‘उपनिर्वाचनमा एमालेले इलाम र बझाङको प्रदेश सभा सदस्य दुवै ठाउँमा जित्छ’

1.4k
Shares

काठमाडौं ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा बैशाख १५ गते हुने उपनिर्वाचनमा एमालेले इलाम–२ को प्रतिनिधि सभा र बझाङको प्रदेश सभा सदस्य दुवै ठाउँमा जित्ने बताउनुभएको छ ।

बझाङ काठमाडौं सम्पर्क मञ्चले शनिबार काठमाडौंमा आयोजना गरेको प्रदेश सभा उपनिर्वाचनको विशेष भेलालाई सम्बोधन गर्दै ओलीले २०७९ को निर्वाचनमा एमालेले एमाले विरुद्धको गठबन्धन बेहोरेर आएको बताउनुभयो । अहिले खुल्ला प्रतिस्पर्धा भएकोले एमालेले चुनाव जित्ने ओलीले दाबी गर्नुभयो । ‘यस पटक हामी हार्दैनौँ, यस पटक हामी जित्छौँ र यस पल्ट हामीले हार्नै मिल्दैन’, ओलीले भन्नुभयो ।

विगतमा सबै एकातिर, एमाले एकातिर भएको, एमालेका हस्ती भनिएका नेताहरू पार्टी फुटाएर एमाले विरुद्ध चुनाव लडेका ओलीले स्मरण गर्नुभयो । त्यस्तो परिस्थितिमा पनि नेकपा एमालेले एक्लै चुनाव लडेर सर्वाधिक लोकप्रिय पार्टी बनेको ओलीले बताउनुभयो ।सो निर्वाचनमा कांग्रेले केही ठाउँमा निर्वाचन कब्जा गरेर संसदीय अंकगणितमा एमालेको भन्दा केही बढी सिट प्राप्त गरेको ओलीले बताउनुभयो । कांग्रेसले चुनावमा धाँधली गरेर बल्ल बल्ल एमालेको भन्दा केही बढी सिट लाएको उहाँको भनाइ छ ।

के होला के होला भन्ने अवस्थामा समेत एमाले सर्वाधिक मत ल्याएको उहाँले बताउनुभयो । त्यस बेला बझाङमा दौडमा जितेको नभई एमालेलाई डोरीमा अल्झाई लडाएर चुनाव जितको उहाँले टिप्पणी गर्नुभयो । ओलीले एकताबद्ध भएर चुनाव लाग्न र अघि बढ्न आग्रह गर्नुभयो । कहिल्यै नभएको ऊर्जा लगाएर चुनावमा लाग्न उहाँले आग्रह गर्नुभयो । बैशाख १५ गते आउन धेरै समय बाँकी नरहेको भन्दै चुनावमा लागिहाल्न उहाँले निर्देशन दिनुभयो । ‘हामी जित्ने छौँ बैशाख १५ गते’, उहाँले भन्नुभयो ।

इलाम–२ मा एमालेले अत्याधीक बहुमतले जित्ने पनि उहाँले दाबी गर्नुभयो । सुवास नेम्वाङको निधनबाट रिक्त हुन आएको क्षेत्रमा चुनाव लड्न लागेको बताउँदै ओलीले हिजो सबै मिल्दा पनि एमालेले एक्लै लडेर चुनाव जितेको स्मरण गराउनुभयो । यस पटक इलाममा हाम्रो कोही प्रतिस्पर्धी छैन, हामी जित्छौँ’, उहाँले भन्नुभयो ।

बझाङमा पनि कांग्रेसले माओवादी र समाजवादीको भोटले २०७९ सालको चुनाव जितेको बताउँदै ओलीले यस पटकको निर्वाचनमा अन्तिममा पुग्दासम्म माओवादीले एमालेलाई समर्थन गर्ने ओलीले विश्वास व्यक्त गर्नुभयो । यदि ती निर्वाचन क्षेत्रमा एमालेको भन्दा माओवादीको भोट बढी भएको भए एमालेले माओवादीलाई खुल्ला दिलले समर्थन गर्ने ओलीले बताउनुभयो । माओवादीको भन्दा एमालेको बढी भोट भएकोले एमालले छाड्न नमिल्ने ओलीको धारणा छ ।

यस पटक कतै पनि बुथ कब्जा नहुने ओलीले बताउनुभयो । एमाले हुँदा हुँदै बुथ कब्जा हुन नदिने उहाँले प्रष्ट पार्नुभयो । हरेक बुथमा २ सयका दरले युवालाई परिचालित हुन उहाँले आग्रह गर्नुभयो । ‘युवा परिचालन विचारले हुनुस्, बोतलबाट होइन’, उहाँले भन्नुभयो । ओलीले चुनावमा फजुल खर्च नगर्न आग्रह गर्नुभयो । पार्टीको चुनाव भएकोले सबैलाई खट्न उहाँले आग्रह गर्नुभयो । चुनावमा हरेकलाई आफ्नो तर्फबाट योगदान गर्न ओलीले निर्देशन दिनुभयो । सबैले सहयोग गरेर चुनावलाई पार लगाउनु पर्नेमा उहाँले जोड दिनुभयो ।

उहाँले चुनावको बेलमा कुनै पनि नेता र उम्मेदवारको कुनै प्रकारको आलोचना वा टिप्पणी गर्न नमिल्ने ओलीले बताउनुभयो । केही असन्तुष्टि छन् भने चुनाव पछि छलफल गरिने उहाँले प्रष्ट पार्नुभयो । पार्टी भित्र एकता र विरोधीसँग प्रतिस्पर्धा गर्न उहाँले निर्देशन दिनुभयो ।