सुन तस्कर दावासँग कनेक्सन देखिएका तत्कालीन महानिर्देशक अधिकारीको मोबाइल रिपोर्ट गायब

714
Shares

काठमाडौं ।

राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारी र साढे ६१ किलो सुन तस्करीका मुख्य योजनाकारमध्येका एक दावा बेल्जियम नागरिक दावा छिरिङबीचको गहिरो कनेक्सन पुष्टि हुने प्रमाणहरू गायब पारिएको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को तत्कालीन नेतृत्वले अधिकारीको मोबाइल रिपोर्ट गोप्य राखेर अधिकारीलाई उन्मुक्ति दिने प्रयास गरेको थियो । तत्कालीन समयमा सीआईबीले पूर्व न्यायाधीश डिल्लीराज आचार्यको नेतृत्वमा गठित उच्चस्तरीय जाँचुझ आयोगलाई समेत अधिकारीको मोबाइल रिपार्ट नदिएर असहयोग गरेको थियो ।

अधिकारी राजस्व अनुसन्धान विभागमा भएकै समयमा सुन तस्कर दावा छिरिङसँग विच्याटमा लामो कुराकानी गर्ने गरेको र व्यावसायिक डिलिङसमेत गर्ने गरेको विवरण सार्वजनिक भएको थियो। त्यतिबेला भने अधिकारी राजस्व अनुसन्धान विभागबाट सरुवा भएर गृह मन्त्रालयअन्तर्गतको अध्यागमन विभागको महानिर्देशकको रूपमा आइसक्नुभएको थियो।

आचार्य आयोगले अधिकारीमाथि पुनः नयाँ किसिमले छानबिन गर्न सिफारिस गरे पनि सीआईबीले उहाँलाई पक्राउ गरी छानबिन शुरू गर्न सकेको छैन। हालका गृहमन्त्री रवि लामिछानेले नै अधिकारी र दावाबीच कनेक्सन रहेको प्रमाणसहितको सूचना तत्कालीन गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई उपलब्ध गराउनुभएको थियो । तर, हाल लामिछाने आफैं गृहमन्त्री भएर आइसक्दासमेत अधिकारीमाथिको छानबिनलाई तीव्रता दिन सक्नुभएको छैन ।

दावाले अधिकारीलाई रकम र व्यवसायको राम्रै अफर गरेको विषयसमेत खुल्न आएको थियो। आचार्य आयोगले सीआईबीसँग सह–सचिव अधिकारीको मोबाइल जाँच रिपोर्ट मागेको थियो । तर, सीआईबीले अधिकारीको मोबाइलको डिजिटल फरेन्सिक ल्याब रिपोर्ट गोप्य राख्दै आयोगलाई नदिएपछि आयोगले अधिकारीमाथि विस्तृत छानबिन गर्न सकेको थिएन।

आयोगका अनुसार आयोगले लिखित पत्राचार तथा पटकपटक मौखिक आग्रह गर्दासमेत सीआईबीले डीएफएल रिपोर्ट दिन इन्कार गरेर आयोगलाई असहयोग गरेको थियो ।

सीआईबीले विभिन्न दबाबका कारण अधिकारीलाई मुद्दा नचलाउने निर्णय गरेको थियो । तर, सुन जाँचबुझ आयोगले भने अधिकारीमाथि पुनः गम्भीर छानबिन जरुरी रहेको निष्कर्ष निकालेको थियो।

आयोगले गरेको जाँचका क्रममा पानी तान्ने मेसिनभित्र लुकाएरसमेत सुन तस्करी भएको हुनसक्ने देखिएको थियो। अधिकारीले दावालाई विच्याटमा पठाएको विवरणमा पानी तान्ने मेसिनको फोटो पठाएकाले तस्करी सञ्जालमा अधिकारीको पनि संलग्नता रहेको पाइएको आयोगको निष्कर्ष छ। अधिकारीको मोबाइल रिपोर्टका आधारमा अनुसन्धान अझै माथिसम्म पुग्न सक्ने भए पनि रिपोर्ट नपाएकाले त्यस्तो हुन नसकेको आयोगले जनाएको छ।

हाल गृहमन्त्री रवि लामिछानेको निर्देशनपछि सीआईबीले सुन तस्करी प्रकरणमा नयाँ किसिमले छुट्टै छानबिन थालिसकेको छ । नयाँ छानबिनमा तत्कालीन महानिर्देशक अधिकारीमाथि समेत पुनः छानबिन हुने प्रहरी स्रोतले जानकारी दिएको छ । स्रोतका अनुसार तत्कालीन समयमा सीआईबीले अधिकारीको संरक्षण गर्ने किसिमले अनुसन्धानको नाटक मात्रै गरेको थियो । सीआईबीको अनुसन्धानको विश्वसनीयतामाथि त्यतिबेला ठूलो प्रश्न सिर्जना भएको थियो ।

जाँचबुझ आयोगले समेत सीआईबीको अनुसन्धानमा गम्भीर त्रुटि देखिएको निष्कर्षसहित आयोगले ब्युरोका तत्कालीन प्रमुख एआईजी किरण बज्राचार्य, एसपी सञ्जयसिंह थापा, डीएसपी दुर्गा दाहाल र रुगम कुँवरलाई कारबाही गर्न सिफारिस गरेको छ। सो अनुसार गृह मन्त्रालयले उनीहरूलाई जिम्मेवारीबाट मुक्त गरिसकेको छ।

अधिकारीमाथि अख्तियारको पनि छानबिन

सुन तस्करी प्रकरणमा पुनः सीआईबीद्वारा छानबिनमा परेका अधिकारीमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत अकुत सम्पत्तिमा छानबिन जारी राखेको छ । अख्तियारले त्यतिबेला नै सुन तस्करीमा मुछिएका अधिकारीसहित सबै कर्मचारीमाथि छानबिन गर्ने निर्णय गरेको थियो।

अख्तियारले अधिकारीको सम्पत्तिको बारेमा छानबिन जारी राखिएको बताएको छ । सुन तस्करसँग कनेक्सन देखिएका अधिकारीको पोखरा र काठमाडौंका विभिन्न होटलमा लगानी रहेको सूचनाका आधारमा अख्तियारले छानबिन गरिरहेको जनाइएको छ ।