सुरक्षण मुद्रण केन्द्रमा ४० करोडभन्दा बढी भ्रष्टाचार

विकलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

564
Shares

काठमाडौं ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेललगायत ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले सुरक्षण मुद्रण केन्द्रका लागि उपकरण खरिदमा ४० करोड रुपियाँभन्दा बढी भ्रष्टाचार गरेको ठहरसहित उनीहरूविरुद्ध आइतबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । अख्तियारले उनीहरूविरुद्ध ४० करोड ८५ लाख रुपियाँ भ्रष्टाचार गरेको आरोपसहित बिगो जरिवाना र कानुनअनुसार कैद सजाय माग गर्दै भ्रष्टाचार मुद्दा दायर गरेको जनाएको छ।
भ्रष्टाचार मुद्दा दायर भएकाहरूमा राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन निर्देशक सफल श्रेष्ठ, वन तथा वातावरण मन्त्रालयका मेकानिकल सीडीई नवीनकुमार पोखरेल, सुरक्षण मुद्रण केन्द्रका तत्कालीन लेखा अधिकृत खड्कबहादुर थापा र शाखा अधिकृत हरिबल्लभ घिमिरे, केन्द्रको उपकरण खरिद गर्ने ठेक्का पाएको म्याक्स इन्टरनेसनल र त्यसका सञ्चालक अकबर हुसेन रहेका छन्।

सुरक्षण मुद्रण केन्द्रको भवन र संरचना निर्माणमा अनियमितता भएको भनी विकल पौडेलविरुद्ध गत वर्ष दायर भएको अर्को मुद्दा विशेष अदालतमा विचाराधीन छ।

अमेरिकाको स्थायी आवास अनुमति पत्र (पीआर) लिएर त्यस बारेको विवरण लुकाई नेपालमा नियुक्ति लिएको भनी पौडेलविरुद्ध केही साता अघिमात्रै दोस्रो मुद्दा दायर भएको थियो। यससहित विकलविरुद्ध भ्रष्टाचारमा तेस्रो मुद्दा दायर भएको हो।

आइतबारमात्रै विशेष अदालतले अख्तियारको हिरासतमा रहेका पौडेललाई थप १० दिन थुनामा राख्न अनुमतिसमेत दिएको छ भने अख्तियारले पौडेललाई हिरासतमा लिएर गैरकानुनी सम्पत्ति आर्जन मुद्दामा समेत आवश्यक अनुसन्धान गरिरहेको छ ।