नेपाल–जापान सम्बन्धमा नेपाली समाज उदाहरणीय छ : राजदूत सुवेदी

518
Shares

जापान ।
जापानका लागि नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदीले जापानमा रहेको नेपाली समाजले नेपाल–जापान सम्बन्ध विस्तारमा पु¥याउँदै आएको योगदान उदाहरणीय रहेको बताएका छन् । दुई देशबीचको सम्बन्ध विस्तारमा जापानस्थित नेपाली समाजले हासिल गरेको उचाईबाट जापान सरकार तथा यहाँको समाजले नेपाली परिचय र पहिचान दिलाउन सफल भएको उनले बताए ।
राजदूत डा. सुवेदीले नेपाल–जापानबीचको सांस्कृतिक, धार्मिक र जनस्तरमा सम्बन्ध विस्तारमा यहाँको नेपाली समाजले उल्लेख्य भूमिका निर्वाह गरेको बताए । जापानमा हाल करिब एक लाख ६३ हजारको सङ्ख्यामा नेपाली रहेको अनुमान गरिएको छ । नेपालीहरु विभिन्न पेसा व्यवसाय, रोजगारी र अध्ययनका सिलसिलामा जापानमा बस्दै आएका छन् ।
उच्च शिक्षा अध्ययन र रेष्टुराँ व्यवसायमा संलग्न नेपालीको सङ्ख्या बढी छ । जापानमा हाल करिब ४० हजार नेपाली विद्यार्थी उच्च शिक्षा अध्ययनमा छन् भने करिब आठ सयको सङ्ख्यामा नेपाली रेष्टुराँ सञ्चालनमा रहेको बताइएको छ । त्यहाँका रेष्टुराँ नेपाली पहिचान झल्कने रातोमाटो, निम्तो, चिनो, आँगन, हार्दिक, नेपाली खाजाघरजस्ता नामाकरण दिएर सञ्चालन गरिएको पाइन्छ । नेपाली दालभात तरकारीका अलवा कोदो र फापरको ढिँडो, मःमजस्ता परिकार र व्यञ्जनले नेपाली खानालाई जापानमा समेत परिचय गराएको राजदूत डा. सुवेदी बताए ।
  “जापानमा रहेको नेपाली समाज अन्य देशको तुलनामा सु–सङ्गठित, सुविचारित र समृद्ध हुँदै गएको छ”, राजदूत डा सुवेदीले भने ।  गैरआवासीय नेपाली सङ्गठन (एनआरएन)का पूर्वअध्यक्ष भवन भट्ट तथा मनि एक्सचेन्जका क्षेत्रका ओम गुरुङ, रवीन शेरचन, महेशलाल श्रेष्ठ एवं व्यापार तथा व्यवसाय क्षेत्रमा भूषण घिमिरे, शिवप्रसाद पौडेललगायत जापानमै ख्याति कमाएका छन् ।
अहिले जापानमा रहने नेपाली कुक अथवा वेटर मात्र नभई विभिन्न क्षेत्र तथा ठूला र स्थापित पेसा व्यवसायमा अघि बढिरहेका छन् । जापानमा प्रा.डा. केशवलाल महर्जन, प्रा.डा नेत्रप्रकाश भण्डारी, प्रा डा रमेश पोखरेल, प्रा.डा प्रमिला न्यौपानेलगायत प्राध्यापनमा संलग्न छन्। स्वास्थ्यदेखि इन्जिनियरिङ, वातावरणका क्षेत्रसम्ममा समेत विद्यावारिधि गर्ने क्रममा नेपाली विद्यार्थी रहेका छन ।
  राजदूत डा सुवेदी भने, “हामीले गौरव गर्नुपर्छ । नेपालीहरु विद्या र वृद्धिको क्षेत्रमा प्रखररुपमा अघि बढी रहेका छन् । नेपाली प्रकृति, संस्कृति, कला र साहित्यको अनुसन्धानमा त्यतिकै समर्पित छन् ।” नेवारी संस्कृतिमा मात्र नभई नेपालका कुना कन्दरामा पुगेर मगर भाषामा विद्यावारिधि गर्ने समेत जापानी नागरिक रहेका राजदूत डा सुवेदी बताए ।
“नेपालको प्रकृतिदेखि, कला, सङ्गीत, संस्कार, धर्म र संस्कृतिसम्म अनुसन्धान गर्ने जापानी रहेका छन्”, उनले भने । नेपाल–जापानबीचकोे अनुपम सम्बन्ध र सहयोगलाई जापानले सदासर्वदा उच्च प्राथमिकतामा राख्दैआएको छ । जापानले नेपालको शिक्षा, स्वास्थ्य, सडक, हवाई, सडक, कृषि, पूर्वाधारलगायतका क्षेत्रमा लामो समयदेखि  सहयोग पु¥याउँदै आएको उनले उल्लेख गरे ।
