केन्द्रमा गठबन्धन फेरिँदा मधेस सरकारलाई धक्का

798
Shares

वीरगञ्ज । 

सोमबार बिहानै काठमाडौंमा गठबन्धन फेरिएसँगै मधेस प्रदेशमा भने त्यसको सीधा असर परेको छ । मधेसमा यो गठबन्धनले यहाँको सरकार संकटमा परेको छ । सोमबार नेकपा एमाले, माओवादी केन्द्र, राषि्ट्रय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीबीच नयाँ गठबन्धन बनेसँगै मधेस प्रदेशमा नयाँ गठबन्धनलाई सरकार बचाउन समस्या हुने दखिएको छ ।

मधेस प्रदेशसभामा कुल सदस्य संख्या १ सय ७ कायम रहेकाले सरकार बनाउन कम्तीमा ५४ प्रदेशसभा सदस्यको समर्थन आवश्यक छ । तर, वर्तमान नयाँ गठबन्धनसँग ५२ जना प्रदेशसभा सदस्य मात्रै रहेकाले जसपा नेतृत्वमा रहेको सरकार बचाउन समस्या हुने देखिएको हो । नयाँ गठबन्धनमा चार दल भए पनि रास्वपाको प्रदेश सांसद नरहेकाले मधेसमा एमालेका २४, जसपाका १९ र माओवादी केन्द्रका ९ गरी ५२ सांसद मात्र छन् । एमालेकै रामचन्द्र मण्डल सभामुख रहेकाले गठबन्धनमा थप एक सदस्यको समर्थन कम हुनेछ । गठबन्धन दलबाहेकका अन्य दल र एक स्वतन्त्र सांसद मिलेमा ५५ प्रदेशसभा सदस्यको समर्थनमा सहजै सरकार बन्ने भएकाले वर्तमान गठबन्धनलाई मधेसमा सत्तामा रहिरहन समस्या हुने भएको हो ।

नेपाली कांग्रेसलगायतका दलले गठबन्धनबाहेकका दललाई एकजुट गर्न सके मधेसमा सहजै सरकार बनाउने अवस्था पनि छ । चारदलीय गठबन्धनबाहेकका नेपाली कांग्रेससँग २२, जनमत पार्टीका १३, लोकतानि्त्रक समाजवादी पार्टीका ९, नेकपा एकीकृत समाजवादी पार्टीका ७, राषि्ट्रय प्रजातन्त्र पार्टी, नागरिक उन्मुकि्त पार्टी र नेपाल संघीय समाजवादी पार्टीका १÷१ जना सांसद छन् । यस्तै, एक स्वतन्त्र सांसद छन् । लोसपाका एक सांसद फरार रहे पनि गठबन्धनबाहेकका दलहरू मिले सरकार बनाउन कुनै समस्या नहुने देखिएको हो ।

हाल सरकारमा रहेका नेपाली कांग्रेसका मधेस प्रदेशका संसदीय दलका नेता एवं भौतिक पूर्वाधार विकासमन्त्री कृष्णा यादवले पार्टीको केन्द्रीय नेतृत्वले भनेअनुसार सरकारबाट बाहिरिने वा रहने भन्ने निर्णय लिने बताउनुभयो । यद्यपि, मधेसमा हाल जसपाकै नेतृत्वमा सरकार रहेको छ । नयाँ समीकरण बनेपछि भने जनमत पार्टीले मधेसको मुख्यमन्त्रीको पद दाबी गरेपछि थप समस्या हुने आँकलन गरिएको छ ।