र्याफ्टिङ एन्ड क्यानोइङ टोलीको बिदाइ



काठमाडौँ ।

थाइल्यान्डको रेयोङमा हुने आइसिएफ युवा तालिम शिविर तथा प्रतियोगितामा जान लागेका नेपाल र्याफ्टिङ एन्ड क्यानोइङ संघका दुईजना सहभागीको बिदाइ गरिएको छ ।

नेपाल ओलम्पिकक कमिटी (एनओसी) का अध्यक्ष जीवनराम श्रेष्ठ, उपाध्यक्ष तेज गुरुङ र महासचिव नीलेन्द्रराज श्रेष्ठले शुक्रबार थाइल्याण्ड जाने खेलाडी मञ्जिल गुरुङ तथा प्रशिक्षक विष्णु गुरुङलाई बिदाइ गरेका हुन् ।

अध्यक्ष श्रेष्ठले सहभागीहरुलाई शुभकामना दिँदै ठूला चरणमा राम्रो प्रदर्शन गर्न सक्ने जोशपूर्ण तालिमको महत्वबारे प्रकाश पारेका थिए। उनले नेपालमा क्यानोइङको विकासका लागि नेपाल र्याफ्टिङ एण्ड क्यानोइङ संघ (एनआरसिए) का अध्यक्ष राजीव श्रेष्ठ र उनको टोलीले गरेका कामको पनि प्रशंसा गरेका थिए ।

फागुन २४ देखि चैत १० गतेसम्म हुने प्रशिक्षण तथा प्रतियाेगिता अन्तर्राष्ट्रिय क्यानोइङ महासंघ र अन्तराष्ट्रिय ओलम्पिक कमिटीकाे ओलम्पिक सोलिडारिटी कार्यक्रम अन्तर्गत हुनेछ । उक्त कार्यक्रममा संघका महासचिव सुदीपराज गौतम, उपाध्यक्ष सूर्यप्रसाद जोशी र कोषाध्यक्ष महेश थापाको पनि उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्