प्रहरीले गोली चलाएर बरहथवाबाट भारतीय गिरोह पक्राउ


सर्लाही ।

भारतीय प्रहरीको खोजीमा रहेका दुई जना भारतीय गिरोहलाई नेपाल प्रहरीले सोमबार राति सर्लाहीको बरहथवाबाट पक्राउ गरेको छ।

पक्राउ गर्न गएका प्रहरीमाथि गोली प्रहार गरेर भाग्न खोजेका भारतीय नागरिक बिहार सीतामढी सैयाराग्राम घर भएका २८ वर्षीय सन्नीकुमार सिंह र मोतीहारी गंगा पिपराका २४ वर्षीय जितेन्द्र राउतलाई खुट्टामा गोली हानेर पक्राउ गरिएको सर्लाहीका प्रहरी प्रबक्ता प्रहरी नायब उपरीक्षक दिपेन्द्र पंजियारले जानकारी दिए।

बरहथवा नगरपालिका–६ मा डेरा गरी बसिरहेका उनीहरूको साथबाट प्रहरीले ९ एमएम प्रिस्टन पेस्तोल म्यागजिन र त्यसमा लाग्ने गोली बरामद गरेको छ। भारतमा उनीहरु माथि ब्यक्ति हत्या, डाँका ,लुटपाट लगायत अपराधको मुद्दा रहेको प्रहरीले जनाएको छ। प्रहरीको गोली लागेर घाइते भएका जितेन्द्रको प्रादेशिक अस्पताल मलंगवामा उपचार भइरहेको छ । पक्राउ परेका दुबै जनामाथि अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।