परासीस्थित पृथ्वीचन्द्र अस्पतालमा आगलागी

2.82k
Shares

काठमाडौं ।

परासीस्थित पृथ्वीचन्द्र अस्पतालमा आगलागी भएको छ। अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. किरण पाण्डेका अनुसार अस्पतालको प्रयोगशालामा जडान गरिएको एयर कन्डिसन (एसी)मा विद्युत् सर्ट भई गए राति आगलागी भएको हो।

आगलागीपछि अहिले अस्पतालको इमरजेन्सी सेवा, प्रयोगशाला र फार्मेसी सेवा स्थगित भएको उनले जानकारी दिए।

‘आगलागी पछि विद्युत् काटिएको अवस्था छ । कहाँ कहाँ सर्ट छ भन्ने पनि हेरिसकिएको छैन । अब आज दिउसो विद्युतका कर्मचारीहरू आएर हेरेर विद्युत् सुचारु भएपछि मात्रै सेवा पुन सञ्चालनमा आउँछ । अहिले त ती ठाउँमा धुवा र खरानी मात्रै छ। त्यसैले केही सेवाहरू तत्कालका लागि स्थगित गरेका हौँ,’ मेसु डा.  पाण्डेले भने ।

गए राति ८ : ५० बजे तिर प्रयोगशाला कक्षको एसीबाट आगलागी सुरु भएको थियो। सोही भवनमा इमरजेन्सी र फार्मेसी भएको तथा त्यहाँ विद्युतको सप्लाई समेत नभएको कारणले तत्कालका लागि सेवा स्थगित गर्नु परेको डा पाण्डेले जानकारी दिए।

आगलागीका बेला केही बिरामी र स्वास्थ्यकर्मीहरू भवन भित्रै रहेका थिए। यद्धपी तत्कालै उनीहरूलाई सिफ्ट हुन सक्दा मानवीय क्षति भने हुन पाएन। ५० बेडको सो अस्पताल लुम्बिनी प्रदेशको पुरानो अस्पताल मध्ये पर्दछ।