क्षेत्रीय चुनौतीको सामना गर्न सामूहिक प्रयत्नको आवश्यकता : परराष्ट्र सचिव लम्साल


काठमाडौं  । 

परराष्ट्र सचिव सेवा लम्सालले अहिले विश्वमा चर्किरहेको युद्धका कारण आर्थिक संकट तथा शान्ति सुरक्षामा चुनौतीको सामना गर्नु परिरहेको बताउँदै यसको सामना गर्न सबैको सामूहिक प्रयत्न आवश्यक रहेको बताउनुभयो ।

परराष्ट्र मामिला अध्ययन प्रतिष्ठान र इन्डोनेसियाको प्रराष्ट्र मन्त्रालयले संयुक्त रुपमा बुधवार राजधानीमा आयोजना गरेको कार्यक्रममा प्रराष्ट्र सचिव लम्सालले यस क्षेत्रको आर्थिक संकट र शान्ति सुरक्षामा देखिएको चुनौतीको सामना गर्न सामूहिक प्रयत्नको आवश्यकयता औँल्याउनुभएको हो ।

कार्यक्रममा उहाँले इन्डोनेसिया र नेपाल दुवै राष्ट्रमा बहुभाषिक, बहु धार्मिक, बहु सांस्कृतिक लगायतका विषयहरू समान रहेको जिकिर गर्दै त्यसले लोकतन्त्रलाई थप बलियो बनाउँदै लगिरहेको बताउनुभयो । उहाँले नेपाल र इन्डोनेसियाबिच सन् १९६० मा कूटनीतिक सम्बन्ध स्थापना हनुअघिदेखि नै सम्बन्ध रहिआएको पनि स्मरण गराउनुभयो ।

कार्यक्रममा नेपालका लागि इन्डोनेसियाका गैर आवासीय राजदूत हेरु एच. सुबोलोले लोकतन्त्रको क्षेत्रमा नेपाल र इन्डोनेसियाले गरिरहेको कामको प्रशंसा गर्नुभयो । उहाँले लोकतन्त्रको प्रबद्र्धनका लागि इन्डोनेसियाले ‘समावेशी समाजमा लोकतन्त्रसम्बन्धी संवाद’ कार्यक्रम हरेक वर्ष गर्दै आइरहेको पनि जानकारी दिनुभयो । कार्यक्रममा नेपाली कूटनीतिज्ञ, प्राज्ञिक वर्गका साथै इन्डोनेसियाबाट आएका कूटनीतिज्ञ, अनुसन्धानकर्ता, प्राध्यापक र पत्रकार लगायतको टोलीको सहभागिता थियो ।