ललितपुरका मेयर महर्जन र न्यूयोर्कका पर्यटन प्रवर्द्धक श्रेष्ठबीच भेटवार्ता 

98
Shares

न्यूयोर्क ।

पुरातात्त्विक एवं सांस्कृतिक सम्पदाको धनी ललितपुरमा विदेशी पर्यटकहरूको सङ्ख्या बढाउने र पर्यटकमैत्री वातावरण निर्माण गर्ने विषयमा ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन र न्यूयोर्कका नवनियुक्त पर्यटन प्रवर्द्धक गोकुल श्रेष्ठबीच छलफल भएको छ।

न्यूयोर्कमा भएको भेटमा मेयर महर्जन र पर्यटन प्रवर्द्धक श्रेष्ठले पर्यटन क्षेत्रमा गर्न सकिने सहकार्यबारे छलफल गरेका हुन्।

भेटवार्तामा मेयर महर्जनले ललितपुर महानगरपालिकालाई पर्यटक मैत्री सहरको रूपमा विकास गरिएको र थप गन्तव्यहरू पहिल्याउने काम तीव्र बनाइएको बताए। दुई पक्षीय भेटमा प्रवर्द्धक श्रेष्ठले पर्यटकका लागि आवश्यक सूचना र सडक सुरक्षाका विषयमा चासो राखेका थिए।

महानगरपालिकाले नेपाल अवतरण गर्ने विमानमा ललितपुर महानगरपालिकाका पर्यटकीय क्षेत्रका बारेमा जानकारी दिने पुस्तिका राख्ने प्रक्रिया थालेको जानकारी दिए। उनले सडकलाई सुरक्षित बनाउनका लागि महानगरले विभिन्न योजनाहरू अघि बढाएको बताए।

पुरातात्त्विक क्षेत्र, कला र संस्कृतिका धरोहरहरूको पुनर्निर्माण र संरक्षणमा शून्य सहनशीलता अपनाइएको भन्दै अन्तर्राष्ट्रिय क्षेत्रमा व्यापक प्रचार प्रसारको खाँचो रहेको उनले बताए। पर्यटन प्रवर्द्धक श्रेष्ठले यसका लागि आफूले सक्दो प्रयास गर्ने आश्वासन दिए।

पर्यटन प्रवर्द्धक श्रेष्ठलाई  बधाई दिँदै मेयर महर्जनले पर्यटन मन्त्रालय र पर्यटन बोर्ड मार्फत सहकार्य गर्न आफूहरू सधैँ तयार रहेको पनि बताए।

मेयर महर्जन विश्व बैङ्कले आयोजना गरेको यातायात व्यवस्थापन सम्बन्धी कार्यक्रममा सहभागी हुन अमेरिका गएका हुन्। संसारभरका मेयरहरूको प्रतिनिधित्व रहेको कार्यक्रममा मेयर महर्जनले नेपालको प्रतिनिधित्व गरेका छन्।