नेपाल स्वास्थ्य सम्मेलनको दोस्रो संस्करण वैशाख ३१ गतेदेखि

98
Shares

काठमाडौं ।

स्वास्थ्यका विभिन्न ६ विषयमा प्रस्तुति तथा छलफल गरिने भएको छ। ‘नेपाल स्वास्थ्य सम्मेलन’को दोस्रो संस्करणबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा आयोजकले विभिन्न ६ विषयमा प्रस्तुति तथा छलफल हुने बताएका हुन्।

‘स्वस्थ नेपाल निर्माणको अग्रसरता: सरकार, समुदायिक र निजी क्षेत्र सबैको सहभागिता’ भन्ने मुल नारा सहित नेपाल स्वास्थ्य सम्मेलनको दोस्रो संस्करण यहि वैशाख ३१ गतेदेखि काठमाडौंमा हुँदैछ।

प्रस्तुति तथा छलफलका विषयहरुमा मौलिक जीवनशैलीमा स्वास्थ्यको परिदृश्य र पर्यटनको अवसर, जलवायु परिवर्तनका कारण दबाबमा जनस्वास्थ्य, स्वास्थ्य बीमा कार्यक्रमः चुनौती र अवसर, नसर्ने रोगका जोखिम विरुद्ध हाम्रो रणनीति, बहसमा नेपालको चिकित्सा शिक्षा तथा स्वास्थ्य व्यवसाय वा सेवा ? जस्ता विषयमा सरोकारवालाहरुसँग प्रस्तुति तथा प्यानल छलफल हुने आयोजक त्रिकाल प्रोडक्सनका अध्यक्ष सुभास घोसले जानकारी दिए।

पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार सञ्चारकर्मीहरुको समूह त्रिकल प्रोडक्सनको आयोजनामा स्वास्थ्य तथा जनसङख्या मन्त्रालय, विश्व स्वास्थ्य संगठन नेपालको साथमा कान्तिपुर मिडीया ग्रुप र नेपाल स्वास्थ्य पत्रकार मञ्चको सहकार्य र स्वास्थ्य तथा गैह्रस्वास्थ्य निकायहरुको सहजीकरणमा सम्मेलन हुँदैछ। सम्मेलनको पहिलो संस्करण त्रिकाल प्रोडक्सनले कोभिड १९ को महामारीका बीच २०७७ साल चैत्रमा गरिएको थियो।

उक्त सम्मेलनले स्वास्थ्य प्रणालीको अवस्था, आपत्तकालिन जटिल स्वास्थ्य समस्या र यसको निराकरणका लागि स्वास्थ्य सरोकारवालाहरुबीच समन्वय, सहजीकरण र सेवा प्रवाहलाई प्रभावकारी बनाउन सार्थक भूमिका निर्वाह गरेको आयोजकको भनाई रहेको छ।

सम्मेलनले स्वास्थ्य क्षेत्रमाका चुनौती र आवश्यकताको पहिचान सहित परिपूर्तीको आधारलाई पहिल्याउँदै भविष्यको मार्गचित्र तयार पार्ने विश्वास लिइएको छ। सम्मेलनबाट प्राप्त सुझावको प्रतिवदेन तयार गरी सरोकारवाला निकायहरुलाई पेश गरिने आयोजकले जनाएको छ।