होलीमा प्रयोग हुने रङले क्यान्सर र मिर्गौलाको समस्या गराउँछ : डा.कर्ण



काठमाडौँ। 

यो वर्षको होली पर्व पहाडिभेगमा आइतबार धूमधामका साथ मनाइयो । तराई भेग र छिमेकी मुलुकहरू भारत, पाकिस्तानमा भने सोमबार मनाईदैछ ।
होलीमा प्रयोग हुने रंगका विषयमा छालारोग बिशेषज्ञ प्रा.डा. धर्मेन्द्र कर्ण भन्छन् –होली हिन्दु धर्मालम्बीहरुले परापूर्व कालदेखि मनाउँदै आएको धार्मिक तथा सांस्कृतिक परम्परागत पर्व हो । यो पर्वमा पहिला पहिला हाल प्रयोगमा आएको कलरको सट्टा  चन्दन, गुलाफ, बेसार प्राकृतिक कलर प्रयोग गरिन्थ्यो । त्यसको कुनै साईडइफेक्ट थिएन् ।  तर अहिले होलीका नाममा कतिपय विकृतिहरु भित्रिएका छन्।

यो पर्व एक आपसमा सद्भावना आदानप्रदान गर्दै संस्कृतिको जगेर्ना गर्ने र नयाँ पुस्तालाई धर्म संस्कृतिका बारेमा सही पहिचान सहित पुस्ता हस्तान्तर गरिनुपर्ने हो । यतिबेला त्यसो नभएर होलीका दिनमा काममा हिँडेका, दुःखमा परेका, बिरामी, चिकित्सक, नर्स, सवारी चालक, बटुवालाई अनावश्यक पानीमा रंग घोलेर र सुख्खा रंग छ्याप्ने र दल्ने गरिन्छ । यतिमात्र नभै बेलुनमा फोहोर तथा जुठो पानी हालेर छ्याप्ने, पिचकारीमा डढेको मोबिल, हिलो अन्य तरल पदार्थ भरेर छ्याप्ने जस्ता क्रियाकलापले जनस्वास्थ्यमा ठुलो असर पार्दछ ।

उनी भन्छन्-रङ पनि दुई खालको हुन्छ दाना खालको र मसिनो । दानाको घर्षले छालामा घाउ हुने र सङ्क्रमण हुने हुन्छ भने मसिनो रंगमा घर्षण हुँदैन र यसले चोट लाग्दैन । खस्रो रंगको दाँजोमा मसिनो रंग छालामा चोट नपुग्ने राम्रो मानिन्छ भने दाना बठी खतरा हुन्छ ।

डा.कर्णका अनुसार सकेसम्म मानव सरिरमा रंग प्रयोग नगर्दा राम्रो। प्रयोग गर्नै परे गुलाबी रंगको कलर राम्रो हुन्छ । निलो, कालो, पंहेलो रंग मानव शरीरको लागि निकै हानिकारक हुन्छ, यसमा अद्रक मिसेको हुन्छ । कलरमा विभिन्न किसिमको धातु मिसावट गरिएको हुन्छ ।

 उक्त धातुले छाला हुँदै किड्नीमा समेत असर गर्छ । यस्तो रंगको प्रयोग लामो समय गर्नाले क्यान्सर समेत हुन्छ । छालामा समस्या छ भने बल्झने हुन्छ । सुख्खा छाला छ भने एलर्जी हुन सक्छ । आँखाभित्र पस्यो भने आँखा पाक्ने हुन्छ र कहिलेकही आँखा नै नदेख्ने सम्मको समस्या आउँछ । शरिको छालामा भएको एलर्जीका कारण दीर्घकालसम्म पनि दागहरु बस्न सक्छ । छालारोग विशेषज्ञ डा.कर्ण भन्छन् ।

रंगको एलर्जी हुनबाट जोगिनका लागि होलीको रंग चलाउनु अघि तेल, क्रिम लगायो भने रंगहरु शरीर भित्र प्रवेश गर्न पाउँदैन । होली खेल्दा पुरा शरीर ढाक्ने कपडा लगाउनुपर्छ । रंग चलाएको एक घण्टाभित्र नुहाउनुपर्छ । नुहाउँदा शरीरलाई धेरै माड्नु हुँदैन त्यसो गर्दा रंगको कारणले छाला खुइलिने र थप सङ्क्रमण हुन सक्छ । त्यसैले साधा पानीले पखाल्ने त्यसो गर्दा रंग गएन भने बेबी सेम्पु र साबुन लगाएर पखाल्नुपर्छ ।

होली खेल्दा गरगहना नलगाउँने, रंग एक घण्टा भन्दा बढी नराख्ने । नुहाउँदा खलखल पखाल्नुपर्छ । धेरै बेस्सरी माड्नुहुन्न र बेबी सेम्पुले नुहाउनु राम्रो हुन्छ । नुहाइसकेपछि तेल अर्थात् मस्टराईज प्रयोग गर्नुपर्छ । यसो गर्नाले छालाको समस्या हुनबाट जोगिने डा.कर्ण बताउँछन्  ।

प्रतिक्रिया दिनुहोस्