निमार्ण सुरु भएको ३८ वर्षपछि जहाज उद्घाटन, नियमित उडान हुनेमा आशंका



कालिकोट ।

यस जिल्लाको नरहरिनाथ गाउँपालिका–१ कोटबाडा स्थित सुनथराली विमानस्थल निर्माण सुरु भएको ३८ वर्षपछि उद्घाटन भएको छ । २०४२ सालदेखि तत्कालीन जिल्ला विकास समितिको एक लाख लगानीबाट निर्माण सुरु भएको ३८ वर्षपछि सोमबार विमानस्थलको औपचारिक उद्घाटन भएको हो ।

निर्माण सम्पन्न भएको दुई वर्ष बिते पनि औपचारिक उद्घाटन हुन सकेको थिएन । पहिलो परीक्षण उडान २०७३ माघ २९ मा कर्णालीका तत्कालीन मुख्यमन्त्री जीवन बहादुर शाहीले गरेका थिए । त्यसयता तीन पटक परीक्षण उडान गर्ने मिति तयभएपनि स्थगित हुँदै आएको थियो । भने कालिकोटवासी नियमित उडानको माग वर्षौँदेखि राख्दै आएका थिए ।

तर आइतबार दोस्रो पटक परीक्षण उडान सफल भएपछि सोमबार उपप्रधान तथा रक्षा मन्त्री पूर्ण बहादुर खड्काले विमानस्थलको उद्घाटन गरेका हुन् । रक्षा मन्त्री खड्का सँगै पर्यटन मन्त्री सुदन किराँती,कर्णाली प्रदेशका मुख्यमन्त्री राज कुमार शर्मा ,तत्कालीन मुख्यमन्त्री दोय जीवन बहादुर शाही र महेन्द्र बहादुर शाही,कर्णाली प्रदेशका उपसभामुख यशोदा न्यौपाने लगायतका उच्च पदस्थ व्यक्ति नेपाल वायु सेवा र तारा एयरको जहाजमा सुनथराली विमानस्थलको उद्घाटन गर्न पुगेका थिए ।

पछिल्लो वर्षमा साढे १३ करोड बजेट विनियोजन भएर धावनमार्ग कालोपत्रे भएको थियो । भने विमानस्थल निर्माणका लागि झन्डै आधा अर्ब बढी बजेट खर्च भएको छ । ६ सय ४० मिटर लामो धावनमार्ग,सुविधायुक्त टर्मिनल भवन,सुरक्षा गार्ड भवन,प्रशासनिक भवन निर्माण लगायतका सबै संरचना निर्माण भएको विमानस्थलका प्रमुख ईनि्जनियर रत्न श्रेष्ठले बताए ।

 

उनका अनुसार पछिल्लो समय गौरी पार्वती श्याम एण्ड शंकर जेभीले १३ करोड बढी बजेटमा पक्की धावनमार्ग, नाला, माटो काट्ने काम गरेको थियो । भने पीआर इन्फ्रास्ट्रक्चरले भवन र टावर निर्माणतर्फ तीन करोड ४७ लाख ७४ रुपैयाँमा विमानस्थल पूर्वाधार निर्माण काम गरेको थियो ।
उपप्रधान तथा रक्षा मन्त्री पूर्ण बहादुर खड्काले कालिकोटवासीको रगत र पसिनाको उचित सम्मानका लागि पनि सुनथराली नियमित उडानका सरकारले पहल गर्ने बताए । उनले भने,…आवश्यकता अनुसार नियमित उडानको लागि पहल हुन्छ । तर यात्रुको माग हेरेर हप्ताको एक उडानको व्यवस्था गर्छौ । कालिकोटको पर्यटन प्रवर्द्धन तथा अछाम,बाजुरासँग कालिकोटलाई जोड्न र समग्र कालिकोट समृद्धिको लागि विमानस्थल कोशेढुंगा बन्ने छ ।

 

पर्यटन मन्त्री सुदन किराँतीले यात्रुको मागलाई मध्यनजर गरी हप्तामा एउटा उडान गर्ने प्रतिबद्धता गरे । कालिकोबाट बासीको वर्षौँदेखिको सपनालाई साकार तुल्याउन यात्रुको चाप हेरेर हप्तामा एउटा उडान गर्ने आश्वासन दिए । यात्रुको चाप हुने विमानस्थलमा नियमित उडान नभएको अवस्थामा मन्त्रीले भनेअनुसार कालिकोटमा नियमित उडान सम्भव छैन । यद्यपि,हप्तामा एउटा हुने उडानको समेत कुनै टुङ्गो छैन । तर कालिकोटवासीले मन्त्रीसँग नियमित उडानको माग राखेका छन् । …सुनथराली विमानस्थलमा नियमित जहाज उड्नु भनेको कालिकोटवासीले सेवा पाउनु मात्र होइन,मृतक ३६ जनाको आत्मले शान्ति पाउनु पनि हो । तर नियमित जहाज उड्ने कहिले टुङ्गो छैन ।

