लागु औषध दुर्व्यसनीविरुद्ध हस्ताक्षर अभियान 

448
Shares

उदयपुर ।

उदयपुरको गाईघाटमा बुधवार लागु औषध दुर्व्यसनी विरुद्धको साझा प्रतिबद्धता सहितको हस्ताक्षर अभियान सञ्चालन भएको छ ।

नेपाल प्रहरी श्रीमती संघको आयोजनामा भएको सो कार्यक्रममा प्रमुख अतिथि नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष लक्ष्मी कुँवरले लागु औषधका कारण समाज र देशले नै पीडा भोगी रहेका कारण विद्यालय तहको कक्षा ५ देखि १२ कक्षासम्मका विद्यार्थीहरूलाई शिक्षा दिनु पर्ने आवश्यकता औँल्याउनु भएको छ ।

आफ्ना छोराछोरीहरूलाई लागु औषधको दूव्र्यसनमा लाग्न नदिन अभिभावकहरू पनि सचेत हुनु पर्ने र आफ्ना छोराछोरीहरूले गर्ने क्रियाकलापमा ध्यान दिनुका साथै उनीहरूको आनीबानी तथा बाह्य गतिविधिमा ध्यान दिएका खण्डमा लागु औषधको कुलतबाट बचाउन सकिने धारण व्यक्त गर्नु भयो ।

त्रियुगा नगरपालिकाका मेयर वसन्त बस्नेतको अध्यक्षतामा भएको सो कार्यक्रममा बस्नेतले आफू पनि लागु औषध सेवन कर्ताको व्यवहारबाट पीडित भएको र आफ्नै घरमा पहिले सो अवस्था रहेकोमा अहिले छुटकारा पाएको बताउँदै त्रियुगा नगरपालिकाले कक्षा १ देखि ५ सम्मको पाठ्यक्रममा लागु औषध सम्बन्धी विषय समावेश गरेर पढाउने काम भइरहेको बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले प्रहरी तथा स्थानीय प्रशासनले दण्ड र जरिवाना गरेर मात्र लागु औषध नियन्त्रण गर्न नसकिने भएकोले सिङ्गो समाज र स्थानीय तहले नै अग्रसर हुनु पर्ने कुरामा जोड दिनु भयो ।

गार्यघाटका पिपल चोकबाट विभिन्न नारा लेखिएको प्लेकार्ड व्यानर ¥याली सहित निस्केको जुलुसले नगर परिक्रमा गरेको थियो । नगर परिक्रमा पश्चात् नगरपालिकाको सभाकक्षमा आयोजित सो अन्तरक्रिया कार्यक्रममा त्रियुगा नगरपालिका उप मेयर महेश्वरी राई , उदयपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रमेश थापा, नेपाल पत्रकार महासंघका अध्यक्ष भरत खड्का सञ्चारकर्मी तथा रेडियो उदयपुरकी बन्दना दनुवार, वडा नं ११ का टोल विकास समितिका अध्यक्ष तथा अभियन्ता राम बस्नेत , ११ नं का वडाध्यक्ष सुमन्त कोइराला, ७ नं वडाध्यक्ष अम्बर बहादुर दनुवार, १३ नं वडाध्यक्ष नवीन चौधरी, ४ नं वडाकी अभियन्ता कल्पना राई लगायतकाले लागु औषध नियन्त्रणका बारेमा आ आफ्नो धारणा राखेको थिए । कार्यक्रम समापन पश्चात् सहभागी सबैले लागु औषध दूव्र्यसनीका विरुद्धमा प्रतिबद्धता स्वरूप हस्ताक्षर गरेका थिए ।