सशस्त्र प्रहरी बल चौबिसै घण्टा सीमा गस्तीमा

700
Shares

काठमाडौं ।

सशस्त्र प्रहरी बल नेपालले ‘सीमावासीसँग सशस्त्र प्रहरी कार्यक्रमअन्तर्गत अन्तर्राष्ट्रिय सीमा इलाकामा चौबिसै घण्टा सीमा क्षेत्रमा एक प्लाटुन सशस्त्र प्रहरी बल नेपालको फौज परिचालन गरेको छ।

सीमा सुरक्षालाई थप प्रभावकारी बनाउने उद्देश्यले चौबिसै घण्टा सीमा क्षेत्रमा गस्ती परिचालन गर्न सीमा पैदल गस्ती परिचालनसम्बन्धी अवधारणापत्र–२०८० लागु गरेलगत्तै फौज परिचालन गरेको हो।

अवधारणापत्र तयार गरी लागु गरिएसँगै अब प्रत्येक प्रदेशमा सशस्त्र प्रहरी निरीक्षकको कमान्डमा एक प्लाटुन टोली चौबिसै घण्टा सीमा गस्तीमा तैनाथ रहने छ।

नेपालसँग सीमा जोडिएका जिल्लाहरूका सीमा स्तम्भ तथा दशगजा क्षेत्रको सुरक्षा, सीमाक्षेत्रबाट हुने अपराध नियन्त्रण, सीमा अतिक्रमणको अनुगमन तथा रोकथाम, सीमा क्षेत्रमा हुने राजस्व चुहावट नियन्त्रण तथा गैरकानुनी गतिविधि नियन्त्रण गर्न थप प्रभावकारी बनाउने उद्देश्यले फौज परिचालन गरेको हो । यसकासाथै सशस्त्र प्रहरी बल र छिमेकी मित्रराष्ट्रका समकक्षीसँग समन्वय र सहकार्यमा समेत सहयोग पुग्नेछ।

जिम्मेवारी इलाकाको भौगोलिक, सामाजिक, आर्थिक, सांस्कृतिक, धार्मिकलगायतका वर्तमान स्थितिहरूको बारेमा जानकारी लिनुका साथै सीमा सुरक्षाको अवस्था, सीमा स्तम्भ तथा दशगजा क्षेत्रको अतिक्रमणको बारेमा जानकारी अध्यावधिक हुन गई प्रभावकारी सुरक्षा व्यवस्थापन र सीमावासी नागरिकहरूसँग अन्तरक्रियाबाट सकारात्मक सम्बन्ध र सामीप्यता अभिवृद्धि भई सीमा सुरक्षामा प्रभावकारिता बढ्ने विश्वाससमेत लिइएको छ ।

सीमा गस्तीअन्तर्गत प्रत्येक बाहिनीले गण, गुल्म, प्रस्तावित सीमा सुरक्षा गुल्म, बीओपी र बेसहरूसमेतको जनशक्ति समावेश गरी सीमा क्षेत्रको दशगजा इलाकामा बन्दोबस्तीका सामग्रीसहित परिचालन हुनेछ। एक जिल्लाबाट अर्को जिल्लामा क्रस गस्ती सञ्चालन गर्ने तथा सीमा पैदल गस्तीले अर्को गस्तीसँग लिंंकअप गरी गस्तीलाई चक्रका रूपमा निरन्तरता दिनेछ।

आवश्यकताबमोजिम स्थानीयवासी, जनप्रतिनिधि, अन्य निकाय तथा समकक्षीहरूसँग भेटघाट, अन्तरक्रिया, विपद् जोखिम न्यूनीकरण, मानव बेचबिखन तथा सीमा अपराधसम्बन्धी सचेतनामूलक कार्यक्रम गर्नुका साथै तराईका जिल्लाहरूमा मात्र नभई समयको अनुकूलता हेरी अन्य सीमावर्ती जिल्लाहरूमा समेत सीमा पैदल गस्ती गरिने सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिनुभयो ।

सीमा पैदल गस्तीसम्बन्धी अवधारणा तयार पारेलगत्तै मधेस प्रदेशस्थित सशस्त्र प्रहरी बल नेपाल नं २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीले यसको सुरुआत गरेको छ । १३ नम्बर गण पर्साले सीमा सुरक्षाको संवेदनशीलतालाई मध्यनजर गर्दै सीमा नजिकका नागरिकहरूमा शान्ति सुरक्षाको प्रत्याभूति दिई सीमा स्तम्भहरूको समेत संरक्षणमा ध्यान राख्दै पैदल गस्तीको सुरुवात गरेको छ ।

सो टोलीले पर्सादेखि ठोरीसम्म पैदल गस्ती शुरू गरेको हो । गस्ती टोलीले अन्य सुरक्षा निकाय, स्थानीय प्रतिनिधि, सीमावासी नागरिक तथा भारतीय समकक्षीको उपस्थितिमा सो गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक किसन कर्माचार्यले पैदल गस्तीको शुभारम्भ गर्नुभएको हो ।

गस्तीमा तैनाथ कमान्डरसँग सीधै सम्पर्क गर्न सक्ने व्यवस्था मिलाइएको छ । कमान्डरलाई सीधै सम्पर्क गर्न मिल्ने गरी मोबाइल नम्बर उपलब्ध गराइएको छ। टोली बदलीपछि पनि सोही नम्बर उपलब्ध गराउने व्यवस्था गरेको छ। त्यसले सीमावासीहरूलाई सम्पर्क र समन्वयमा सहयोग पुग्ने विश्वास गरिएको छ । हाल सुरक्षा फौज गस्तीमा सशस्त्र प्रहरी निरीक्षकको कमान्डमा ३५ जनाको टोली हुनेछ । पहिलो चरणमा मेचीदेखि महाकालीसम्म गस्ती हुनेछ ।

चीनसँग सिमाना जोडिएका क्षेत्रमा समेत गस्ती गर्ने गरी तयारी थालेको सहायक प्रवक्ता डीएसपी थापाले जानकारी दिनुभयो । हाल चीनसँग सिमाना जोडिएको जिल्लामा ९ क्षेत्रमा बीओपी छ । बाँकी भारतसँग सीमा जोडिएको २ सय २६ स्थानमा बीओपी छ। सशस्त्र प्रहरी बलले देशैभर २ सय ५३ स्थानमा बीओपी स्थापना गरेको छ ।

गस्तीका क्रममा सीमावासी नागरिकहरूसँग अन्तरक्रिया कार्यक्रम, सीमा सुरक्षाको महत्व तथा सीमामा हुने अवैध क्रियाकलाप नियन्त्रण गर्न सशस्त्र प्रहरी बल नेपालको भूमिका र स्थानीयको सहयोगको विषयहरूमा समेत छलफल गरिएको थियो।

सीमा गस्तीको आवश्यकताअनुसार सम्बन्धित जिल्लाका गणपति, बाहिनीपति र प्रधान कार्यालयबाट समेत अनुगमन हुने सहप्रवक्ता थापाले जानकारी दिनुभयो।