महिला सशक्तीकरणको अभियानलाई जारी राख्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी


 सुर्खेत ।

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले महिलाहरुलाई शैक्षिक र आर्थिक सशक्तीकरणमा सशक्त गराउन अझै सङ्घर्ष जारी राख्नुपर्ने बताउनुभएको छ ।

पुरातनवादी सोचका कारण महिलाहरू अझै पनि सामाजिक, आर्थिक, सांस्कृतिक, राजनीतिक हिसाबले पछि परिरहेको बताउँदै उहाँले त्यसका विरुद्धमा सङ्घर्ष जारी राख्नुपर्ने बताउनुभयो । ११४ औँ अन्तर्राष्ट्रिय महिला दिवस सन् २०२४ को अवसरमा सोमबार वीरेन्द्रनगरमा आयोजित प्रथम कर्णाली प्रदेशस्तरीय महिला सम्मेलनमा बोल्दै भण्डारीले महिलाको क्षेत्रमा विभिन्न नीतिगत एवम् अधिकारका कार्यक्रमहरू भए पनि समाजमा विद्यमान पुरातनवादी सोचका कारण हरेक हिसाबले महिलाहरू अघि बढ्न नसकेको बताउनुभयो ।

नेपालले महिला अधिकार र महिला सशक्तीकरणको क्षेत्रमा उल्लेख्य सुधार भएतापनि महिला अधिकारका लागि भएका विभिन्न आन्दोलन र सङ्घर्षका कारण महिलाका क्षेत्रमा महत्वपूर्ण काम भएपनि पुर्ण रुपमा परिवर्तन हुन नसकेको उहाँको भनाई छ ।

‘संविधानमै महिलाको ३३ प्रतिशत संसद्मा प्रतिनिधित्व सुनिश्चित गरिएको छ, प्रदेशदेखि स्थानीय तहमा पनि महिलाको भूमिका निकै महत्त्वपूर्ण हुँदै गइरहेको छ,’ भण्डारीले भन्नुभयो, ‘महिला सशक्तीकरण र लैङ्गिक समानताको क्षेत्रमा नेपालले हासिल गरेका उपलब्धिहरू विश्व महिला आन्दोलनका लागि उदाहरणीय बनेका छन् ।’ प्राप्त उपलब्धिको रक्षा गर्दै महिला सशक्तीकरणको अभियानलाई जारी राख्नुपर्ने उहाँको भनाइ छ । लैङ्गिक समानता महिला र पुरुष दुवैको साझा कुरा हो, यो विषयमा सधैँ जोड दिँदै आएको पनि उहाँले बताउनुभयो ।

महिलाको सीप, क्षमतालाई मुलुकको विकास प्रक्रियामा सदुपयोग गरी स्रोत, साधन र अवसरमा समान पहुँचको माध्यमबाट संविधानले परिलक्षित गरेको लैङ्गिक समानताको उद्देश्य हासिल गर्न सकिने पनि उहाँको जिकिर छ ।

भण्डारीले कर्णाली भौतिक पूर्वाधारको विकासमा पछि परे पनि भौगोलिक विविधता, प्राकृतिक स्रोत, साधनले सम्पन्न रहेको बताउनुभयो । रारा, से–फोक्सुन्डो, सिञ्जा, रास्कोट, पञ्चदेवल, पचालझराना कर्णालीको मात्र नभई सिङ्गो देशका अमूल्य सम्पदा भएको बताउँदै भण्डारीले यिनको पर्यटन प्रवर्धन गर्दा कर्णाली समुन्नत प्रदेश बन्न सक्ने जिकिर गर्नुभयो ।

पूर्व राष्ट्रपति भण्डारीद्धारा नगर अस्पताल उद्घाटन

पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले वीरेन्द्रनगर आएको समयको सदुपयोग गर्दै सोमबार पाँच शय्याको महिला तथा बालबालिका नगर अस्पतालको उद्घाटन गर्नुभएको छ । नगर अस्पतालको उद्घाटन गर्दै उहाँले लोकतन्त्रमा देश र जनताको उन्नति, प्रगतिका लागि दलहरू बलियो हुनुपर्ने र देशको राजनीति ठिक ढंगले अघि बढाउन पनि दलहरू बलियो बन्नुपर्ने बताउनुभयो ।

यस्तै, उहाँले लोकतन्त्रका ततवहरू भनेको राजनीतिक दलहरू भएकाले त्यहि मदलहरू कमजोर भएमा देश कमजोर हुनेमा जिकिर गर्नुभयो । ‘दलहरूले निश्चित आ–आफ्नो मूल्य मान्यता र आर्दश बोके पनि देश र जनताका लागि राजनीतिक पार्टीहरूले सिद्धान्तनिष्ठ रुपमा कर्तव्य पुरा गर्नुहोला’, उहाँले भन्नुभयो, ‘दलहरू पूर्वाग्रहबाट माथि उठ्नुपर्छ, आजका बालबालिका परिवार, समाज र राष्ट्रको जिम्मेवारी बहन गर्ने भविष्यका कर्णधार हुन् । महिला तथा बालबालिकाको क्षेत्रमा सोचेजस्तो प्रगति हुन अझै सकिरहेको छैन ।’

उहाँले मातृ शिशु स्वास्थ्य कार्यक्रमलाई प्रभावकारी बनाउन वीरेन्द्रनगर नगरपालिकाको लगानीमा सञ्चालनमा ल्याइएको ५ शय्याको महिला तथा बालबालिका अस्पताललाई सेवा सुविधा विस्तार गरी ५ सय शय्यासम्म पु¥याउन आग्रह गर्नुभयो ।