काठमाडौं ।
इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट प्रतियोगिताको १७ औँ संस्करण शुक्रबारदेखि सुरु हुँदैछ। आईपीएलको यो नयाँ सिजनमा १० टोलीको सहभागिता रहेको छ। आईपीएल यस पटक नयाँ ढाँचामा सञ्चालन हुँदै छ।
यसअघि १६ औं संस्करणसम्म सहभागि टोलीलाई एउटै समूहमा राखेर खेलाइने गरेको थियो। हालको नयाँ ढाँचा अनुसार सहभागिता १० टोलीलाई दुई समूहमा विभाजन गरिएको छ।
समूह ए मा मुम्बई इन्डियन्स, राजस्थान रोयल्स, कोलकाता नाइट राइडर्स, दिल्ली क्यापिटल्स र लखनउ सुपर जायन्टस् रहेका छन्। समूह बी मा सनराइजर्स हैदराबाद, गुजरात टाइटन्स, रोयल च्यालेन्जर्स बैंग्लुरु, पञ्जाब किंग्स र चेन्नाई सुपर किंग्स रहेका छन्।
यसमा आफ्नो समूहमा एक अर्का टोलीले एक चोटी मात्रै खेल्ने हुँदा एक टोलीले चार खेल खेल्नेछ। तर, एक समूहको टोलीले अर्को समूहको टोलीसँग होम र अवे गरी दुई–दुई खेल खेल्नेछ। यसअनुसार एक टोलीले १४ खेल खेल्नेछ भने समूह चरणमा कूल ७० खेल हुनेछ।
तर, अंकतालिका भने एउटै हुनेछ र त्यसैमा शीर्ष चार टोली छनोट हुनेछन्। शीर्ष चारमा पहिलो र दोस्रो हुने टोलीले सीधै फाइनलको लागि प्लेअफ खेल्नेछ। जितेको टोली फाइनल पु्ग्नेछ भने हारेको टोलीको एक अवसर हुनेछ।
यसपछि तेस्रो र चौथो टोलीबीच पहिलो एलिमिनेटेड खेल हुनेछ। जित्ने टोली र प्लेअफमा हारेको टोलीबीच फाइनलको लागि दोस्रो एलिमिनेटेड खेल हुनेछ।
प्रतियोगिताको उद्घाटन खेलमा आज साबिक विजेता चेन्नई सुपर किङ्स र रोयल च्यालेन्जर्स बैंग्लुरु भिड्ने छन्। चेन्नई र बैंग्लुरुबीचको खेल नेपाली समयअनुसार राति ८:१५ बजेदेखि सुरु हुनेछ।
उक्त खेलअघि चेन्नईस्थित एमए चिदम्बरम क्रिकेट रंगशालामा प्रतियोगिताको भव्य उद्घाटन समारोह आयोजना गरिनेछ। उद्घाटन समारोहमा बलिउडका चर्चित हस्तीहरुले पनि आफ्नो प्रस्तुति दिने भारतीय सञ्चार माध्यमले जनाएका छन्।
प्रतिक्रिया