मणिमुकुन्दले न्यूटनलाई हरायो



काठमाडौं ।

मणिमुकुन्द भलिबल क्लबले आठौं आरबीबी–एनभीए महिला तथा पुरुष भलिबल प्रतियोगिताको पुरुषतर्फ जित हासिल गरेको छ। आइतबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिरषदको कभर्ड हलमा भएको खेलमा मणिमुकुन्दले न्यूटन भलिबल क्लबलाई ३–० सेटले हराएको हो।

यसअघिको खेलमा बुढानिलकण्ठ भलिबल क्लबले कर्णाली प्रदेशलाई ३–० कै सोझो सेटमा पराजित गरेका थियो । पुरुषतर्फको अर्को खेलमा सुदूरपश्चिम प्रदेशले जावलाखेल भलिबल क्लबलाई ३–० कै सेटले माथ खुवायो ।

महिलातर्फ साविक विजेता नेपाल पुलिस क्लबले विजयी सुरुवात गर्ने क्रममा कर्णाली प्रदेशलाई ३–० को सोझो सेटमा पराजित गरेको थियो । कर्णालीले यस प्रतियोगितालाई राष्ट्रपति रनिङशिल्डको तयारीको रुपमा लिएको छ।

नेपाल भलिबल संघको आयोजना तथा राष्ट्रिय वाणिज्य बैंकको मुख्य प्रायोजनमा आठ दिनसम्म चल्ने प्रतियोगितामा महिलातर्फ ७ र पुरुषतर्फ १३ टोलीको सहभागिता छ । दुवैतर्फको विजेता टोलीले ५ लाख, दोस्रो टोलीले २ लाख र तेस्रो टोलीले १ लाख २५ हजार रुपैयाँ प्राप्त गर्नेछ।

प्रतिक्रिया दिनुहोस्