पछिल्ला दिनहरुमा लागूऔषध गाँजा विरूद्ध प्रहरी आक्रामक 



काठमाडौं । 
धादिङको गजुरीबाट लागूऔषध गाँजा ६२० किलो ४४ ग्रामसहित सर्लाही लालबन्दीका २९ वर्षीय सन्तोष कुमार साह फागुन १५ गते पक्राउ परे । मधेश प्रदेश ०३-००१ ख ८३०९ नम्बरको मिनि ट्रकमा कबाडीको सामानभित्र लुकाई राखेको उक्त गाँजासहित ट्रकका चालक साहलाई प्रहरीले पक्राउ गरेको हो ।
चितवनको झुरझुरेबाट धनकुटाका ३२ वर्षीय रमेश नाथ दाहाल र कपिलवस्तुका २५ वर्षीय शुसिराम थारू लागूऔषध गाँजा ५४४ किलोसहित फागुन ७ गते पक्राउ परे । यसैगरी धनकुटा भेडेटार चोकबाट को।१ ख ७३२२ नम्बरको इन्धन बोक्ने ट्याङकरबाट लागूऔषध गाँजा ५९४ किलोसहित भारत अररियाका ४४ वर्षीय नईम खान समेत ४ जना फागुन २ गते पक्राउ परे । यस्तै सुनसरीबाट धरान बस्ने २५ वर्षीय सूर्य राई र भोजपुरका २७ वर्षीय लक्ष्मण राई लागूऔषध गाँजा ४०६ किलो ९४० ग्रामसहित फागुन १ गते पक्राउ परे ।
विगत १५ दिन भित्रै गाँजासहित पक्राउ परेका उल्लेखित व्यक्तिहरू प्रतिनिधि पात्र मात्रै हुन् । ठूलो परिमाणको गाँजासहित पक्राउ पर्नेहरूको सूचि लामो छ । अवैध गाँजाको कारोबारमा संलग्न अभियुक्त पक्राउ संख्या बढ्नुको कारण प्रहरी सक्रियता नै प्रमुख हो । यसले गाँजा कारोबार नियन्त्रणमा उल्लेख्य सफलता मिलेको छ । चालु आर्थिक वर्षको साउनदेखि माघसम्म ७ महिनाको अवधिमा लागूऔषध गाँजा प्रयोगकर्ता, कारोबारी र ओसार पसारमा संलग्न ५१३ जना पक्राउ परेका छन् । पक्राउ परेकामध्ये ४५८ जना पुरूष र ५५ जना महिला रहेका छन् । तीमध्ये १४ जना १८ वर्ष मुनिका छन् भने ४९९ जना १८ वर्ष माथिका रहेका छन् ।
पछिल्लो समय गाँजा बोक्न इन्धन बोक्ने गाडी, सेफ्टी ट्याङ्कर तथा एम्बुलेन्स जस्ता शंका नहुने सवारी साधनहरू समेत प्रयोग गर्ने गरेको पाइन्छ । यस प्रति सचेत रहेर प्रहरीले लागूऔषध नियन्त्रण, रोकथाम तथा कारोबारमा संलग्नलाई कानूनी दायरामा ल्याउन आधुनिक सूचना संयन्त्रको प्रचुर प्रयोग गर्दै नयाँ विधि, प्रविधि र साधन स्रोतको परिचालन गरी विशेष अभियान नै अगाडि बढाएको छ । नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक भिम प्रसाद ढकाल भन्नुहुन्छ, “विशेष गरी नवयुवाहरूलाई लागूऔषध गाँजाको कुलतबाट बचाउन सचेतना आवश्यक छ । आफ्ना नानीहरूलाई कुलतबाट जोगाउन अभिभावक र स्कुलको भूमिका महत्वपूर्ण हुन्छ ।
यसका लागि नागरिक समाज पनि सम्वेदनशील भएर लाग्नुपर्ने हुन्छ । गाँजा उत्पादन, बिक्री वितरण वा सेवन गरेको थाहा भएमा प्रहरीलाई खबर गर्न अनुरोध छ । पछिल्ला दिनहरूमा प्रविधिको प्रयोग गर्नुको साथै शंका नहुने ठाउँहरूमा पनि पहुँच पुर्‍याएर लागूऔषध जस्तो अन्तर्राष्ट्रिय समस्यालाई निराकरण गर्न प्रहरी आक्रामक रूपमा प्रस्तुत भएको छ ।”
चालु आर्थिक वर्षको साउनदेखि माघसम्म ७ महिनाको अवधिमा ९ हजार ५७३ किलो २११ ग्राम २७५ मिलिग्राम गाँजा बरामद भएको छ । यसैगरी आर्थिक वर्ष २०७९र०८० मा २० हजार ६६९ किलो ९४१ ग्राम ५११ मिलिग्राम, आर्थिक वर्ष २०७८र०७९ मा ११ हजार ८२ किलो, ३६३ ग्राम ६५३ मिलिग्राम, आर्थिक वर्ष २०७७र०७८ मा ८ हजार २३४ किलो, ७७४ ग्राम ५४३ मिलिग्राम, आर्थिक वर्ष २०७६र०७७ मा ४ हजार ३७० किलो, २७३ ग्राम ३९९ मिलिग्राम र आर्थिक वर्ष २०७५र०७६ मा १० हजार ३६२ किलो, ८६६ ग्राम २५५ मिलिग्राम गाँजा बरामद भएको थियो । तथ्याङ्क विश्लेषण गर्दा आर्थिक वर्ष २०७९र०८० मा सबै भन्दा बढि गाँजा बरामद भएको देखिन्छ ।
