वाफमा सावित्राको वाहवाही

21.15k
Shares

द वेस्ट एसियन फुटबल च्याम्पियनशिप (वाफ) पश्चिम एसियाली राष्ट्रहरुको प्रतिष्ठित फुटबल प्रतियोगिता हो । महिला र पुरुषको आ-आफ्नै वाफ च्याम्पियनशिप हुने गर्दछ ।

यसपटक महिलातर्फको आठौं संस्करण भने साउदी अरेबियाको जेद्दाह सहरमा जारी छ । यसपटक आमन्त्रित टोलीको रुपमा नेपाली महिला फुटबल टोली सहित कुल आठ राष्ट्र सहभागी भएका छन् ।

जसको उपाधि जित्न नेपाल एक खेल मात्र टाढा छ । अर्थात् समूह बी मा रहेर नेपालले आफ्ना प्रतिद्वन्दीहरुमाथि गोलको वर्षा गर्दै समूह विजेताको रुपमा सेमिफाइनलमा स्थान बनाएको थियो । सेमिफाइनलमा लेबनानलाई २-१ ले हराएर फाइनलमा जोर्डनसँग उपाधिका भिडन्त पक्का गरेको छ ।

नेपालले समूह चरणको तीन खेल र सेमिफाइनलमा गरी कुल १४ गोल गरेको छ भने दुई गोल मात्र बेहोरेको छ । जसमध्ये एक गोल आत्मघाती रहेको छ । जारी प्रतियोगिताको सेमिफाइनल सकिँदासम्म सहभागी आठ टोलीमध्ये नेपालले सबैभन्दा बढी गोल गरेको छ । यस्तो दुर्लभ नतिजामा टोलीका कुनै एक खेलाडीलाई श्रेय दिंदा अन्याय नै हुन्छ । प्रत्येक जितमा टोलीमा सम्मिलित सम्पूर्ण खेलाडीको उत्तिकै योगदान छ ।

वास्तवमा अहिलेको महिला फुटबल टोलीलाई ‘गोल्डन जेनेरेशन’ बाट सम्बोधन गर्दा फरक नपर्ला । विशेषगरी गोलरक्षणमा कप्तान एन्जिला तुम्बापो सुब्बा, मिडफील्डमा प्रीति राई र फरवार्डमा सावित्रा भण्डारी अर्थात् ‘साम्बा’ जस्ता अब्बल खेलाडीको समिश्रणले यो टोली कुनै पनि विपक्षीका लागि फलामको च्यूरा चपाउनु सरह बनेको छ ।

फुटबलमा टिमवर्क चाहिन्छ, अनि खेल जित्नका लागि गोल अपरिहार्य हुन्छ । त्यसैले पनि मैदानमा खेल्ने ११ जना खेलाडीमध्ये गोल गर्ने खेलाडीको चर्चा अन्यको भन्दा अलि बढी नै हुने गर्दछ । निःसन्देह सावित्रा यसका जल्बदाल्दा उदाहरण हुन् । हुनपनि वाफमा नेपाललाई फाइनलसम्म पुर्‍याउँदा साम्बाले गज्जबको प्रदर्शन गरिन् । नौ गोल गरेर जारी प्रतियोगिताकै सर्वाधिक गोलकर्ता सूचीको शीर्ष स्थानमा छन् उनी ।

पहिलो खेलमा सिरियाविरुद्ध ४-१ को जितमा एक गोल गरेकी साम्बाले दोस्रो खेलमा ईराकलाई ५-० ले हराउँदा सबै गोल आफ्नो नाममा लेखाइन् । त्यसैगरी प्यालेस्टाइनविरुद्ध समूहचरणको अन्तिम खेल ४-० ले जित्दा दुई गोल तथा सेमिफाइनलमा लेबनानविरुद्ध एक गोल आफ्नो नाममा लेखाएर गोलसंख्या नौ पुर्‍याएकी छन् ।

कुरा वाफको मात्रै होइन, वाफमा गरेको गोलवर्षाले आफ्नै ब्यक्तिगत गोलसंख्या पनि ५३ पुर्‍याएकी छिन् साम्बाले । यो संख्या आगामी खेलमा अझै बढ्ने सम्भावना अझै छदैछ । तर, नेपाली फुटबल इतिहासमा भने ४६ म्याच खेलेर ५३ गोल गर्ने खेलाडी बनेर उनले दुर्लभ इतिहास भने रचेकी छन् ।

