंगानाले उक्त कारोबारमा हात हालेको देखिएको अनुसन्धानमा संलग्न एक अधिकृतले नेपाल समाचारपत्रलाई जानकारी दिए। ढुंगानाले नेपाल तथा विभिन्न देशका बैंकहरूलाई प्रयोगमा ल्याएको देखिएको प्रहरीले बताएको छ।

उनले नेपालका ५६ वटा बैंकमा खाता खोलेर आफ्नो कारोबार सञ्चालन गर्दै आएको सो कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिनुभयो। नेपालमा अनलाइन जुवाविरुद्ध प्रहरीले व्यापक अपरेसन गरेपछि यसका एजेन्टहरू कोही देश छोडेर भागेको केही पेसाबाट पलायन भए पनि ढुंगानाले भने आफ्नो कारोबारलाई निरन्तरता दिएका थिए।

अनलाइन गेम ‘वान एक्स बेट’का लागि ढुंगानाले नेपालमा मेगा एजेन्टको रूपमा काम गर्दै आएका थिए। रात दुगुना दिन चौगुना रकम आउन थालेपछि ढुंगानाले आफन्तहरूको समेत बैंक खाता प्रयोगमा ल्याएको पनि सो कार्यालयले जानकारी दिएको छ। घरमा आफूले के काम गर्दै छु भन्ने बारेमा कुनै जानकारीसमेत नदिएका उनले यसका लागि केही आफ्ना नजिकका आफन्तलाई समेत प्रयोग गरेको पाइएको एसपी रेग्मीले जानकारी दिनुभयो।

यसका लागि ढुंगानाले १० जना युवालाई अनलाइन गेमिङका लागि प्रयोग गर्दै आएका थिए। प्रहरीले ती व्यक्तिको बारेमा अनुसन्धान गरिरहेको र उनीहरूको संलग्नता देखिए पक्राउ गरेर कारबाही अघि बढाउने पनि प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्