इलाम-२ उपनिर्वाचन : एमालेलाई विरासत जोगाउन छैन सहज

770
Shares

काठमाडौं ।

आगामी वैशाख १५ मा हुने इलाम–२ को उपनिर्वाचनमा नेपाल कम्युनिस्ट पार्टी (एमाले) लाई आफ्नो विरासत जोगाउन धेरै नै मिहिनेत गर्नुपर्ने देखिएको छ।

पूर्व सभामुख एवं एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको देहवासनपछि रिक्त भएको स्थानका लागि हुन लागेको उपनिर्वाचनमा एमालेले नेम्वाङका छोरा सुहाङ नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।

सुहाङले इलाममा राजनीति नगरेकाले उनले त्यहाँ धेरै नै मिहिनेत गर्नुपर्ने स्थानीयको भनाइ छ। यद्यपि, ३२ वर्षका युवा भएका र नयाँ जोस जाँगरसहित निर्वाचन क्षेत्रमा होमिन पुगेकाले सुहाङप्रति धेरैको आशा भने पलाएको छ।

यद्यपि, स्थानीयले भने एमालेले निरन्तर जित्दै आएको इलाममा–२ मा विरासत जोगाउन धेरै मिहिनेत गर्नुपर्ने बताएका छन्। गठबन्धनका अन्य दलबाट सहयोग नपाएमा सुहाङलाई जित हासिल गर्न भने निकै सकस पर्न सक्ने देखिएको छ।

स्थानीयहरू मात्रै होइन, एमालेकै कतिपय नेताहरूले पनि नेपालको राजनीतिमा पिता सुवासचन्द्र नेम्वाङको विरासत धान्ने उद्घोषका साथ मतदातामाझ जान थालेका सुहाङले चुनावी रणनीतिमा एमालेको जित निर्भर गर्ने बताएका छन्। एमालेले वर्तमान सत्ता गठबन्धनबाट साथ पाउने अपेक्षा गरे तापनि गठबन्धनका सहयात्री दलहरूले आफ्नै उम्मेदवार घोषणा गरिरहेका छन्।

हुन त प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अझै उम्मेदवार टुंगो लगाउन सकेको छैन । यद्यपि, कांग्रेसमा गत निर्वाचनमा एमाले नेता सुवास नेम्वाङसँगै पराजित डम्बर खड्काको नाम अग्रपंतिमा छ।

उम्मेदवारका विषयमा आइतबार निर्णय हुने जानकारी दिँदै कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले भन्नुभयो– ‘हामी चुनाव जित्नेगरी सबैको साझा सहमतिमा उम्मेदवार उठाउँछौं ।’

नयाँ राजनीतिक दल र पहिचानवादीहरूको उम्मेदवारसमेत एमालेलाई जोखिम बढाएका छन्। सत्ता गठबन्धनको एक घटक संसद्को नयाँ राजनीतिक दल राष्ट्रिय स्वतन्त्र पार्टीले मिलन लिम्बूको उम्मेदवारी घोषणा गरेको छ भने अर्को सत्ता सहयात्री दल एकीकृत समाजवादीले जीतबहादुर राईलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।

सरकारको नेतृत्व गरेको माओवादी केन्द्रले पनि आफ्नै उम्मेदवार उठाउने तयारी भइरहेको जनाएको छ । माओवादी केन्द्रका महासचिव देव गुरुङले आफ्नै उम्मेदवार उठाउने पार्टीको निर्णयबाट पछि फर्कन नसक्ने दाबी गर्दै भन्नुभयो– ‘हामीले आफ्नै उम्मेदवार उठाउने निर्णय गरिसकेका छौं । पात्रको विषयमा जिल्ला कमिटीलाई जिम्मेवारी दिएकाले एकदुई दिनभित्रै उम्मेदवार टुंग्याउछौं ।’

गठबन्धनका पाँच दलमध्ये जनता समाजवादी पार्टीले अरूलाई सहयोग गर्ने वा आफ्नै उम्मेदवार खडा गर्ने भन्ने निर्णय गरिसकेको छैन। उपनिर्वाचनका लागि निर्वाचन आयोगले आगामी चैत २४ गते उम्मेदवारी मनोनयन गर्ने कार्यतालिका सार्वजनिक गरेको छ।

एमाले नेता सुवास नेम्वाङको निधन भएपछि इलाम क्षेत्रनम्बर २ र बझाङ क्षेत्रनम्बर १ (क) मा कांग्रेसका पृथ्वीबहादुर सिंहको सवारी दुर्घटनामा मृत्यु भएपछि रिक्त हुन गएकाले ती स्थानमा उपनिर्वाचन हुँदै छ।