पाँच बुँदे सहमतिपछि जिसस प्रमुख गौतमले तोडे अनशन

154
Shares

धुलिखेल ।

जिल्ला समन्वय समिति प्रमुख दिपककुमार गौतमले आमरण अनशन स्थगित गरेका छन्। धुलिखेल–खावा सडक विस्तारमा ढिलाई भएको भन्दै शुक्रबारबाट आमरण अनशनमा बसेका जिसस प्रमुख गौतमले ५ बुँदे सहमति गरेसँगै शनिबार साँझ अनशन स्थगित गरेका हुन्।

सडक डिभिजन कार्यालय भक्तपुर र ठेकेदार गौरी पार्वती निर्माण सेवा १५ फागुनसम्म कम्तीमा १०० जना जनशक्ति, ४ वटा एक्साभेटर, ६ वटा टिपर, अन्य आवश्यक जनशक्ति, मेसिन र निर्माण सामग्री साइटमा परिचालन गरी निर्माण कार्यलाई तीब्र बनाउन सहमत भएका छन्।

अबको ३ दिनभित्र निर्माण कार्यलाई द्रुत गति नदिए सडक डिभिजन कार्यालयले ठेक्का तोड्ने प्रक्रिया अघि बढाउने र तयसमा ठेकेदार कम्पनीले उजुरी गर्न नपाउने पनि सहमति भएको छ।

निर्माण सुरु गरेपछि आवश्यकता अनुसार जनशक्ति, उपकरण र निर्माण सामग्री थपेर धुलिखेलदेखि २ किलोमिटर परसम्मको सडक चैत १९ गतेभित्र कालोपत्रे गरिसक्ने पनि सहमति भएको छ। त्यसपछि बाँकी सडकको निर्माण सुरु गर्ने, काम सन्तोषजनक नभए सडक डिभिजन कार्यालयले जुनसुकै बेला ठेक्का तोड्न सक्ने सहमति पनि भएको छ।

सहमतिमा गौरी पार्वती निर्माण सेवाका प्रोपाइटर राामकुमार थापा र विशाल थापाले हस्ताक्षर गरेका छन् भने सडक डिभिजन कार्यालय भक्तपुरका तर्फबाट डिभिजन प्रमुख मेघराज मरासिनी र इन्जिनियर सुमन बस्नेतले हस्ताक्षर गरेका छन्।

पाँचखाल नगरपालिका वडा नम्बर–५ का अध्यक्ष सिताराम ढुंगाना, धुलिखेल नगरपालिका वडा नम्बर–८ का अध्यक्ष विनोद गौतमको रोहवरमा सहमति भएको थियो।