बाउली खोलाको पुल अलपत्र



बाजुरा ।

बाजुराको सदरमुकाम मार्तडी प्रवेश गर्ने  मुल बाटो बाउली खोलाको पुल  अलपत्र परेको छ । मार्तडी–कोल्टी सडक खण्ड अन्तरगत  जिल्ला सदरमुकाम मार्तडी जोड्ने आरसिसि ब्रिज निर्माण सम्झौता भएको ढाई वर्ष बितिसक्दा पनि  पाँच प्रतिशत काम  पनि भएको छैन ।

 टिडि आर जुगल कौशिक जेभिले उक्त ब्रिज गत असार १२ गतेसम्म  सम्पन्न गरिसक्नु पर्ने थियो । म्याद थपायो अझै निर्माण कार्य शुरु भएको छैन ,सडक डिभिजन साँफेबगर अछामले जनाएको छ । बडिमालिका नगरपालिका लगायत उत्तरपूर्वी क्षेत्रका चारवटा स्थानीय तह जोड्ने मुख्य पुल निर्माणको तिन वर्ष पुग्न लाग्दा पनि बनेको छैन । पुल नहुँदा सदरमुकाम आवागमनमा  निक्कै अप्ठेरो भएको छ  ।

यातायात सेवा नियमित नहुँदा यात्रुले पैदल अनि चर्को भाडा तिर्नुपरेको विछ्याँ मावि बिछ्याँका शिक्षक नहकुल जोशीको भनाई छ । बाउली खोलामा पुल नबन्दा बर्षेनी  खच्चडमा महंगो भाडा तिररे सामान ढुवानी गर्नुपरेको छ । मंहगीको मारमा स्थानीय परेका छन् उद्योग वाणिज्य संघ बाजुराका अध्यक्ष देबबहादुर रोकायाको भनाई छ ।

द्वारा भीरबाटोमा रहेको जीर्ण झुलंगे पुल तरेर बालबालिका स्कुल जान सक्दैनन् काठे साँघु वर्षको भेलले वगाई लैजान्छ । जिल्ली, पानीखाल, रतुडा ,झराउले  खर्सेखाडाबाट मार्तडी पढ्न आउने बालबालिकालाई सकस भएको छ। त्यसैगरी द्वारा देवताको मन्दीर माथिबाट पूरानो झुलङ्गे पुल छ, बाहिर सरेकी महिलाले उक्त बाटोबाट हिड्ने चलन छैन ।  वर्षमा महिनावरी हुंदा रतुडा ,झराउले जिल्ली,पानीखाल ,रजातोली र ढम्कनेकी स्थानीय महिला तथा छात्राहरु सदरमुकाम मार्तडी आउन ठप्प हुन्छौं बडिमालिका  ८ झराउलेकी अप्सरा रावलले भन्नुभयो ।  बाउलीमा पक्की पुल बनेको भए हामीलाई यति समस्या हुने थिएन, रावलको भनाई छ ।

तिन महिना काम गरेको ज्याला पनि पाएको छैन । काम गराउने ठेकेदार सम्पर्क विहीन छन्। न त पुल बन्यो न काम गरेको ज्याला पाइयो बडिमालिका नगरपालिका वडा नं ८का जयबहादुर अयडीले भन्नुभयो ।  दिनको १२सय रुपैंया दिन्छु भनेर खोलाको किनारामा रातदिन  नभनी डेढ महिना सम्म श्रीमान्ले काम गरे । ज्याला पाउने बेला ठेकदार भागेर गए । दसैँमा भुक्तानी गर्छु भन्थे आजकाल सम्पर्कविहीन छन् स्थानीय चन्दा अयडीको गुनासो छ । रोडी–गिट्टी कुटेर जहान परिवारको गुजरा चलाउने हामी मजदुरको ज्याला भुक्तानी गराईदिन सबैलाई आग्रह गरेका छौँ मजदुर अयडीको भनाई छ ।

  प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलका अनुसार बाउली खोलाको पाँच सय मिटर लम्बाई हुने आरसिसि ब्रिज निर्माण गर्न जिल्ला प्रशासन कार्यालयबाट   बारम्बार ताखेता गरिएको छ। सदरमुकाम जोड्ने बाउलीको मुख्य पुलको  स्थलगत अनुगमन पनि गरिएको छ  । “म त्यही गएर कन्ट्याक्टरको मान्छे पंकज भट्टलाई भेटेर काम छिटो सूचारु गर्न निर्देशन दिएको छु । पाँच सात दिनमा काम सञ्चालन गरेर असारमा सकाउँछु भन्थे खै के गर्छन्। ” प्रतिअ पौडेलले भन्नुभयो ।

जिल्लामा ठेका स्वीकृत भएका तर काम नगरेका  धेरै आयोजनाहरूको छड्के अनुगमन भइरहेको छ ।  पाँच सात जना ठेकेदार सम्पर्कमा आएका छन् । ठेकेदारलाई खोजी काम गराउँदै छौँ प्रतिअ पौडेलले भन्नुभयो  । साँफे मार्तडी सडक खण्ड मर्मतका सन्दर्भमा भने कतिपय ठाउँमा स्थानीयबाट अवरोध भएको गुनासा आएका छन् । विकास कार्यमा स्थानीयलाई सुझाउन पालिकालाई भनेको छु, प्रतिअ पौडेलले भन्नुभयो ।

गत जेठमा आएको बाउली खोलाले निर्माणाधीन पुल बाढी पहिरोमा परेपछि काम अवरुद्ध भएको हो । पहिले कामको जिम्मा पेटी कन्ट्याक्टर भोजराज  बुढालाई दियौँ। उनले काम गरेनन् रुपियाँ मात्र खाएछन् । झन्डै तिस पैँतिस लाख रुपैंया तिर्नुपर्छ होला ।पहिले श्रमिकको रकम तिछौं, मेशिन आउँदै छन् एक हप्तामा काम सञ्चालन गछौं टिडि आर जुगल कौशिक  जेभिका सञ्चालक नरेश ओझाको  भनाई छ ।

२०७८ कार्तिक १५ गते टिडिआर जुगल  कौशिक  जेभीसंग बिस महिनामा सम्पन्न गर्ने गरी पाँच करोड ५८ लाख अठासी हजार रुपैंयामा सम्झौता भएको डिभिजन सडक अछामको पत्रमा उल्लेख छ ।  मोविलाईजेशन  पेश्की भनेर २४ लाख ७५ हजार रुपैंया भुक्तानी लिई सकेको छ । काम नभए पछि गत असार म्याद थप गरिएको छ काम भने  अझै सुरु भएको छैन् ।

प्रतिक्रिया दिनुहोस्