  नेपाल र जापानबीच सन् १९५६ सेप्टेम्बर १ तारिखमा औपचारिकरुपमा कूटनीतिक सम्बन्ध स्थापना भएको हो । तर करिब डेढ सय वर्ष अघिदेखिनै दुवै देशबीच सम्बन्ध ऐतिहासिक र प्रगाढ थियो । त्यसअघि सन् १८९९ मा जापानका बौद्ध भिक्षु एकाइ कावागुचीले बौद्धधर्म ग्रन्थको अनुसन्धानका सिलसिलामा नेपालको भ्रमण गरेका थिए ।
  राणाकालमा आठ विद्यार्थीलाई खनिज, मेकानिकल, खरखजाना, प्रविधि र कृषिबारे उच्च शिक्षा अध्ययनका लागि जापान पठाइएको इतिहास छ । शैक्षिक हिसाबले त्यो घटना निकै महत्वपूर्ण विषय हो । तत्कालीन सरकारले ती विद्यार्थीका लागि खाना पकाउने भान्सेसहित पानीजहाज चढाएर अध्ययन गर्न जापान पठाएको थियो । उनीहरु नेपाल फर्कने क्रममा जापानबाट उन्नत जातको गोदावारी फूल र हलुवावेद नेपाल ल्याएको बताइन्छ ।
नेपाल र जापानबीच दौत्य सम्बन्धको नो वर्षपछि टोकियोमा नेपाली दूतावास स्थापना भएको हो ।  त्यसको लगत्तै जापानले काठमाडाँैमा आफ्नो दूतावास खोलेको थियो । नेपालका सबै राजनीतिक परिवर्तनलाई जापान सरकार र जापानी जनताले आत्मसात् गर्दै सम्मान र स्वीकार गर्दैआएका छन् । अनुशासित र मेहनती जनता, नवीनतम उच्च प्रविधिको प्रयोग र शान्त कूटनीतिका माध्यमद्वारा अघि बढिरहेको जापान विश्वका सबै मुलुकका लागि आकर्षण र अध्ययनको केन्द्र बनेको छ ।
कुलेखानी जलविद्युत् आयोजना, महाराजगञ्ज शिक्षण अस्पताल, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको राडार जडान, रेडियो नेपालको भवन, सिन्धुली–बर्दिवास विपी राजमार्ग र नागढुङ्गा सुरुङ नेपालको विकासमा जापानी सहयोगका उदाहरण भएको राजदूत डा सुवदी बताए । कुनै रणनीतिक उद्देश्य नराखी केवल नेपाली जनता र नेपालको आर्थिक तथा सामाजिक विकासलाई केन्द्रित गरी जापानले निरन्तर सहयोग गर्दैआएको उहाँले बताए । सरकारीसगै जनस्तरमा रही आएको घनिष्ट र प्रगाढ  सम्बन्धकै कारण ठूलो सङ्ख्यामा नेपाली जापान पुगेका हुन् ।
विदेशी मुलुकमा नेपाली पाठ्यक्रमका आधारमा पठनपाठन हुँदैआएको टोकियोस्थित एभरेष्ट इन्टरनेसनल स्कुलले पनि जनस्तरमा दुई देशबीचको सम्बन्ध विस्तारमा सेतुको काम गरेको छ । त्यस विद्यालयलाई जापानले अन्तर्राष्ट्रियस्तरको विद्यालयको मान्यता प्रदान गरेको विद्यालयका  प्राचार्य विष्णुप्रसाद भट्ट बताए । टोकियोस्थित नेपाली समाजकै अग्रसरमातामा खोलिएको सो विद्यालयमा हाल कक्षा १ देखि १२ सम्म नेपालकै पाठ्यक्रमका आधारमा पठनपाठन भइरहेको छ ।
उक्त विद्यालयले नेपाली भाषा, साहित्य, शिक्षा, वेशभूषा, परम्परा, रहनसहन, कला, संस्कृति र सभ्यतालाई विश्वसमुदायमा पु¥याउन योगदान पु¥याइरहेको संस्थापक सदस्य एवं विद्यालय सञ्चालक समिति सदस्य भूषण घिमिरेले बताए । विद्यालयमा हाल जापानीसहित ४५० विद्यार्थी अध्ययनरत छन् ।
टोकियोमा नेपाली पाठ्यक्रमअनुरुप पढाइ हुने विद्यालय सञ्चालन गरी नेपालीपन र नेपाली मन बचाउने कार्यमा नेपाली समाजले गरेको कार्य आदरणीय रहेको राजदूत डा. सुवेदीले बताए । सन् १९९० मा जापानमा नेपाली समाज गठन भएको हो ।