नियमित उडान हुनेमा आशंका निर्माण सुरु भएको ३८ वर्षपछि सुनथराली विमानस्थलको सोमबार भव्य उद्घाटन भएपनि नियमित जहाज उडान हुनेमा स्थानीयले आशंका पनि गरिरहेका छन् । विमानस्थल निर्माण गर्दा राज्य पक्षबाट मारिएका आफन्त र कालिकोटवासीले नियमित उडानको माग गर्दै आएका छन् । विमानस्थलको उद्घाटनमा ३८ वर्ष लाग्यो,अब नियमित उडान कहिले रु भन्दै कालिकोट बासीले रक्षा मन्त्री र पर्यटन मन्त्रीलाई प्रश्न गरेका छन् ।

२०५८ फागुन ११ गते नेपाली सेनाले विमानस्थल निर्माणको काम गरिरहेका रहनीनाथ १ का टेक बहादुर विष्ट सहित ३६ जना कामदारको निर्मम हत्या गरी एउटै चिहान बनाएको थियो । २१ वर्षीय छोरा टेक बहादुर गुमाएकी आमा मृगा विष्टले सुनथरालीमा दोस्रो पटक जहाज देखेपछि मख्ख भएकी छन् ।
चिहानमाथिको विमानस्थलमा चिलगाडी कुरिरहेका थियौ । उनले भनिन,…ढिलै भएपनि मन्त्री सहित जहाज आयो । खुसी छौ । तर जहाज चढ्न पाईन्या होकी नाइँ पत्तो छैन । सुनथराली विमानस्थलमा नियमित जहाज उड्नु भनेको कालिकोटवासीले सेवा पाउनु मात्र होइन,मृतक ३६ जनाको आत्मले शान्ति पाउनु पनि हो । तर नियमित जहाज उड्ने टुङ्गो नाइँ ?

विमानस्थल उद्घाटनसंगै मख्ख परेका कालिकोटवासीले नियमित जहाज चढ्न पाउने अझै निश्चित छैन । पर्यटन मन्त्रीले हप्तामा एउटा उडान गर्ने आश्वासन दिए पनि कालिकोटवासी ढुक्क छैनन् । कर्णाली प्रदेशमै आन्तरिक उडान नहुँदा समस्या भोग्दै आएका कर्णाली बासीले नेपालगन्ज देखि अन्य जिल्लामा पनि पर्याप्त उडान छैन । तर तारा एयरले भने यात्रुको सुनिश्चितता भएको खण्डमा कालिकोट उडान गर्न सक्ने बताएको ।

साबिक कर्णालीका चार जिल्ला जुम्ला,मुगु,डोल्पा र हुम्लामा नियमित उडान गर्दै आएको तारा एयरले यात्रु सुनिश्चित भए सुनथरालीमा उडान गर्ने बताएको हो । दुई तर्फी ३० जना यात्रु र समयनुकूल भाडादर कायम भएमा नियमित उडान भर्न सकिने तारा एयरकोको भनाई छ । विमानस्थल निर्माणमा ३६ जना मरे पनि चिहानमाथि चिलगाडी ९हवाईजहाज० उड्ने कालिकोटवासीको आशा मरेको छैन । सरकारले चाडै जहाज उडाउनु पर्ने,मृतक सबैलाई सहिद घोषणा गर्नु पर्ने र सहिद स्मृति पार्क बनाउनु पर्ने पीडितको माग यथावत् छ ।

२०६५८ फागुन ११ गते कोट बाडाका आठ जना टेक बहादुर विष्ट,लहविरे कठायत,भीम बहादुर कठायत,गोर्ख बहादुर कठायत,गंगा विष्ट,नविन विष्ट र लक्ष्मण भण्डारी सहित धादिङ जागिमाराका २६ जना गरी ३६ ज्यान गएको थियो । २०४२ सालमा सुरुमा तीन वटा उपभोक्ता समितिले भिर फाँड्ने काम गरे । १० वर्षे सशस्त्र द्वन्द्वले काम प्रभावित भयो । २०६३ पछि माओवादी र राज्यपक्षबीच शान्ति सम्झौतापछि विमानस्थल निर्माणले गति लिएको थियो ।

प्रतिक्रिया दिनुहोस्