एनएनआइपिए स्पोर्ट्स अवार्ड चैतमा



काठमाडौं ।

नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआइपिए) ले हरेक वर्ष आयोजना गर्दै आइरहेको एनएनआइपिए स्पोर्ट्स अवार्ड आगामी चैतको दोस्रो साता हुने भएको छ ।

उक्त अवार्डको १८औं संस्करण चैत १२ गते आयोजना हुने आयोजक एनएनआइपिएले सोमबार पत्रकार सम्मेलनमार्फत जानकारी गराएको हो । अवार्ड कार्यक्रममा गत वर्ष आयोजना भएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा समावेश भएका ३६ खेललाई आधार मानेर सम्बन्धित संघले सिफारिस गरेका खेलाडीलाई वर्षको उत्कृष्ट खेलाडी २०७९ बाट सम्मान गरिने एनएनआइपिएका‌ सदस्य र अवार्डका संयोजक पुरुषोत्तम बज्राचार्यले जानकारी गराए ।

३६ खेल मध्येका उत्कृष्ट खेलाडीले अवार्डसहित जनही १० हजार रुपैयाँ प्राप्त गर्नेछन् । उत्कृष्ट खेलाडीहरु मध्येबाट एक महिला र एक पुरुषलाई सर्वोकृष्ट घोषित गर्दै १ लाख रुपैयाँ दिइनेछ । त्यस्तै, एक महिला र एक पुरुष खेलाडीलाई प्रतिभाशाली खेलाडीबाट सम्मान गरी ५० हजार नगद प्रदान गरिनेछ । त्यस्तै, एकजना वरिष्ठ खेलकर्मीलाई गजराज आर्दश खेल व्यक्तित्वबाट र एक खेल पत्रकारलाई एनएनआइपिए खेल पत्रकारिता पुरस्कारबाट सम्मानित गरी ३५ हजार रुपैयाँ प्रदान गरिनेछ । त्यसैगरी एक जना वर्ष उत्कृष्ट पारा खेलाडी सम्मान हुनेछन् र उनले १५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

विगत केही वर्षयता काठमाडौं, ललितपुर तथा भक्तपुरका विभिन्न ऐतिहासिक, सांस्कृतिक सहरहरुमा हुँदै आएको यो कार्यक्रम यसपटक ललितपुरमा हुने आयोजकले बताएकाे छ । एनएनआइपिए अवार्डबाट सम्मानित हुने ३६ खेलमा फुटबल, साइक्लिङ, भलिबल, एथलेटिक्स, फेन्सिङ, तेक्वान्डो, ह्यान्डबल,जिम्नाष्टिक, लन टेनिस, गल्फ, हक्की, सफ्ट टेनिस, पौडी, स्क्वास, उसु, भारोत्तोलन, ट्रायथलन र क्रिकेटबाट गरी समान एक-एक खेलाडी सम्मानित हुनेछन् ।

त्यसैगरी सुटिङ, आइटिएफ तेक्वान्डो,फूल कन्ट्याक्ट कराते, जुडो, कुस्ती, रग्बी, ब्याडमिन्टन, बास्केटबल, शारीरिक सुगठन, आर्चरी, कबड्डी, खो खो, टेबल टेनिस, कराते, प्याराग्लाइडिङ, बक्सिङ, बुद्धिचाल र सेपाकताक्राका समान एक खेलाडी पनि सम्मानित हुनेछन् ।

आयोजक संस्थाका महासचिव शिवसुन्दर गोथेले कार्यक्रम आयोजनाका लागि २० देखि २२ लाख खर्च हुने अनुमान गरिएको र त्यसमा राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले केही सहयोग गर्ने जानकारी गराए । केही दिनमा अवार्डको प्रायोजकहरुको‌ टुंगो लाग्ने सचिव मन्देकाजी श्रेष्ठले बताए । अवार्ड आयोजनाले खेलाडीको हौसला बढ्ने र उच्च प्रर्दशनका‌ लागि हौसल मिल्ने विश्वास लिइएको उपाध्यक्ष आयशा शाक्यले बताईन् ।

प्रतिक्रिया दिनुहोस्