उनले आफूले खेलेको म्याचभन्दा बढी गोल गरिसकेका छन् । यो आंकडा आफैमा दुर्लभ हो । २६ वर्षीय सवित्राले यही लयलाई कायम राख्ने हो भने सर्वाधिक अन्तराष्ट्रिय गोलगर्ने महिला फुटबलर क्रिस्टीन सिनक्लेरलाई पनि गणितीय आधारमा माथ नदेलान् भन्न सकिन्न ।

किनभने क्रिस्टीनले सन् २००० देखि २०२३ सम्म खेलेका ३ सय २९ म्याचमा १ सय ९० गोल गरेको तथ्यांक छ । यो आंकडालाई औसतमा परिणत गर्ने हो भने सवित्रा नै अघि रहेको मान्न सकिन्छ । यधपि उनी अहिले सर्वाधिक गोल गर्ने दक्षिण एसियाली महिला फुटबलर समेत बनेकी छन् । उनले भारतकी बालादेवीले गरेको सर्वाधिक ५२ अन्तराष्ट्रिय गोलको रेकर्डलाई उछिनेकी छन् ।

दक्षिण एसियाको महिला फुटबलको पावर हाउस भारतीय लिगकै सर्वाधिक गोलकर्ताको कीर्तिमान रचेकी सावित्राले इजरायली लिग हुँदै फ्रान्सको ‘डिभिजन वान फेमिनो’ लिग क्लब अन अभान्ट ग्वेंगाम्पमा आबद्ध भएर आफूलाई प्रमाणित गरिसकेकी छन् । लमजुंगमा जन्मेर फ्रान्ससम्मको यात्रालाई सम्भव पार्न उनले गोलकै सिढीं चढेकी हुन् ।

गर्विलो गोलसंख्याको इतिहास बनाउने क्रममा उनले दस वर्षअघि भुटानविरुद्ध वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेको केही मिनेटमै पहिलो अन्तर्राष्ट्रिय गोल गरेर सिढींको खुड्किलोमा पहिलो कदम टेकेकी थिईन् । त्यसपछि २०१६ को दक्षिण एसियाली खेलकुद अन्तर्गत श्रीलंकाविरुद्ध दुई गोल, मलेसियाविरुद्ध मैत्रीपूर्ण खेलमा एक गोल गरेकी थिईन् ।

त्यसैगरी साफ महिला च्याम्पियनसिपमा भुटानविरुद्ध ६ गोल, माल्दिभ्सविरुद्ध पाँच गोल र नेपाल भारतसँग ३-१ ले पराजित हुँदा एक गोल गरेकी थिइन् । त्यसैगरी नेपालले मलेसियामा मैत्रीपूर्ण खेलमा एक गोल, म्यानमारविरुद्ध एक एक गोल गरेकी साम्बाले भारतलाई पहिलो पटक हराउँदा दुवै गोल तथा इरानसँग भएको खेलमा दुई गोल गरेकी थिईन् ।

त्यसपछि सन् २०१९ को सागमा भुटान, बंगलादेश, श्रीलंका र भारतविरुद्ध उनले समान एक-एक गोल गरेकी उनले ओलम्पिक छनोटको खेलमा इन्डोनेसियाविरुद्धको जितमा दुई गोल गरेकी थिईन् ।

त्यसैगरी नादेझ्दा कपमा किर्गिस्तानविरुद्ध चार, ताजिकिस्तानविरुद्ध एक तथा उज्बेकिस्तानविरुद्ध दुई गोल आफ्नो नाममा लेखाएकी थिईन् । सन् २०१९ मा माल्दिभ्सविरुद्ध तीन गोल गरेकी उनले सन् २०२२ मा नेपालमै भएको साफ च्याम्पियनसिपमा भुटानविरुद्ध दुई गोल गरेकी थिईन् ।

