अहिले को सरकारमा हुन्छ, को हुँदैन भन्न नसक्ने स्थिति छैन : केपी ओली

798
Shares

काठमाडौं ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको परिस्थितिमा को सरकारमा हुन्छको हुँदैन भन्न नसक्ने अवस्था रहेको बताउनुभएको छ ।

नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघको सातौँ राष्ट्रिय महाधिवेशन समुद्घाटन कार्यक्रमलाई शुक्रबार सम्बोधन गर्दै ओलीले संविधान र कानुनमा व्यवस्था नभएको अवस्थामा समेत केही मानिसहरू आफू प्रधानमन्त्री बन्छु भन्दै हिँडेका बताउनुभयो । ‘राष्ट्रिय मान्यता प्राप्त नगरेका दलबाट प्रधानमन्त्री हुन्छन् भने आफू किन नहुने भन्ने पर्दो हो’, ओलीले भन्नुभयो ।

ओलीले अहिले पार्टी र संसदमा एक सिट पनि नभएको व्यक्ति समेत प्रधानमन्त्री बन्छु भन्दै हिँडेको अवस्था रहेको बताउनुभयो । ‘यहाँ त संसदमा पनि भएको, पार्टी पनि नभएको, एउटा सिट पनि नभएको मान्छे असार १५ गते प्रधानमन्त्री बन्छु भनेर पनि हिँड्छ’, ओलीले भन्नुभयो । नेकपा एमाले त्यस्ता भित्र पर्ने पार्टी नभएको ओलीले स्पष्ट पार्नुभयो । नेकपा एमाले आफ्नो दृष्टिकोण र इतिहास बोकेको पार्टी भएको उहाँले प्रष्ट पार्नुभयो ।

ओलीले अहिलेको देशको अर्थतन्त्रलाई कोभिडले प्रभाव पारेको छ भन्नु गलत भएको बताउनुभयो । अहिले अर्थतन्त्र ओरालो लाग्नुको कारण वर्तमान गठबन्धन सरकार नै भएको ओलीले टिप्पणी गर्नुभयो । कोभिड पछि सबै राष्ट्र पुनरुत्थान भइसक्दा पनि नेपालको अर्थतन्त्र भने कोभिडका कारण कमजोर भयो भन्नुको कुनै अर्थ नभएको उहाँले प्रष्ट पार्नुभयो ।

ओलीले विद्यालयको पढाइले मात्र पठन संस्कृति विकास नहुने बताउनुभयो । सिर्जन संस्कृतिको विकासको लागि पठन संस्कृति विकास आवश्यक रहेको उहाँले प्रष्ट पार्नुभयो ।