लागूऔषध कारोबारीले विभिन्न प्रविधि एवम् सामाजिक सञ्जालको प्रयोग गर्दै लागूऔषधको कारोबार समेत गर्ने गरेको पाइएको छ । लागूऔषध गाँजा मिसाई केक तथा कुकिज तयार गरी अनलाईन मार्फत कारोबार गर्ने गरेको समेत खुल्न आएको छ । लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक गोविन्द थपलिया भन्नुहुन्छ, “लागूऔषध गाँजा नियन्त्रण गर्न गाँजा खेती फडानी गरी नष्ट गर्ने, स्थानीय पालिकाहरूसँग समन्वय गरी गाँजा खेतीलाई विस्थापित गर्न वैकल्पिक नगदे बाली, फलफूल, तरकारी खेती गर्न प्रोत्साहन गर्ने गरिएको छ ।
आकस्मिक चेकजाँच, सुराकी परिचालन, विशेष शंकास्पद ठाउँमा निग्रानी, आम नागरिकसँग निरन्तर सम्पर्क र समन्वय गरी सूचना लिने, लागूऔषध कारोबार हुने विभिन्न नाकामा प्रहरी परिचालन गरी गिरोह पक्राउ गर्ने र अनुसन्धान गरी मुद्दा दायर गर्ने गरिएको छ । सँगसँगै सचेतना कार्यक्रमलाई पनि प्राथमिकतामा राखी विभिन्न ठाउँ र समयमा प्रभावकारी रूपमा कार्यक्रम संचालन गर्दै आइरहेका छौं ।”
ग्रामीण क्षेत्रमा हुने गाँजा खेतीको भरपर्दो अनुगमन प्रणाली नहुनु, यसको प्रयोग र कारोबारको शैली परिवर्तन हुनु, गाँजाको कारोबार विकट ठाउँसम्म पुग्नु जस्ता चुनौति गाँजा नियन्त्रणमा छन् । गाँजाको सहज पहुँच र खुला सिमानाको कारण कारोबार बढ्ने गरेको छ ।
प्रहरी नायव महानिरीक्षक ढकाल भन्नुहुन्छ, “गाँजा खेती, बिक्री वितरण र सेवन खास गरी ग्रामीण भेगमा हुने गरेको छ । त्यस्ता ठाउँमा प्रहरी टोली खटाई गाँजाका बोट काटिरउखेली नष्ट गर्ने गरिएको छ । सिमानामा निग्रानी बढाइएको छ । गाँजा खेतीमा संलग्न तथा सेवनकर्ताहरूलाई कानूनी प्रावधान, सेवनबाट हुने असर र राष्ट्रलाई पर्ने नकारात्मक असरबारे सचेतना कार्यक्रम गर्ने गरिएको छ ।”
लागूऔषध नियन्त्रण ऐन, २०३३ ले प्राकृतिक तथा औषधिजन्य लागू पदार्थको खेती, उत्पादन, निर्माण, खरिद(बिक्री, सञ्चय, ओसारपसार, सेवन तथा निकासी पैठारीमा प्रतिबन्ध लगाएको छ । बिना वारेन्ट प्रवेश, खानतलासी, कब्जा र गिरफ्तार गर्न सक्ने प्रावधान छ । लागूऔषध अपराधमा संलग्न व्यक्तिलाई एक महिनादेखि जन्म कैद तथा २५ लाख रूपैयाँ सम्म जरिवानाको व्यवस्था गरेको छ ।
आर्थिक कारोबारको विवरण माग गर्न सक्ने र सम्पत्ती रोक्का तथा जफत गर्न सक्ने, यस अपराध संग सम्बन्धित कुनै कुरा टेप गर्न वा सेन्सर गर्न सक्ने समेत ऐनमा व्यवस्था गरिएको छ । प्रमाणको भार प्रतिवादीमा रहने, लागूऔषध सम्बन्धी सूचना दिने व्यक्तिलाई पुरस्कार दिने व्यवस्था र अनुसन्धान तहकिकात गर्न ९० दिन सम्मको हद म्याद हुने प्रावधान समेत ऐनमा  छ ।
प्रहरी नायव महानिरीक्षक ढकाल भन्नुहुन्छ, “नेपाल प्रहरी कानून कार्यान्वयन गर्ने निकाय हो । त्यसैले ऐन बमोजिम अपराधीलाई कानूनी दायरामा ल्याउन नेपाल प्रहरी सक्रिय छ । यसबाट अवैध गाँजा कारोबार र सेवन रोकथाममा सफलता मिल्ने अपेक्षा छ ।”

प्रतिक्रिया दिनुहोस्