त्यस्तै २०२३ मा बंगलादेशमा सावित्राले बराबरी भएको खेलमा गोल गर्दै पेनाल्टी सुटआउटमा जित दिलाएकी थिइन् । भियतनामविरुद्ध नेपाल ओलम्पिक प्लेअफमा ५-१ ले हारेपनि साम्बाको नाममा भने गोल रह्यो । भारतविरुद्ध मैत्रीपूर्ण खेलमा २-० ले पछि परेको स्थितिबाट साम्बाले लगातार दुई गोल गर्दै नेपाललाई हारबाट जोगाएकी थिइन् । विगतमा उपविजेतामा नै सिमित हुने रोगको सिकार नेपालका लागि यसपटक उक्त खड्को काट्ने अवसर जुरेको छ ।

अन्तराष्ट्रिय भूमिमा पहिलो उपाधि जितेर इतिहास रच्ने सुनौलो अवसर पनि छ । पछिल्ला तथ्यांक हेर्ने हो भने जोर्डन प्रतियोगिताको सबैभन्दा बलियो र सर्वाधिक विजेता टोली हो । जुन नेपालको लागि पनि टाउको दुखाई बन्न सक्नेछ । पाँच पटकको च्याम्पियन जोर्डनले लगातार पछिल्ला तीन संस्करणको उपाधि आफ्नो पोल्टामा पारेको छ । सरसर्ती हेर्दा वाफको फाइनलमा नेपाललाई जोर्डनको चुनौती सहज भने पक्कै हुने छैन ।

एक त उक्त फाइनलमा सावित्रा अनुपस्थिति अनि अकोर्तिर जोर्डन आफैमा एउटा बलियो टोली । फिफा वरियताकै कुरा गर्ने हो भने जोर्डन ७४औं स्थानमा छ भने नेपाल १ सय पाँचौमा छ । जारी प्रतियोगिताको कुरा गर्ने हो भने जोर्डनले १३ गोल गरेर मात्र एक गोल ब्यहोरेको छ । सेमिफाइनलमा प्यालेष्टाइनलाई ५-० पराजित गर्दै फाइनलको यात्रा तय गरेको छ । अर्कोतिर नेपाल भने अहिले प्रतियोगिताकै सर्वाधिक १४ गोल गोलगर्ने टोली हो ।

१४ मध्ये नौ गोल गरेकी सावित्राको कमीले फाइनलमा नेपालमाथि दवाब बढ्नेछ । फ्रान्सेली क्लब एन अभान्ट ग्वेंगाम्पमा अनुबन्धित सावित्राले फिफाको नियम अनुसार फिफा विन्डोमा रहेको राष्ट्रिय टोलीको खेलमा मात्र अनिवार्य उपस्थिति जनाउनु पर्ने नियम रहेकोले सावित्रा टोलीमा उपस्थित हुन नसक्ने भएको हो । फिफाले फेब्रुअरी १९ देखि २८ तारिखलाई महिलातर्फ फिफा विन्डो तोकेको थियो । जसमा तीन खेलसम्म खेल्न पाउने प्रावधान छ ।

सावित्राले समूह चरणमा नै तीन खेल खेलिसकेपनि ग्वेंगाम्पले उनीलाई सेमिफाइनल खेल्न दिएको थियो । तर, फ्रान्सेली लिगमा ग्वेंगाम्पले मार्च २ मा निकै महत्वपूर्ण म्याच खेल्ने र वाफको फाइनल खेलेर उक्त खेलका लागि उपलब्ध हुन नसक्ने भएपछि क्लबले सेमिफाइनल पछि नै उनको माग गरेको छ ।

लिप ईयर अर्थात् हरेक चार वर्षमा एकपटक आउने फेब्रुअरी २९ आज राति नेपाली समयअनुसार पौने दस बजे हुने फाइनलमा सावित्राको अनुपस्थिति नेपालको लागि ठूलो बेफाइदा त छदैंछ, नेपालले उपाधि जिते पनि हारेपनि सावित्राका लागि भने ब्यक्तिगत रुपमा नचिताएको स्मरण पनि बन्नेछ ।

किनभने यदि नेपालले उपाधि जित्छ भने उक्त ऐतिहासिक अवसरलाई साकार पार्न महत्वपूर्ण योगदान गर्ने सावित्राले प्रत्यक्ष रुपमा मैदानमा रहेर खुसी साट्नबाट चुक्ने छिन् । अर्कोतिर यदि नेपाल पुनः उपविजेतामा नै सिमित बन्छ भने आफ्नो अनुपस्थितिको हारले उनलाई पिरोल्ने छ ।