चार सय बढी कुकुरको स्थायी बन्ध्याकरण

1.8k
Shares

लमजुङ ।
लमजुङमा कुकुर र बिरालोको स्थायी बन्ध्याकरण गरीएको छ । जिल्लाका चार स्थानिय तहहरुमा अभियाननै संचालन गरी कुकुर र विरालोको स्थायी बन्ध्याकरण गरीएको हो । उक्त बन्ध्याकरणमा ६ विरालो सहित चारसय ४५ कुकुरको स्थायी बन्ध्याकरण गरीएको छ ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र लमजुङका अनुसार पछिल्लो पटक भएको शिविरमा सुन्दरवजार नगरपालिकामा एकसय ३९ कुकुरको स्थायी बन्ध्याकरण गरीएको छ । रेविज नियन्त्रणका लागी राष्ट्रिय कार्यक्रम अन्तर्गत जिल्लामा अभियानकै रुपमा कुकुर विरालो स्थायी बन्ध्याकरण शिविर आयोजना गरीएको भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र लमजुङका प्रमुख डा. सुनिल न्यौपानेले जानकारी दिनुभयो ।

कार्यालयले यसअघि दोर्दी गाउँपालिका, जिल्ला सदरमुकाम बेसीशहर र मध्यनेपालको दुई स्थानमा शिविर संचालन गरेको थियो । कार्यालयका अनुसार दोर्दीमा ४० वटा कुकुरको स्थायी बन्ध्याकरण भएको थियो । त्यसै गरी बेसीशहरमा पाँच विरालो सहित एकसय ११ कुकुर विरालोको स्थायी बन्ध्याकरण गरीएको थियो । मध्यनेपालमा पनि एक विरालो सहित एकसय ५५ कुकुर विरालोको निशुल्क स्थायी बन्ध्याकरण भएको कार्यालयले जनाएको छ । मध्यनेपालमा भोर्लेटार र सोतीपसलमा छुट्टाछुट्टै शिविर भएको थियो ।

पछिल्लो समय जिल्लामा घरपालुवा तथा सामूदायिक कुकुरहरुको संख्या वृद्धि हुदै गएसँगै रेबिज नियन्त्रणका लागि निशुल्क बन्ध्याकरण शिविर आयोजना गरिएको कार्यालयले जनाएको छ ।

समूदायमा प्रत्यक्ष वा अप्रत्यक्षरुपमा जंगली तथा घरपालुवा जनवारको प्रभाव पर्ने भएकोले संक्रामक रोग नियन्त्रणका लागी शिविर उपयोगी हुने कार्यालय प्रमुख डा. न्यौपानेको भनाई छ । स्थायी वन्ध्याकरण गरी कुकुरहरुको संख्या नियन्त्रण गर्नसके मात्र पनि रोग संक्रमणमा कमी आउने पशु चिकित्सकहरुको भनाई छ ।