मेयर भव्य बनेको दाबी

84
Shares

काठमाडौं ।

५१ दिनमा गतसाता छायांकन सकिएको फिल्म मेयरका निर्देशक दीपेन्द्र के खनालले आफ्ना लागि विशेष रहेको बताएका छन्। निर्देशक खनालले अपेक्षा गरेभन्दा पनि ठूलो क्राउडमा फिल्मको छायांकन गरेको बताए।

एउटै सिन ११ हजारभन्दा धेरै क्राउड जम्मा गरेर छायांकन भएको जनाउ“दै खनालले नेपाली फिल्मकै इतिहासमा ठूलो क्राउडमा आफूले फिल्म खिच्ने अवसर पाएकोमा प्रसन्नता व्यक्त गरे।

राजनीतिक फिल्म भनिए पनि दुई दर्जन भीड जम्मा गर्न कठिन हुने गरेको र त्यसको असर पर्दामा देखिने गरेको उनी बताउँछन्। यसपटक भने यो समस्या आफूले झेल्नु नपरेको उनको भनाइ छ।

‘मेयर कति भव्य देखिन्छ, त्यसले अहिले आफूले भनेको प्रमाणित गर्ने जनाउँदै उनी भन्छन्, ‘मैले बनाएको भनेर म दाबी गरिरहेको छैन। यो नेपाली राजनीतिक फिल्मको इतिहासमा नेपालमै टर्निङ पोइन्ट हुनेछ।’

दर्शकले नेपाली फिल्ममा पहिलोपटक राजनीतिक फिल्म महसुश गर्न पाउने दाबी उनको छ। मेयरले राजनीतिक फिल्म कस्तो हुन्छ भनेर त्यसको असली टेस्टसँगै तराईमा बजार विस्तार गर्न पनि सहयोग गर्ने उनको विश्वास छ।

सर्लाही जिल्ला, वाग्मती नगरपालिकाका वर्तमान मेयर भरत थापाको जीवन संघर्षलाई आधार मानेर तयार पारिएको फिल्ममा खगेन्द्र लामिछाने, वर्षा राउत, अर्पण थापा, अनुप बराल, दिव्यदेव, प्रकाश घिमिरे, हरिहर शर्मा, ऋचा शर्मा, रवीन्द्र झा, रमेश बुढाथोकी, अर्विशा थापा, सञ्जोग रसाइली, आशान्त शर्मा, प्रभाकर न्यौपाने, झकेन बिसीलगायतले अभिनय गरेका छन्।